अहिले रातीको १०:२० भयो, पेन्सिलभेनियाको अवस्था यस्तो छ !


प्रकाशित मिति : कार्तिक १९, २०७७ बुधबार

न्युयोर्क समय अनुशार अहिले रातीको १० बजेर २० मिनेट गएको छ ।

यतिबेला सबैको ध्यान ब्याटलग्राउण्ड राज्य पेन्सिलभेनियामा छ । जो बाइडेनलाई राष्ट्रपति चुनाव जित्न अब नेभाडामात्र जिते पुग्छ । तर नेभाडा जित्न नसकेको खण्डमा पेन्सिलभेनिया, नर्थ क्यारोलिना वा जर्जियामध्ये एउटा राज्यमा जित्न आवश्यक पर्छ ।

त्यस्तै डोनाल्ड ट्रम्पलाई राष्ट्रपति चुनाव जित्न नेभाडासहित, पेन्सिलभेनिया, नर्थ क्यारोलिना र जर्जिजा जित्न आवश्यक पर्छ । अहिलेसम्मको अवस्था हेर्दा पेन्सिलभेनियामा ट्रम्पको अग्रता कायम रहेको छ । तर दिउसोको तुलनामा उक्त अग्रताको मतान्तर कम हुँदै गएको छ । अहिले उक्त मतान्तर झण्डै १ लाख ८५ हजारको छ ।

पेन्सिलभेनियामा अहिले हुलाकबाट प्राप्त मतपत्रहरुको गणना भइरहेको छ । झण्डै ८९ प्रतिशत मतगणना भइसकेको छ । अर्थात् ६२ लाखभन्दा धेरै मतगणना भइसकेको छ । अब झण्डै ८ लाख मतहरु गणना गर्न बाँकी रहेको छ । ती मतहरु गणना गर्न आज रातभर लाग्नसक्ने अनुमान गरिएको छ ।

ट्रम्प अभियानका तर्फबाट पेन्सिलभेनियामा मतगणना रोक्नका लागि मुद्दा दायर पनि गरिएको छ । तर मतगणना भने रोकिएको छैन ।

पेन्सिलभेनियामा पहिलो र दोश्रो हुने राष्ट्रपति उम्मेदबारबीच शुन्य दशमलव ५ प्रतिशतभन्दा कम मतान्तर भए पुन: मतगणना गरिने जनाइएको छ । पेन्सिलभेनियाका सेक्रेटरी अफ स्टेट क्याथी बुकभारका अनुशार पुन: मतगणना सम्भव भएपनि अवस्यंभावी भने नभएको बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com