ग्रिनकार्डका लागि आई १४० आवेदनमा शीघ्र प्रकृया शुल्क आजदेखि २५ सय डलर


प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार

अमेरिकी सरकारको युएससीआईएसले आजदेखि  शीघ्र प्रकृया शुल्क १४४० डलरबाट बढाएर २५ सय डलर बनाएको छ । रोजगारमा आधारित ग्रिनकार्ड आवेदन ईबी वान, टु र थ्रीका अन्तरगत आई १४० का लागि शीघ्र प्रकृया शुल्क बढाइएको हो ।

एचवान बी र आर वान भिसाका आई १२९ आवेदनबाहेक अन्य सबै शीघ्र प्रकृया आवेदनमा अब २५ सय डलर शुल्क लाग्ने भएको छ । एचवान बी र आर वान भिसाका आई १२९ आवेदनका सन्दर्भमा भने शीघ्र प्रकृया शुल्क १४४० डलरबाट बढाएर १५ सय डलर बनाइएको छ । तर ई वान, ई टु, एचवान बी, एच थ्री, एल, ओ, पी, क्यु लगायतका भिसाको अनुरोध गर्दै भरिएका आई १२९ आवेदनका सन्दर्भमा भने शीघ्र प्रकृया शुल्क २५ सय डलर लाग्ने भएको छ ।

आवेदनमा शीघ्र निर्णयका लागि आवेदनका साथमा आई ९०७ फर्म भर्न आवश्यक हुन्छ । सामान्यतया अतिरिक्त शुल्क तिरेका शीघ्र प्रकृयाका लागि अनुरोध गरिएका आवेदनमा युएससीआईएसले १५ दिनभित्र निर्णय दिने गर्छ । १५ दिनमा निर्णय दिन नसकेको खण्डमा भने युएससीआईएसले शीघ्र प्रकृया शुल्क फिर्ता गर्छ ।

अक्टोबर १९ र त्यसपछि पोष्टमार्क गरिएका शीघ्र प्रकृया अनुरोध आवेदनका सन्दर्भमा नयाँ शुल्क लागु भएको छ । उपयुक्त शुल्क विना पठाइएका आवेदनहरु अस्वीकृत गरिने युएससीआईएसले जनाएको छ ।

अमेरिकी संसदले अब आई १४० र आई १२९ आवेदनका साथमा अब विभिन्न भिसा थप्दा वा भिसाको स्टाटस बदल्दा भरिने आई ५३९ आवेदन र वर्क परमिटको आई ७६५ आवेदनमा समेत युएससीआईएसले शीघ्र प्रकृया अर्थात् प्रिमियम प्रोसेस अपनाउन सक्ने गरी मापदण्ड पारित गरेको हो । तर भिसा थप्दा वा भिसाको स्टाटस बदल्दा भरिने आई ५३९ आवेदन र वर्क परमिटको आई ७६५ आवेदनमा सन्दर्भमा शीघ्र प्रकृयाबारे पनि युएससीआईएसले सुचना प्रकाशित गर्ने अपेक्षा गरिएको छ ।

नयाँ मापदण्डले निश्चित आवेदनमा अतिरिक्त शुल्क तिरेर छिटो निर्णय गराउन सक्ने युएसीआईएसको कार्यक्रमलाई स्थायी रुपमा थप गरेको छ भने अतिरिक्त आवेदनमा समेत शीघ्र प्रकृया अपनाउन सकिने प्रावधान ल्याएको छ ।

त्यस्तै रोजगारमा आधारित ग्रिनकार्ड आवेदन ईबी वान, टु र थ्री अन्तरगत बहुराष्ट्यि मेनेजर, राष्ट्रिय चासोको छुट र चिकित्सकहरुका सन्दर्भमा पनि अब शीघ्र प्रकृया गर्न सकिने प्रावधान ल्याउन लागिएको छ । यसका लागि शीघ्र प्रकृया शुल्क बढीमा २५ सय डलरसम्म हुनेछ । शीघ्र पकृया शुल्क तिरेपछि यी आवेदनहरुमा युएससीआईएसले ४५ दिनभित्र निर्णय दिनेछ ।

एफ, जे र एम भिसामा स्टाटस परिवर्तन गर्दा वा भिसा थप गर्दा १७५० डलरसम्म शीघ्र प्रकृया शुल्क लिने प्रावधान ल्याइएको छ । शीघ्र प्रकृया शुल्क तिरेका आवेदनबारे युएससीआईएसले ३० दिनभित्र निर्णय दिनेछ । एफ, जे र एम भिसाका सन्दर्भमा कहिलेदेखि लागु हुने भन्नेबारे केही बताइएको छैन ।

त्यस्तै ई, एच, एल, ओ, पी र आरका डिपेन्डेन्टहरुका भिसा थप्दा वा स्टाटस परिवर्तन गर्दा १७५० डलरसम्म शीघ्र प्रकृया शुल्क लिने प्रावधान ल्याइएको छ । शीघ्र प्रकृया शुल्क तिरेका आवेदनबारे युएससीआईएसले ३० दिनभित्र निर्णय दिनेछ । यी भिसाका सन्दर्भमा कहिलेदेखि लागु हुने भन्नेबारे केही बताइएको छैन ।

वर्क परमिटको आवेदनमा समेत यो सुविधा ल्याइएको छ । वर्क परमिट आवेदनमा १७५० डलरसम्म शीघ्र प्रकृया शुल्क लिने प्रावधान ल्याइएको छ । शीघ्र प्रकृया शुल्क तिरेका आवेदनबारे युएससीआईएसले ३० दिनभित्र निर्णय दिनेछ । वर्क परमिटका सन्दर्भमा कहिलेदेखि लागु हुने भन्नेबारे केही बताइएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com