डिसेम्बर १ पछिका आवेदकलाई अमेरिकी नागरिकताको परीक्षा प्रणालीमा परिवर्तन, धेरै र कठिन प्रश्न


प्रकाशित मिति : कार्तिक २८, २०७७ शुक्रबार

आगामी डिसेम्बर १ देखि अमेरिकी नागरिकताको आवेदन दिनेहरुका सन्दर्भमा अमेरिकाले नागरिकताका लागि लिइने परीक्षा प्रणालीमा परिवर्तन हुने भएको छ । आवदेकको अमेरिकाबारेको ज्ञान जाँच्नका लागि लिइने परीक्षामा युएससीआईएसले परिवर्तन गर्ने जनाएको छ ।

डिसेम्बर १ भन्दा अगाडि आवेदन दिनेहरुका सन्दर्भमा पुरानै प्रश्नहरु र परीक्षा प्रणाली कायम रहनेछ । तर त्यसपछि आवेदन दिनेहरुका लागि भने प्रश्नावली र परीक्षा प्रणाली परिवर्तन हुने जनाइएको छ । वर्तमान परीक्षा प्रणालीको तुलनामा नयाँ प्रणाली अझ कठिन हुने भएको छ । अर्थात् अहिलेको तुलनामा अमेरिकी नागरिकता प्राप्त गर्न अझ कठिन हुनसक्छ ।

अहिले अमेरिकी नागरिकताका लागि अमेरिकी राजनीति, भुगोल, इतिहास लगायतका १० वटा प्रश्नहरु सोधिन्छ भने त्यसमध्ये ६ वटाको सही जवाफ दिन आवश्यक हुन्छ । तर डिसेम्बर १ पछि आवेदन दिनेहरुका सन्दर्भमा २० वटा प्रश्नहरु सोधिनेछ, त्यसमध्ये १२ वटाको सही जवाफ दिनुपर्नेछ । अहिले विभिन्न एकसयवटा प्रश्नहरुभित्रबाट १० वटासम्म सोधिने गरिएकोमा अब ती प्रश्नको संख्या पनि बढाइने भएको छ ।

उत्तिर्ण हुनका लागि आवश्वक पर्ने ६० प्रतिशत स्कोरमा भने कुनै परिवर्तन गरिएको छैन । त्यस्तै ६५ बर्ष काटेका वा २० बर्षभन्दा लामोसमय अमेरिकामा ग्रिनकार्डमा रहेकाहरुका सन्दर्भमा भने १० वटामात्रै प्रश्नहरु सोधिनेछ, उनीहरुले ६ वटा प्रश्नको मात्र सही जवाफ दिएमा अमेरिकी नागरिकताको परीक्षा उत्तिर्ण गर्नेछन् ।

यसैबीच युएससीआईएसले आफ्नो नीति निर्देशिकामा पनि अपडेट गरेको छ । अहिलेसम्म एकसयवटामात्र प्रश्नहरु रहेकोमा अब २८ वटा थपेर १२८ वटा प्रश्नहरु बनाइएको छ । अहिलेसम्म आवेदकले ६ वटा प्रश्न मिलाएको खण्डमा बाँकी प्रश्नहरु युएससीआईएस अधिकारीले सोध्दैनन् तर डिसेम्बर १ पछि आवेदन दिनेहरुका सन्दर्भमा सबै २० वटा प्रश्नहरु सोध्नेछन् ।

युएससीआईएसले १२ बर्षपछि प्रश्न प्रणालीमा परिवर्तन गरेको हो । यसअगाडि अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसको कार्यकालको अन्तिम बर्ष सन् २००८ मा प्रश्न प्रणाली परिवर्तन गरिएको थियो भने अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्तिम बर्षमा परिवर्तन गरिदैछ । सन् २०१८ देखि नै परिवर्तनका लागि नीतिगत काम सुरु भएकोमा गत जुलाई र अगस्तमा प्रश्नहरु तय गरिएको थियो ।

सन् २०१८ को डिसेम्बरमा युएससीआईएसले अमेरिकी परीक्षा पुनरावलोकन समुह बनाएको थियो । उक्त समुहले गत जुलाईमा नागरिकताका लागि सोधिने प्रश्नहरुको पुनरावलोकन गरेको थियो ।

अमेरिकाको अध्यागमन एवं राष्ट्रियता ऐनको सेक्सन ३१२ मा अमेरिकी नागरिकता प्राप्त गर्नका लागि अमेरिकाका बारेमा ज्ञान भएको तथा सामान्य अँगे्रजी बोल्न, लेख्न र पढ्न सक्ने हुनुपर्ने प्रावधान रहेको छ । अमेरिकी नागरिकताको अन्तरवार्ता ९० प्रतिशतले उत्तिर्ण गर्ने तथ्यांक रहेको छ । अन्तरवार्ताका क्रममा सोधिने सबै प्रश्नहरु सजिला भने हुँदैनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com