यम बराल र उर्मिला लाम्गादेको ‘ताजाताजा’मा नाजिर हुसेन र उषा उप्रेती


प्रकाशित मिति : कार्तिक २९, २०७७ शनिबार

चर्चित गायक यम बराल र न्युयोर्क निवासी गायिका उर्मिला लाम्गादेको नयाँ गीत ‘ताजाताजा’ भिडियोसहित सार्वजनिक भएको छ । भिडियोमा कलाकारहरु नाजिर हुसेन र उषा उप्रेतीले अभिनय तथा नृत्य गरेका छन् ।

हालै न्युयोर्क आएका गायक बराल र हालै गायनमा फर्किएकी लाम्गादेका स्वरमा रहेको यो गीत लोक आधुनिक शैलीमा रहेको छ । सुदिप बरालले निर्देशन गरेको भिडियोमा नेवारी संस्कृतिसहित फरक स्वाद भेट्न सकिन्छ ।

आनन्द अधिकारीको शब्द र शिखर सन्तोषको संगीत रहेको यो गीतको एरेन्ज मोहित मुनालले गरेका हुन् । प्रोडक्सन मेनेजेर विनोद पोखरेल रहेको भिडियोको सम्पादन टेकेन्द्र शाह र सिनेमेटोग्राफी रविन्द्र न्यौपानेले गरेका छन् ।

गीतको भिडियोको स्क्रीनशट

लक्ष्मीपूजाको अवशर पारेर सार्वजनिक गरिएको उक्त गीतले कोरोनाको महामारीमा समेत तिहारको बेलामा दर्शकश्रोतालाई मनोरञ्जन प्रदान गर्नसक्ने अपेक्षा गायक बरालले गरेका छन् । गत सेप्टेम्बरमा नयाँ गीत सार्वजनिक गर्दै १३ बर्षपछि गायन यात्रामा फर्किएकी लाम्गादे त्यसको दुईमहिनामा नै बरालसँगको यो गीतसहित आउँदा निकै उत्साहित छिन् ।

भिडियो : 

कलाकार उषा उप्रेतीले यो गीतबाट आफू निकै आशावादी रहेको बताउँदै सबैलाई धेरैभन्दा धेरै माया दिन अनुरोध गरेकी छिन् ।

उर्मिलाको आगमन

उर्मिला लाम्गादेको झण्डै १३ बर्ष अगाडि एउटा भजन रेकर्ड भएको थियो । उक्त भजन भिडियोसहित रिलिज भएको थियो । त्यसपछि उनको कुनै पनि गीत रेकर्ड भएन । गीत निकाल्ने इच्छा भएपनि समयले साथ नदिएका कारण सम्भव नभएको बताउँछिन् उनी ।

झण्डै पाँच महिना अगाडि उनको रुकुम घटनामा आधारित गीत निस्केपनि व्यवस्थीत तरिकाले भिडियो भने बन्न सकेन । तर गत सेप्टेम्बरमा लिन आउँछु भन्थ्यौ बोलको गीत भिडियोसहित आयो ।

झण्डै १३ बर्षपछि गायनयात्रामा आउँदा आफू निकै उत्साहित भएको र अब गायनलाई निरन्तरता दिने योजना रहेको उनले बताइन् । हेटौंडा रातामाटेमा जन्मिएकी उनी बच्चैदेखि अभिनयमा रुची राख्थिन् । तर उक्त शौख पूरा गरिदियो टेलिचलचित्र दलनले । जातीय विभेदबिरुद्धको उक्त टेलिचलचित्र झण्डै १० बर्षअगाडि रिलिज भएको थियो ।

दलनमा उनले दलितभित्रको पनि अन्तरजातीय जोडीका रुपमा अभिनय गरेकी छिन् । दलनमा नैना नामको पात्रको अभिनय गरेकी उनी म्युजिक भिडियोमा समेत देखिएकी थिइन् । त्यस्तै टेलिभिजनका केही चेतनामुलक विज्ञापनहरुमा पनि अभिनय गरिन् । स्वास्थ्य मन्त्रालयले निर्माण गरेको उक्त विज्ञापन नेपाल टेलिभिजनबाट खुब बज्यो ।

यम बराल र उर्मिला लाम्गादे

अभिनयमा रुची भएपनि सन् २०११ मा उनी अमेरिका आएकाले अभिनययात्रालाई अगाडि बढाउन सकिनन् । अब बच्चाहरु पनि हुर्किसकेकाले गायनयात्रालाई अगाडि बढाउनमा सहज वातावरण भएको उनी बताउँछिन् ।

विभिन्न कार्यक्रममा गाउने र बच्चैदेखि गाउने भएपनि गायनयात्रामा अगाडि बढ्नमा विभिन्न कुराले पछि परेको बताउँछिन् उनी । उनले बुबालाई बच्चैमा गुमाउनुपरेको थियो । झण्डै १६ बर्ष अगाडि आमालाई पनि गुमाउनुपर्यो ।

‘बच्चैमा बुबा वित्नुभयो । अब केही गरौं भन्ने उमेरमा आमा बित्नुभयो । त्यसैले बुबाआमाहरु नभएका कारणले पनि मलाई कलाकारिता यात्रामा अगाडि बढ्न त्यती सहज भएन ।’-   उनी भन्छिन् ।

उनले हिन्दु भजनबाट गायनयात्रा सुरु गरेकी थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com