अर्को सातादेखि एसाइलमको नयाँ फर्म अनिबार्य


प्रकाशित मिति : कार्तिक २, २०७७ आईतबार

अमेरिकी सरकारको युएससीआईएसले अर्को सातादेखि एसाइलम आवेदन आई ५८९ फर्मको नयाँ संस्करण लागु गर्ने भएको छ । अक्टोबर २६ सोमबारदेखि एसाइलमको नयाँ फर्म लागु हुने युएससीआईएसले जनाएको छ ।

अक्टोबर २६ देखि आवेदकले अगस्त २५, २०२० को फर्मको संस्करण प्रयोग गर्नुपर्नेछ । फर्मको संस्करण थाहा पाउन फर्मको तलपट्टीको भागमा मिति हेर्न सकिनेछ ।

यसअगाडि अगस्त २५ देखि लागु हुनेगरी युएससीआईएसले वर्क परमिटको नियममा परिवर्तन गरेको थियो । एसाइलमका लागि लिइने शुल्क कार्यान्वयनमा भने अदालतले रोक लगाएका कारण अक्टोबर २ देखि लागु गर्न तय भएको शुल्क लागु गरिएको छैन ।

त्यस्तै एसाइलमको वर्क परमिटबारे ३० दिनभित्र युएससीआईएसले निर्णय दिनुपर्ने प्रावधान पनि परिवर्तन भइसकेको छ ।

तर एसाइलम आवेदक कासा डे मेरिल्याण्ड र एसाइलम सिकर एड्भोकेसी प्रोजेक्टका सदस्यहरुले भने बायोमेट्रिक शुल्क लगायतका केही विषयमा छुट पाउन सक्नेछन् । सेप्टेम्बर ११ मा दिएको अदालतको आदेशका कारण उनीहरुलाई छुटको व्यवस्था गरिएको छ ।

अगस्त २५ देखि युएससीआईएसले लागु गरेको वर्क परमिटको नयाँ फर्ममा पेन्डिङ एसाइलमका सन्दर्भमा अतिरिक्त प्रश्नहरु समेत थप गरिएको थियो । प्रारम्भिक आवेदन वा नविकरण दुबैका सन्दर्भमा नयाँ फर्म र नयाँ नियम लागु भइसकको छ ।

नयाँ फर्म हेर्न यहाँ क्लीक गर्नुहोला ।

अगस्त २५ बाट लागु भएको नयाँ नियम अनुशार अब वर्क परमिटका लागि आवेदन दिन एसाइलम पेन्डिङ रहेको एकबर्ष पूरा भएको हुनुपर्छ ।
नयाँ नियम अनुशार युएससीआईएस वा अध्यागमन अदालतमा एसाइलम आवेदन दिएको ३६५ दिन पूरा भएपछिमात्र वर्क परमिटका लागि आवेदन दिन सकिन्छ ।

त्यस्तै आवेदकको कारणले आवेदनउपर निर्णय हुनमा ढिलाई भएको अवस्थामा वर्क परमिट अस्वीकार गर्ने समेत नयाँ नियममा व्यवस्था छ ।

अगस्त २५ देखि लागु भएको नियममा गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेर अमेरिकामा एसाइलमका लागि आवेदन दिएकाहरुका सन्दर्भमा एसाइलम पेन्डिङका आधारमा वर्क परमिट नदिने उल्लेख छ ।  त्यस्तै कानुनी रुपमा प्रवेश गर्नेहरुको एसाइलम आवेदन पनि वर्क परमिट प्राप्त गर्ने उद्देश्यकोमात्र देखिएको खण्डमा त्यस्ता आवेदन पेन्डिङ रहेको आधारमा वर्क परमिट जारी नगर्ने समेत नियममा उल्लेख छ ।

त्यस्तै युएससीआईएसमा आवेदन दिइएको सकारात्मक एसाइलमका सन्दर्भमा एसाइलम स्वीकृतिका लागि सिफारिस जारी हुँदै आएकोमा त्यस्तो सिफारिस अन्त्य गरिएको छ । एसाइलम अफिसरले आवेदन स्वीकृत गर्न चाहेको तर पृष्ठभूमि परिक्षण लगायतका रिपोर्ट प्राप्त नभएको अवस्थामा त्यस्तो सिफारिस सहितको निर्णय गरिदै आएको थियो ।

अमेरिकी सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गर्ने वा गर्ने प्रयास गर्नेहरु एसाइलम आवेदन पेन्डिङ रहेको आधारमा वर्क परमिट प्राप्त गर्नका लागि अयोग्य भएका छन् । अमेरिका प्रवेश गरेको एकबर्षभित्र एसाइलम आवेदन नदिएकाहरु समेत पेन्डिङ एसाइलम आवेदनका आधारमा वर्क परमिट प्राप्त गर्न अयोग्य भएका छन् ।

त्यस्तै ३६५ दिनको अवधिमा एसाइलम अफिसरबाट एसाइलम आवेदन अस्वीकृत भएमा वा अदालतबाट एसाइलम आवेदन अस्वीकृत भएमा त्यस्ता आवेदकहरु वर्क परमिटका लागि आवेदन दिन अयोग्य भएका छन् । आपराधिक पृष्ठभूमि भएका वा मादक पदार्थ सेवन गरेर गाडी चलाउनेजस्ता अपराध गरेकाहरुलाई पनि पेन्डिङ एसाइलमका आधारमा वर्क परमिट प्रदान गरिने छैन ।

यदि कुनै व्यक्तिले पेन्डिङ एसाइलमका आधारमा वर्क परमिट प्राप्त गरेको छ भने पछि आवेदन अस्वीकृत भएको खण्डमा अस्वीकृत भएकै दिनदेखि वर्क परमिटको म्याद समाप्त हुन्छ । युएससीआईएसले अस्वीकृत गरेको आवेदन अध्यागमन अदालतमा गएको खण्डमा भने वर्क परमिटका लागि आवेदन दिन सकिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com