मेरिल्याण्डमा बैंक लुटपाट गर्दागर्दै पक्राउ परेका सम्राट लामालाई आज अदालतमा पेश


प्रकाशित मिति : आश्विन २७, २०७७ मंगलबार

अमेरिकाको मेरिल्याण्डमा बैंक लुटपाट गर्दागर्दै पक्राउ परेका ३० बर्षीय सम्राट लामालाई आज प्राथमिक सुनुवाईका लागि अदालतमा पेश गरिएको छ । अदालतको रेकर्ड अनुशार १९१ इस्ट जेफर्सन स्ट्रीट रकभिलमा रहेको अदालतको ५१३ नम्बर कोठामा आज विहान १० बजे उनलाई सुनुवाईका लागि पेश गरिएको थियो ।

यो मुद्दाको प्रतिनिधित्व प्रहरीका तर्फबाट प्रहरी अधिकारी टी थोम्सनले गरेका छन् । अदालतको रेकर्ड अनुशार लामाबिरुद्ध तीनवटा अभियोग लगाइएको छ । उनलाई सशस्त्र लुटपाट, फस्ट डिग्री हमला र सेकेण्ड डिग्री हमलाको अभियोग लगाइएको छ ।

सन् १९९० को सेप्टेम्बर २ मा जन्मिएका लामाको उचाई ६ फिट १ इन्च रहेको र तौल २४० पाउण्ड रहेको अदालती रेकर्डमा उल्लेख छ । लामाले सन् २०१९ को मे र जुन महिनामा पनि ३ वटा ट्राफिक नियमहरु उल्लंघन गरेको रेकर्डमा जनाईको छ । उनलाई दुईपटकसम्म अन्य राज्यमा सस्पेण्ड गरिएको लाइसेन्सले गाडी चलाएको प्रहरीले फेला पारेको थियो भने उपयुक्त कागजात वा लाइसेन्स विना नै हाइवेमा गाडी चलाएको समेत प्रहरीले अभियोग लगाएको थियो ।

तर कुन राज्यमा उनको लाइसेन्स के कारणले सस्पेण्ड भएको थियो भन्नेबारे केही खुलेको छैन । अर्को एउटा रेकर्डमा सम्राट लामा मेरिल्याण्ड भन्दा अगाडि भर्जिनियामा र त्यसभन्दा अगाडि कनेक्टिकटमा बसेको देखिएको छ ।

लामाबिरुद्ध लगाइएको सशस्त्र लुटपाटको अभियोगमा ६ देखि ३० बर्षसम्मको जेलसजाय हुनसक्ने प्रावधान रहेको छ भने फस्ट डिग्री हमलामा १५ बर्षसम्मको जेलसजाय हुनसक्ने प्रावधान छ । त्यस्तै सेकेण्ड डिग्री हमलामा ७ बर्षसम्मको जेलसजाय हुनसक्ने प्रावधान छ ।

गेथसबर्गमा बैंक लुटपाट गर्न लागेको अवस्थामा मोन्टगोमरी काउन्टी छैठौं डिस्ट्क्ट र गेथसबर्ग प्रहरी विभागका अधिकारीहरुले लामालाई पक्राउ गरेका हुन् ।

गतसाताको मंगलबार विहान १० बजेर २ मिनेट जाँदा बैंकका कर्मचारीले ९११ मा फोन गरेका थिए । कर्मचारीले ६०७ नर्थ फेडरिक एभिन्युमा रहेको वेल्स फार्गो बैंकमा लुटपाट भइरहेको जानकारी दिएका थिए ।

फोनकल प्राप्त भएको दुईमिनेटपछि नै प्रहरीहरु बैंकमा पुगेका थिए । त्यतीबेला लामा बैंकभित्रै रहेका थिए, भाग्न पाएका थिएनन् । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर हिराशतमा लिएको हो ।

सुरुमा लामा बैंकमा प्रवेश गरेर आफूले बचत खाता खोल्न चाहेको कर्मचारीलाई बताएको अनुसन्धानबाट खुलेको छ । त्यसैबीचमा लामाले झोलाबाट चक्कु निकालेर कर्मचारीलाई ताकेका थिए । त्यसपछि उनले कर्मचारीलाई पैसा निकालेर फोहोर फयाक्ने झोलामा राख्न चेतावनी दिएका थिए ।

फोहोर फ्याक्ने झोला लामाले आफ्नै झोलाबाट निकालेर बैंकका कर्मचारीलाई दिएको अनुसन्धानबाट खुलेको छ । त्यसपछि लामा ड्राइभ थु्र टेलरसमक्ष पुगेर अरु धेरै रकम मागेका थिए । जब उनी बैंकको लबीमा फर्किए, तब प्रहरी अधिकारीहरु त्यहाँ आइसकेका थिए । त्यसपछि उनी प्रहरीको फन्दामा परे ।

लामालाई सेन्ट्रल प्रोसेसिङ युनिटमा स्थानान्तरण गरिएको जनाइएको छ । उनलाई हातहतियारसहित लुटपाटमा संलग्न भएको अभियोग लगाइएको छ भने कुनै जमानत समेत दिइएको छैन ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com