२२ प्रतिशत पुरुष र १८ प्रतिशत महिलाले दैनिक अण्डरवेयर नफेरेको सर्वेक्षण, डाक्टरको कडा चेतावनी


प्रकाशित मिति : कार्तिक १६, २०७७ आईतबार

अनबाई डटकममा गरिएको एउटा सर्वेक्षणमा २२ प्रतिशत पुरुषहरुले आफ्नो अण्डरवेयर दैनिक परिवर्तन नगरेको खुलासा भएको छ । २७९० जनामा गरिएको सर्वेक्षणमा २२ प्रतिशत पुरुषहरुले आफ्नो अण्डरवेयर दैनिक परिवर्तन नगरेको बताएका छन् । त्यस्तै १८ प्रतिशत महिलाहरुले अण्डरवेयर दैनिक परिवर्तन नगरेको बताएका छन् ।

दैनिक अण्डरवेयर परिवर्तन नगर्नेहरुले गन्ध नआएसम्म अण्डरवेयर परिवर्तन नगरेको कारण दिएका छन् । अण्डरवेयरमा आँखाले देखिने फोहोर भएको खण्डमा भने अण्डरवेयर परिवर्तन गर्ने गरेको उनीहरुले बताएका छन् । कतिपयले अण्डरवेयर धुनु अगाडि उल्टो गराएर लगाउने गरेको समेत बताएका छन् ।

अण्डरवेयर नधोइकन लगाउनु वा दैनिक सफा अण्डरवेयर नफेर्दा त्यसबाट स्वास्थ्यमा नकारात्मक असर पर्ने चिकित्सकहरुले चेतावनी दिएका छन् । लामो समय एउटै अण्डरवेयर लगाउँदा ब्याक्टेरियाको संख्या बढ्ने चिकित्सकहरु बताउँछन् । खासगरी गर्मीको समयमा र पसिना आउनेगरी व्यायाम वा काम गर्नेहरुको सन्दर्भमा छिटो छिटो अण्डरवेयर फेर्न जरुरी हुने उनीहरु बताउँछन् ।

छालारोग विशेषज्ञ डाक्टर निकोला क्रोसगोभले अरु कपडाको तुलनामा अण्डरवेयर धुन सजिलो हुने भएकाले अण्डरवेयर परिवर्तन गर्न र धुन सुझाव दिएकी छिन् । अण्डरवेयर परिवर्तन नगर्दा इस्चेरिचिया कोली, स्टाफिलोकोकस, स्ट्रेप्टोकोकस जस्ता ब्याक्टेरियाहरु जम्मा हुने र बढ्दै जाँदा चिलाउने, दाग बस्नेदेखि यीस्ट संक्रमणहुने, पिसावमा संक्रमण हुने र कहिलेकाँही ज्यानै जोखिममा पर्ने खालको ब्याक्टेरियल संक्रमण हुने उनको भनाई छ ।

अण्डरवेयर धुँदा ब्याक्टेरियाहरु सफा गर्नका लागि थप सचेत हुनुपर्ने चिकित्सकहरु बताउँछन् । साबुनको मात्र प्रयोग गर्दा ब्याक्टेरियाहरु सफा नहुने भएकाले धोइसकेपछि सुकाएर मिलेसम्म आइरन गर्न समेत सुझाव दिइएको छ । तातोपानी र साबुनले अण्डरवेयर राम्रोसँग धोएरमात्र लगाउन सुझाव दिइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com