अमेरिकी चुनाव आउन ११ दिन बाँकी, ५० मिलियन बढीले गरिसके मतदान


प्रकाशित मिति : कार्तिक ७, २०७७ शुक्रबार

अमेरिकामा राष्ट्रपति चुनाव आउन अब ११ दिन बाँकी रहेको छ । तर चुनावको मुख्य दिन नोभेम्बर ३ आउनु अगाडि नै झण्डै ५० मिलियन बढी अमेरिकनले मतदान गरिसकेका छन् । उनीहरुले हुलाकमार्फत मतपत्र पठाएर र अर्लि भोटिङमा उपस्थीत भएर मतदान गरेका हुन् ।

अमेरिकामा चुनावको दिनमा उपस्थीत हुन नसक्नेहरुले हुलाकबाट मतपत्र पठाएर र अर्लि भोटिङमा उपस्थीत भएर मतदान गर्नसक्ने प्रावधान रहेको छ । कोरोनाको महामारीका कारण यसपटक ठूलो संख्यामा अमेरिकनले हुलाकबाट मतपत्र मगाएर मतदान गरेका छन् । जसका कारण चुनावको नतिजा आउन कैयन दिन लाग्ने अनुमान गरिएको छ ।

पछिल्लो तथ्यांक अनुशार ४ करोड ९३ लाख १३ हजार ८ सय ९७ जनाले मतदान गरिसकेका छन् । जसमध्ये ३ करोड ४८ लाख ६१ हजार १ सय ६८ जनाले हुलाकबाट मतपत्र मगाएर मतदान गरेका छन् । अन्य १ करोड ४४ लाख ५२ हजार ७ सय २९ जनाले अर्लि भोटिङ गरेका छन् ।

टेक्सासमा सबैभन्दा धेरै झण्डै ५९ लाखले मतदान गरिसकेका छन् । उनीहरुमध्ये झण्डै साढे ५१ लाखले अर्लि भोटिङ र झण्डै साढे ७ लाखले हुलाकबाट मतपत्र मगाएर मतदान गरेका छन् । टेक्सासमा अक्टोबर १३ देखि नै अर्लि भोटिङ सुरु भएको छ । टेक्साससँग ३८ इलेक्टोरल कलेज भोट रहेको छ । टेक्सासमा झण्डै १ करोड १६ लाख मतदाताहरु रहेका छन् ।

त्यसपछि क्यालिफोर्नियामा झण्डै ५८ लाखले मतदान गरिसकेका छन् । उनीहरु सबैले हुलाकमार्फत मतपत्र मगाएर मतदान गरेका हुन् । ५५ इलेक्टोरल मत रहेको क्यालिफोर्नियामा झण्डै ३२ लाख डेमोक्र्याट्स र १२ लाख रिपब्लिकनहरुले हुलाकबाट मतपत्र मगाएर मतदान गरिसकेका छन् । कुनै पार्टीमा आवद्ध नभएका झण्डै साढे १३ लाखले पनि मतदान गरिसकेका छन् । क्यालिफोर्नियामा झण्डै डेढकरोड मतदाताहरु रहेका छन् ।

फ्लोरिडामा झण्डै साढे ४२ लाखले मतदान गरिसकेका छन् । जसमध्ये झण्डै १९ लाख डेमोक्र्याट्सहरु रहेका छन् भने झण्डै साढे १४ लाख रिपब्लिकनहरु रहेका छन् । कुनै पार्टीमा आवद्ध नभएकाहरु झण्डै ८ लाख रहेका छन् । उनीहरुमध्ये झण्डै साढे १० लाखले अर्लि भोटिङमा उपस्थीत भएर मतदान गरेका छन् भने झण्डै ३२ लाखले हुलाकबाट मतपत्र मगाएर मतदान गरिसकेका छन् । फ्लोरिडासँग २९ इलेक्टोरल भोट रहेको छ । फ्लोरिडामा ९४ लाख मतदाताहरु रहेका छन् ।

यसपटकको चुनावमा अमेरिकन मतदाताहरुको सकृय सहभागिता हुने अपेक्षा गरिएको छ । २०१६ को चुनावमा जम्मा ५५ दशमलव ५ प्रतिशतले मतदान गरेका थिए भने २०१२ को चुनावमा ५४ दशमलव ९ प्रतिशतले भोट हालेका थिए । सन् २००८ को चुनावमा ५७ दशमलव १ प्रतिशतले र सन् २००४ को चुनावमा ५५ दशमलव ७ प्रतिशतले मतदान गरेका थिए । तर यसपटकको चुनावमा शताब्दीकै सबैभन्दा धेरै प्रतिशत मतदाताहरुले मतदान गर्ने अपेक्षा गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com