अमेरिकी राष्ट्रपति चुनावको अन्तिम विजेता घोषणा गर्न अझै कति समय लाग्ला?


प्रकाशित मिति : कार्तिक २१, २०७७ शुक्रबार

अमेरिकी राष्ट्रपति चुनावको औपचारिक रुपमै अन्तिम विजेता घोषणा गर्न अझै केही दिन, हप्ता वा महिना समेत लाग्नसक्छ । आगामी अवस्था कस्तो हुन्छ भन्ने कुराले समेत यसको निर्धारण गर्नेछ ।

अमेरिकी राष्ट्रपति चुनाव अमेरिकाभरबाट प्राप्त हुने कुल पपुलर मतका आधारमा निर्धारण हुँदैन । बरु विजेता हुनका लागि आफूले जितेका राज्यहरुबाट इलेक्टोरल कलेज मत संकलन गरेर कम्तीमा २७० पुराउनुपर्छ । हरेक राज्यमा फरक फरक इलेक्टोरल कलेज मतसंख्या रहेको हुन्छ भने कुल मतसंख्या ५३८ रहेको छ ।

अधिकांश राज्यमा औपचारिक रुपमा घोषणा नगरिएको भएतापनि चुनावी परिणाम स्पष्ट भइसकेको छ । अमेरिकन मुख्य संचारमाध्यमले मतगणनाको परिणाम, गणना हुन बाँकी मत लगायतका कैयन तत्वहरु हेरेर उम्मेदबारका लागि विजयी राज्यहरुको घोषणा गर्छन् ।

यसपटकको चुनावमा फक्स न्युज र एसोसिएट प्रेसले एरिजोनामा जो बाइडेनलाई विजेता घोषित गरे भने सीएनएन, न्युयोर्क टाइम्स लगाउतले एरिजोनामा अझै विजेता घोषणा गरेका छैनन् । यसरी गरिने प्रोजेक्सनहरु प्राय शतप्रतिशत सत्य नै हुन्छन् । सन् २०१६ को चुनावमा चुनाव भएकै राती साढे २ बजे ट्रम्पलाई अमेरिकी राष्ट्रपतिमा विजेता घोषणा गरिएको थियो ।

यसपटक कोरोनाको महामारीका कारण कुल मतदानको ६८ प्रतिशतभन्दा धेरै अग्रिम र हुलाकमार्फत मतपत्र पठाएर मतदान गरियो । व्यक्ति उपस्थीत भएर गरिएका अग्रिम मतदानको नतिजा छिटो निकाल्न सम्भव हुने भएपनि हुलाकबाट मतपत्र पठाएर गरिएका मतदानको नतिजा निकाल्नमा समय लागिरहेको छ ।

हुलाकबाट प्राप्त मतपत्रमा सुरुमा खाम खोलेर सुरुमा साक्षी र मतदाताको हस्ताक्षर भए नभएको चेक गर्नुपर्छ । त्यसपछि ठेगाना चेक गर्नुका साथै उक्त मतदाताले चुनावको दिन वा अग्रिम मतदानमा पनि उपस्थीत भएर मतदान गरे नगरेको चेक गर्नुपर्छ । त्यसपछिमात्र योग्य मतपत्रलाई स्क्यान मेसिनमा हालेर गणना गरिन्छ । यो सबै गर्दा झन्झटिलो भएकाले हुलाकबाट प्राप्त मतहरु गणनामा लामो समय लागेको हो ।

अहिलेसम्म ५ वटा राज्यहरुमा विजेता घोषणा गर्न बाँकी रहेको छ । अलास्का, जर्जिया, नेभाडा, नर्थ क्यारोलिना र पेन्सिलभेनियामा विजेता घोषणा गर्न बाँकी रहेको हो । अलास्कामा झण्डै २ लाख मत गणना गर्न बाँकी रहेकाले चुनावको अन्तिम परिणाम आउन सप्ताहन्त कुनुपर्ने हुनसक्छ । त्यहाँ ट्रम्पले लिड गरिरहेका छन् ।

जर्जियामा असाध्यै कडा प्रतिस्पर्धा रहेको छ भने पछिल्लो समय बाइडेलनले लिड गरिरहेका छन् । जर्जियामा आज सबै मत गणना हुने सम्भावना रहेको छ । सेनाका सदस्यहरुले हुलाकमार्फत पठाएका मतहरुभने आज शुक्रबार बेलुका ५ बजेपछिमात्र गणना गरिनेछ ।

नेभाडामा पनि थोरै मतले बाइडेनले लिड गरिरहेका छन् । नेभाडामा नोभेम्बर १० सम्म हुलाकबाट प्राप्त मतहरु गणना गर्नुपर्नेछ । जसको अर्थ यो सप्ताहन्तभर त्यहाँ मतगणना हुनेछ । नर्थ क्यारोलिनामा नोभेम्बर १२ सम्म हुलाकबाट प्राप्त मतहरु गणना गर्नुपर्नेछ । पेन्सिलभेनियामा पनि आजसम्म हुलाकबाट प्राप्त मतहरु गणना गर्नुपर्नेछ । त्यसैले आजसम्म प्राप्त मतहरु गणना नगरेसम्म त्यहाँ अन्तिम नतिजा सार्वजनिक गरिनेछैन ।

अमेरिकाका झण्डै आधाजति राज्यहरुले नोभेम्बर ३ को पोष्टमार्क गरेर पठाइएका तर नोभेम्बर ३ पछि पनि हुलाकबाट प्राप्त भएका मतहरु गणना गर्छन् । कतिपयले हुलाकमार्फत मतपत्र मगाएपनि अग्रिम मतदानमा समेत सहभागी भएर अस्थायी मतदान समेत गरेका छन् । यस्ता मतहरु गणना गर्दा एउटै मत दुईपटक गणना नहुने सुनिश्चित गर्न सावधानी अपनाउनुपर्छ ।

सन् २००० को चुनावमा फ्लोरिडामा एल गोरले झण्डै ५ सय मतलेमात्र चुनाव हारे । त्यहाँ झण्डै ६० लाखले मतदान गरेका थिए । पछि यो मामला सर्वोच्च अदालतसम्म पुगेपछि अदालतले जर्ज डब्लु बुसलाई विजेता घोषणा गरेको थियो । यसपटकको चुनावमा पनि ३ सय भन्दा बढी मुद्दा दर्ता भइसकेका छन् । मुद्दा मामलाका कारण कतिपय राज्यमा विजेता घोषण गर्नमा लामो समय पनि लाग्न सक्नेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com