विदेशको कमाइ, स्वदेशमा लगानी


प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार

पाँच वर्ष दक्षिण कोरिया बसेर गाउँ फर्किएका जैमिनी नगरपालिका–५ बिनामारेका मधु पौडेल अहिले बोलेरो जीप चलाउँछन् । विदेश जानुअघि देशमै सिकेको सीपले उहाँलाई काममा सघाएको छ, कोरियामा कमाएको पैसाले बुलेरो जोड्यो ।

पाँचवर्षे करार अवधि भ्याएर घर फकिएका उनी फेरि विदेश फर्किन चाहेनन् । अहिले उनले यातायात व्यवसायमा हात हालेका छन् ।

जैमिनीकै राङखानीका बोमबहादुर विकले विदेशमा कमाएको पैसा फर्निचर उद्योगमा लगानी गरेका छन् । विभिन्न देश गरी लामो समय विदेश बसेका विकले राङखानीकै व्याडथलामा फर्निचर उद्योग सञ्चालनमा ल्याएका हुन् । मलेशिया, साउदीदेखि कोरियामा मात्र १० वर्ष बिताउँदा नमरेको पैसा कमाउने धित मार्न उनले गाउँमै लगानी गरेका हुन् ।

विदेशमा कमाएको धेरथोर पैसा साना व्यवसायमा लगानी गर्दा निरन्तर आम्दानी र अन्यलाई रोजगारीसमेत हुने उनको बुझाइ छ । उनको उद्योगमा पलङ, कुर्ची, टेबल, झ्यालढोकालगायतका काठका सामग्री निर्माण गरिन्छ । यसबाट उनी बाहिरी बजारमा जाने गाउँको पैसा गाउँमै रोकिएको जिकिर गर्छन् । उद्योगमा रु ५० लाख लगानी गरेको विकले बताए । “धेरै विदेश धाइयो अलिअलि कमाइ भयो, विदेशको कमाइ भलबाढी हो धेरै टिक्दैन”, विक भन्छन्, “निरन्तर आम्दानीका लागि देशमै केही गर्नैपर्छ ।” लगानी नगरी प्रतिफल नआउने भन्दै विकले कमाएको पैसा यत्तिकै राख्दा कुनै फाइदा नहुने बताए । विकको फर्निचरमा उनको परिवार र केही गाउँका युवाले समेत काम गर्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“मैले रु ४०/५० लाख लगानी गर्दा घरपरिवार र छिमेकीलाई समेत काम पुगेको छ”, उनी भन्छन्, “काम भए कमाइ हुन्छ, कमाइ भए खर्च पुग्छ ।” उनले विदेशका मानिसहरुको व्यवसायप्रतिको मोह देखेर आफूले पनि सानो व्यवसाय थालेको बताए ।

जैमिनी–१० राङखानीका यम पुन दुबईबाट फर्किएका हुन् । दुबईमा काम र दाम धेरै राम्रो थियो तर उनी ११ वर्षको दुबई बसाइ सकेर गाउँघरमै व्यवसायमा लागेका छन् । उनले दुबईमा कमाएको पैसा लगानी गरेर कुश्मीशेरा बजारमा ‘जैमिनी कृषि तथा पशुपक्षी फार्म एण्ड रिसर्च सेन्टर तथा ब्लक उद्योग’ सञ्चालनमा ल्याएका छन् ।

विदेशको सिकाइ र भोगाइलाई साना व्यवसायमा लगाउने योजना बनाएका पुनले ब्लक उत्पादनदेखि पक्षीको फार्मसम्मका लागि रु ५० लाख लगानी गरेका छन्। “ठूलो योजना बनाएर कामको थालनी गरेका छौँ”, पुन भन्छन्, “ब्लक उद्योगबाट शुरु गरेका छौँ, उद्योगबाट दैनिक ५०० ब्लक निर्माण हुनेछ, त्यहाँ तीन व्यक्तिले रोजगारी पाउँछन् ।” उद्योगअन्तर्गत बङ्गुरपालन शुरु भएको छ । पाँच सय बङ्गुर पाल्ने योजना छ । त्यहाँँ बङ्गुरपालनसँगै कुखुरा, टर्की, बट्टाइ, कडकनाथ र माछापालन गर्ने लक्ष्यसाथ अहिले काम शुरु गरिएको छ । “आफ्नै ठाउँमा गरे हुन्छ भन्ने सन्देश दिने इच्छा छ”, पुन भन्छन्, “विदेशमा दुःखले कमाएको स्वदेशमा लगानी गरेर रोजगारी सिर्जना गर्ने लक्ष्य हो ।”

उल्लिखित तीन युवाका अतिरिक्त जैमिनीमा विदेशमा कमाएर गाउँघरमा लगानी गर्ने युवाको उल्लेख्य सङ्ख्या छ । पशुपालन, व्यापार, व्यावसायिक केराखेती, माहुरीपालन तथा साना उद्योगको सञ्चालनमा युवाले सहभागितात्मक लगानी बढाएका छन् । युवाको सक्रियताअनुसारको साथ स्थानीय सरकारले नदिएको युवाहरुको गुनासो छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com