शुद्धपानीको आशमा रोल्पाली


प्रकाशित मिति : मंसिर ७, २०७७ आईतबार

रोल्पाका स्थानीय तहहरुमा पानीको प्रशस्त स्रोत भए पनि सर्वसाधारणले खानेपानीको समस्या झेल्दै आएका छन् । जिल्लाको रुन्टीगढी गाउँपालिकाको होलेरीबजार, गङ्गादेव गाउँपालिका, सुनिलस्मृति गाउँपालिकाको सुलिचौर, रोल्पा नगरपालिकाको बजार क्षेत्रलगायतका स्थानमा स्थानीयवासीले पानीको समस्या भोग्दै आएका छन् ।

स्थानीय सरकारले खानेपानी योजनाका लागि बजेट विनियोजन गरे पनि कामले भने तीव्रता पाउन नसक्दा घण्टौँ पैदल हिँडेर खोला तथा पँधेराको पानी लिन जाने बाध्यता भोग्दै आएको स्थानीयवासीको भनाइ छ । रुन्टीगढी गाउँपालिकाको होलेरी बजारवासीले वर्षौँदेखि खानेपानीको अभाव झेल्दै आएका छन् । सुक्खायामसँगै पानीका मुहान सुक्दै जाने हुनाले चैत, वैशाखको खडेरीमा रातभर जाग्राम बसेर पालो कुरेर पानी भर्नुपर्ने बाध्यता छ । त्यसरी ल्याउने पानीले खाना पकाउनसमेत नपुग्ने स्थानीय केशव चन्द बताउँछन् ।

होलेरी बजार क्षेत्रको खानेपानीको समस्या टार्न आर्थिक वर्ष २०६९/७० मा सरकारले रु पाँच करोड बजेट विनियोजन गरेको थियो । होलेरीस्थित चन्दनखोलाबाट लिफ्ट प्रणालीमार्फत खानेपानी आयोजना सम्पन्न गर्न उपभोक्ता समितिलाई जिम्मा दिइएको थियो । समितिको लापरवाहीका कारण पाँच वर्षभित्र सम्पन्न हुने योजना सात वर्ष पूरा हुँदासम्म पनि सम्पन्न हुन नसकेको स्थानीयवासीको भनाइ छ । गाउँपालिकाको तर्फबाट चालु आर्थिक वर्षमा सो योजना सम्पन्न गर्न रु ५० लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष बालाराम बुढाले बताए ।

सन् २०३० भित्र आधारभूत तहको खानेपानी तथा सरसफाइ सुविधा प्रत्येक नागरिकका घरघरमा पुर्याउने सरकारको लक्ष्यलाई कार्यान्वयन गर्न रोल्पा नगरपालिकाको सहजीकरणमा बृहत् खानेपानी आयोजना शुरु गरिएको छ । नगरपालिकाको वडा नंं १, २ र ४ का एक हजारभन्दा बढी लक्षित घरधुरी रहेको उक्त आयोजनाका लागि रु ३४ करोड बजेट खर्च हुने भएको छ । एशियाली विकास बैंकको ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत ऋण सहयोग र पाँच प्रतिशत स्थानीय जनताको लगानीमा उक्त आयोजना सम्पन्न गर्न लागिएको नगरपालिका प्रमुख पूर्ण केसीले जानकारी दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आयोजना स्थानीय सेवा प्रदायक संस्था लिवाङ बजार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले कार्यान्वयन गरिरहेको समितिका अध्यक्ष लीलाधर आचार्यले जानकारी दिए । दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौता रहेको सो आयोजनाको ५० प्रतिशत भौतिक तथा वित्तीय प्रगति भएको आचार्यको भनाइ छ । “कोरोनाका कारण आयोजना प्रभावित हुँदा तोकिएको समयमा काम सम्पन्न हुन सकेन, अब तीव्रगतिमा काम हुन्छ”, आचार्यले भने ।

लामो समयदेखि कुवा, पोखरी तथा मूलको पानी पिउन बाध्य नगरवासी आयोजना सम्पन्नपश्चात शुद्धीकरण गरिएको पानी उपभोग गर्ने आशामा रहेको स्थानीय तुलसा केसीले बताए । नगर क्षेत्रमा खानेपानीको सही व्यवस्थापन नहुँदा घण्टौँ टाढाको खोला र पँधेरा पुगेर पानी ओसार्नुपर्ने बाध्यता रहेको केसीले बताए ।

त्यसैगरी गङ्गादेव गाउँपालिकाको ओतमा लिफ्ट प्रणालीबाट पश्चिम नेपाल ग्रामीण खानेपानी आयोजनाको सहयोगमा खानेपानी तथा सरसफाइ योजना सम्पन्न गरिएको थियो । सो आयोजनाबाट १५० घरधुरी लाभान्वित भएका थिए । आयोजना बन्नुपूर्व दुई घण्टा पैदलयात्रामार्फत पोखरीको पानी पिउने बाध्यता हटेको स्थानीय हिमाली खड्काले बताइन्।

सुनिल स्मृति गाउँपालिका–३ मिझिङका स्थानीयवासीले समेत खानेपानीको समस्या भोग्दै आएको वडा नंं ३ का वडासदस्य तेजकुमारी विष्टले बताइन् । खानेपानीको चरम समस्या भोग्दै आएका उनीहरुका लागि प्रदेश सरकारले रु दुई करोड ५० लाख बजेट विनियोजन गरेको छ । आयोजनाको डिपिआर सम्पन्न भइसकेको र यसै वर्षदेखि काम शुरु हुने उनले जानकारी दिइन् ।

थवाङ गाउँपालिकामा समेत दुईवटा ठूला योजना शुरु गरिएको छ । आयोजनाका लागि रु ५० लाख बजेट विनियोजन गरी तीव्रताका साथ काम भइरहेको सो गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीले बताए । जिल्लाका लुङ्ग्री गाउँपालिको गुम्चाल, सुनछहरी गाउँपालिका, माडी गाउँपालिका तथा परिवर्तन गाउँपालिकाका स्थानीयवासीले समेत खानेपानीको समस्या भोग्दै आएका छन् ।

खानेपानी समस्या भोग्दै आएका जिल्लावासी समयमै आयोजना सम्पन्न हुने कुरामा भने आशङ्का व्यक्त गर्छन् । “मुहान विवाद, बजेट अभाव, निर्माण व्यवसायी र उपभोक्ता समितिको लापरवाहीले समयमै आयोजना नबन्ने हो कि भन्ने कुरामा ढुक्क हुनसकेका छैनौँ”, रोल्पा–४ का मिलन मल्लले भने । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com