विहारमा गर्भनर, उप-मुख्यमन्त्रीसहित ९४ सदस्यका लागि मतदान


प्रकाशित मिति : कार्तिक १८, २०७७ मंगलबार

भारतको विहार राज्यका मंगलबार दोस्रो चरणको मतदान भइरहेको छ । कुल ९४ संसद सदस्यका लागि १७ जिल्लामा मतदान भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । मतदान स्थानीय समय अनुसार विहान ७ बजे शुरु भएको हो ।

कोरोनाभाइरसको महामारीका बीचमा पनि विहारमा निर्वाचन भइरहेको छ । पहिलो चरणको निर्वाचन यसअघि अक्टोबर २८ तारिखमा नै सम्पन्न भइसकेको छ । त्यस बेला ७१ सांसद सदस्यका लागि प्रतिस्पर्धा भएको थियो ।

दोस्रो चरणको निर्वाचनका लागि दुई करोड ८६ लाख मतदाता रहेको निर्वाचन आयोगले जानकारी दिएका छन् । तीन चरणका निर्वाचनमध्ये सवैभन्दा धेरै मतदाता दोस्रो चरणका लागि रहेको आयोगले जनाएको छ ।

दोस्रो चरणमा मतदान हुने निर्वाचनमा एक हजार ४६४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । तीमध्ये भारतीय जनता पार्टी (विजेपी) बाट ४६ जना, जनता दल युनाइटेडबाट ४३ जना, राष्ट्रिय जनता दल (आरजेडी) बाट ५६ जना र काँग्रेसबाट २४ जना उम्मेदबार रहेका छन् ।

अन्य पार्टीहरुबाट र स्वतन्त्र रुपमा पनि अरु धेरै उम्मेदवारहरु चुनावी मैदानमा रहेको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् ।निर्वाचनमा सहभागी उम्मेदवारमध्ये पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको छोरा तेजस्वी यादव र तेज प्रतापको उम्मेदवारी बढी चर्चामा छन् ।

तेजस्वीलाई महागठबन्धनको तर्फबाट मुख्यमन्त्रीको उम्मेदवारका रुपमा पनि हेरिएकाले बढी चर्चा भएको हो । उनी रंङ्गपुरबाट उम्मेदवार छन्। दोस्रो चरणको मतदानमा विहारका गर्भनर फागु चौहानले पटनाअन्तर्गत पर्ने डिघामा रहेको सरकारी विद्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा गएर मतदान गरेका छन् ।

त्यसैगरी उप–मुख्यमन्त्री सुशिल कुमार मोदीले राजेन्द्र नगरमा रहेको जोसेफ उच्च माध्यामिक विद्यालयमा स्थापना गरिएको मतदान केन्द्र नंं। ४९ मा मतदान गरेका छन् । एजेन्सी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com