पोखरामा आन्तरिक पर्यटकका कारण विस्तारै चहलपहल बढ्दै


प्रकाशित मिति : कार्तिक १३, २०७७ बिहीबार

चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल र तालको अचम्मको सुन्दरता यतिखेर पोखरामा भरिएको छ ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण गत चैतयता सुनसान बनेको पर्यटकीय नगरी पोखरामा दशैँ लागेसँगै पछिल्ला दिनमा भने आन्तरिक पर्यटककको आगमनले यहाँका पर्यटन व्यवसायीमा थोरै भने पनि आशा जगाएको छ ।

विगतका वर्षमा दशैँ तिहारको समयमा पोखराका तालतलैया, गुफा, धार्मिकस्थल जहाँतहीँ यतिखेर आन्तरिक पर्यटकको निकै चाप देखिने गरेको भए पनि पोखरा अहिले भने कोरोनाको कहरले जकडिएको छ । फेवातालमा डुङ्गा शयरदेखि सराङ्कोट, विश्वशान्ति स्तूपलगायतका स्थान पुगी सूर्योदयसहित हिमशृङ्खलाको अवलोकनका लागि आउने पर्यटकका कारण विगतमा जस्तो चहलपहल नदेखिए पनि पछिल्ला दिनमा पोखराको लेकसाइड र आसपासका पर्यटकीय स्थलमा आन्तरिक पर्यटक फाट्टफुट्ट देखिएका छन् ।

लामो समयदेखि शून्यतामा रुमल्लिएको पोखरा दशैँ तिहारको आगमनसँगै केही मात्रामा भने पनि चहलपहलमय बनेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । “दशैँ तिहारको समय आन्तरिक पर्यटकको चहलपहल हुने समय हो”,उनले भने, “विगतमा जस्तै उल्लेख्य पर्यटक नदेखिए पनि फाट्टफुट्ट पर्यटक देखिँदा पनि पर्यटन व्यवासायीमा आशा जगाएको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पोखरा आएका आन्तरिक पर्यटक वरपरका पदयात्रा मार्ग एवं पर्यटकीय स्थल नखुल्दा भने समस्यामा पर्ने गरेको उनले बताए। कोरोनाको महामारी फैलन सक्ने अवस्थालाई दृष्टिगत गरी पोखरा हुँदै जाने धार्मिक पर्यटकीय स्थल मुक्तिनाथ दर्शनार्थीका लागि खुल्ला गरिएको छैन भने विश्वकै उत्कृष्ट पर्यटकीय पदमार्ग मध्येको अन्नपूर्ण आधार शिविर जाने पदमार्ग यतिखेर त्यहाँका स्थानीय पर्यटन व्यवसायीले नै बन्द गरेका छन् ।

आसपासका पर्यटकीय गतिविधिलाई चलायमान बनाउन स्थानीय तह एवं प्रदेश सरकारसमेतले समन्वय गरी स्वास्थ्य सुरक्षा मापदण्डका साथ पर्यटनसम्बद्ध सबै क्षेत्र र गतिवधि खुल्ला गरिनुपर्ने उनले बताए । पोखरामा विशेषतः सेप्टेम्बरदेखि डिसेम्बरसम्मको समय अत्यधिक पर्यटक आउने याम हो । त्यस्तै मार्च, अप्रिल तथा नेपाली र अङ्ग्रेजी नयाँ वर्षको समयले पनि पर्यटकलाई पोखरामा लोभ्याउने गर्दछ ।

दशैंँको समयमा कार्यालयमा हुने बिदाका साथै घटस्थापनादेखि कोजाग्रतसम्म नै शैक्षिक संस्था बन्द हुने भएका कारण यसअवधिमा विगतदेखि नै पोखरामा आन्तरिक पर्यटकको चहलपहल हुने गर्दथ्यो । विगतका वर्षमा त दशैँको भोलिपल्ट लेकसाइडमा पर्यटकले कोठा पाउनसमेत मुस्किल हुने गर्दथ्यो ।

सेप्टेम्बरदेखि डिसेम्बरसम्म पदयात्रा र पर्वतीय पर्यटनका लागि विदेशी पर्यटक आउने गर्दछन् । विश्वकै उत्कृष्ट १० पदमार्गमध्येको अन्नपूर्ण चक्रीय पदमार्ग पोखरा हुँदै जाने भएका कारण पदयात्री पर्यटकका कारण पनि यहाँ पर्यटकको चहलपहल हुन्छ । दशैंँ तिहारजस्ता चाडबाडका कारण विगतमा पर्यटन बजार चलायमान हुने विगतलाई फर्केर हेर्दा कोरोना कहरका बाबजुद पनि यस अवधिमा यहाँको पर्यटन केही मात्रामा भए पनि चलायमान बन्ने विश्वास लिइएको छ ।

दशैँ शुरु भएसँगै पोखरामा आन्तरिक पर्यटककको चहलपहल बढिरहेको पोखराको लेकसाइड सेदीडाँडामा ‘ढाकाटोपी रेष्टुरेन्ट एण्ड होटल फेवाबीच’ सञ्चालन गर्दै आएका युवा पर्यटन व्यवसायी महेश्वर अर्यालले बताए । “दशैंँ शुरु भएसँगै आन्तरिक पर्यटकको विस्तारै बढ्दै गएको आगमनले हामीलाई उत्साहित बनाएको छ”, अर्यालले भने, “सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै हामी पर्यटकलाई सेवा प्रवाह गरिरहेका छौँ ।” यतिबेला पोखरा र आसपासको प्रकृति पनि पर्यटक स्वागतको पर्खाइमा रहेको उल्लेख गर्दै उहाँले आफूहरू पर्यटकको न्यानो आतिथ्यताको पर्खाइमा रहेको बताए ।

पर्यटकको स्वास्थ्य सुरक्षाप्रति सजग बन्दै यहाँका पर्यटन व्यवसायीले होटेल तथा रेष्टुरेन्ट सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्डलाई आत्मसात गरिहेको पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । पोखराका पर्यटनसम्बद्ध सङ्घ संस्थाले पनि स्वास्थ्य सुरक्षा मापदण्डलाई प्रभावकारीरूपमा कार्यान्वयनमा ल्याउन होटेल सञ्चालक तथा रेष्टुरेन्टमा काम गर्ने कर्मचारीलाई आवश्यक तालिमसमेत दिइसकेको उनले बताए । पोखराका होटेल खुले पनि आसपासका विन्ध्यवासनी, तालबाराही जस्ता धार्मिक स्थलका साथै विश्वशान्ति स्तूप, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय लगायतका स्थल एवं पर्यटकीय गतिवधि नखुल्दा भने पर्यटक समस्यामा पर्ने गरेको तुलाचनले बताए ।

“आवश्यक सुरक्षा मापदण्ड अपनाउँदै पर्यटकीय स्थल एवं गतिविधि खुल्ला नगर्दासम्म पोखराको पर्यटन अपेक्षित चलायमान हुँदैन”,उनले भने, “पर्यटकीय गतिविधि बढाउनका लागि स्थानीय एवं प्रदेश सरकारले आवश्यक समन्वय गर्दै पर्यटकीय स्थल एवं गतिवधि तत्काल सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने देखिन्छ ।”

पोखराको तालबाराहीसहित विन्ध्यवासिनी, भद्रकाली, गुप्तेश्वर महादेव गुफा धार्मिक पर्यटकीय स्थल हुन् भने यहाँका पातले छाँगो, सेती नदीको गल्छी, महेन्द्र गुफा, चमेरे गुफा, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय दर्शनीय स्थल हुन् । त्यस्तै लेखनाथ क्षेत्रका बेगनास, रुपा, दीपाङ, मैदी, गुँदे जस्ता तालले पनि पर्यटकलाई आकर्षित गरेका छन् । पछिल्ला समयमा पोखरा नजिकैको पुम्दीकोट, काहुँडाडा लगायतका स्थानमा धार्मिक पर्यटकीय गतिविधि बढ्ने गरी पूर्वाधार निर्माण कार्यले पनि गति लिएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com