पेन्सिलभेनियाको नजिता आज आउन पनि मुस्किल, झण्डै ३० लाख मत गन्न बाँकी
प्रकाशित मिति : कार्तिक १९, २०७७ बुधबार
ब्याटलग्राउण्ड राज्य पेन्सिलभेनियाको नतिजा आज आउन पनि मुस्किल हुने भएको छ । पेन्सिलभेनियामा मतगणना अहिले पनि भइरहेकाले अन्तिम नतिजा आउनमा ढिलाई भइरहेको छ ।
पेन्सिलभेनियामा अझै पनि झण्डै ३० लाख हुलाकबाट प्राप्त मतपत्रहरु गणना गर्न बाँकी नै रहेको छ । जसका कारण सबै मतपत्र गणना गरेर नतिजा सार्वजनिक आजै सम्भव नहुन पनि सक्ने गभर्नर टम वुल्फले जनाएका छन् ।
पेन्सिलभेनियामा झण्डै ३१ लाखले हुलाकबाट मतपत्र मगाएका थिए । जसमध्ये २५ लाखले हुलाकबाट मतपत्रहरु पठाएर मतदान गरिसकेका छन् । जसमध्ये झण्डै साढे १६ लाख रजिस्टर्ड डेमोक्र्याट्स र रजिस्टर्ड रिपब्लिकनहरु ५ लाख ८६ रहेका छन् ।
पेन्सिलभेनियामा नोभेम्बर ६ सम्म प्राप्त भएका मतपत्रहरु पनि गणना गर्नुपर्ने अदालतले आदेश दिएको छ । त्यस्तै नर्थ क्यारोलिनामा नोभेम्बर ३ को पोष्टमार्कसहित आएका मतपत्रहरु ९ दिनसम्म प्राप्त भएपनि गणना गर्नुपर्ने अदालतले आदेश दिएको छ । त्यसकारण पेन्सिलभेनिया र नर्थ क्यारोलिनाको अन्तिम नतिजा आउन केहीसमय लाग्ने भएको छ ।
नर्थ क्यारोलिनामा १४ लाख ५५ हजारले हुलाकमार्फत मतपत्रहरु मगाएका थिए । जसमध्ये झण्डै साढे ९ लाखले हुलाकमार्फत मतपत्र पठाएर मतदान गरिसकेका छन् । जसमध्ये ४ लाख २५ हजार रजिस्टर्ड डेमोक्र्याट्स र १ लाख ९१ हजार रजिस्टर्ड रिपब्लिकन रहेका छन् । त्यस्तै ३ लाख १६ हजार तटस्थ मतदाताहरु रहेका छन् ।