पेन्सिलभेनियामा बाइडेन र फ्लोरिडामा ट्रम्प अगाडि, सबा ९ करोड अमेरिकनले गरिसके मतदान


प्रकाशित मिति : कार्तिक १६, २०७७ आईतबार

वासिंटन पोष्ट र एबीसी न्यूजको पोलमा दुई ब्याटलग्राउण्ड राज्यहरुमध्ये पेन्सिलभेनियामा राष्ट्रपति उम्मेदबार जो बाइडेन र फ्लोरिडामा राष्ट्रपति उम्मेदबार डोनाल्ड ट्रम्प अगाडि देखिएका छन् । यी दुई राज्यहरु अहिले निर्णायक राज्यका रुपमा अगाडि आएका छन् ।

तपाईले आजै भोट हाल्नुपरेमा कस्लाई हाल्नुहुन्छ ? वा भोट हालिसक्नुभएको छ भने कस्लाई हाल्नुभयो ? भन्ने प्रश्नमा सम्भावित मतदाताहरुमध्ये पेन्सिलभेनियामा ५१ प्रतिशत बाइडेनका पक्षमा र ४४ प्रतिशत ट्रम्पका पक्षमा देखिएका छन् ।

सोही प्रश्नमा फ्लोरिडामा ५० प्रतिशत ट्रम्पका पक्षमा र ४८ प्रतिशत बाइडेनका पक्षमा देखिएका छन् । पेन्सिलभेनियामा बाइडेनले जित्ने सम्भावना उच्च रहेपनि फ्लोरिडामा भने तत्काल अनुमान लगाउन निकै मुस्किल रहेको छ । एकमहिना अगाडि पेन्सिलभेनियामा पनि बाइडेनका पक्षमा ५४ प्रतिशत रहेकोमा अहिले ५१ प्रतिशतमा झरेको छ ।

फोटो: वासिंटन पोष्ट

दुईवटा राज्यहरुमा सबैको ध्यान केन्द्रीत भइरहेपनि अन्य ब्याटलग्राउण्ड राज्यहरुको पनि उत्तिकै महत्व छ । कुनै बेला रिपब्लिकनको पकड रहेको जर्जिया अहिले ब्याटलग्राउण्ड राज्य भएको छ भने टेक्सासमा ट्रम्पले जित्ने सम्भावना उच्च रहेपनि प्रतिस्पर्धा भने कम रोचक छैन ।

अहिलेसम्म हुलाकबाट मतपत्र पठाएर र अग्रिम मतदानमा सहभागी भएर ९ करोड २० लाख भन्दा धेरै अमेरिकनले मतदान गरिसकेका छन् । पछिल्लो तथ्यांक अनुशार फ्लोरिडामा मात्र झण्डै ८३ लाखले मतदान गरिसकेका छन्, जुन कुल मतदाता संख्याको ५९ प्रतिशत हो ।

त्यस्तै पेन्सिलभेनियामा २३ लाख भन्दा धेरैले हुलाकमार्फत मतपत्र पठाएर मतदान गरिसकेका छन् । क्यालिफोर्नियामा मतदान गर्नेको संख्या १ करोड नाघिसकेको छ । टेक्सासमा पनि ९६ लाख भन्दा धेरैले मतदान गरिसकेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com