अमेरिकाको युटाहमा कोरोना संक्रमणबाट ८ हजार मिंकको मृत्यु


प्रकाशित मिति : आश्विन २२, २०७७ बिहीबार

अमेरिकाको युटाहमा कोरोना संक्रमणबाट कम्तीमा ८ हजार मिंकको मृत्यु भएको खुलासा भएको छ । रेशमी र आकर्षक भुत्ला भएको यो जनावरमा पहिलोपटक अगस्तमा भाइरस संक्रमण देखिएको जनाइएको छ ।

जुलाईमा केही किसानहरु बिरामी भएलगत्तै मिंकमा पनि भाइरस देखिएको हो । प्रारम्भिक शोध अनुशार भाइरस मान्छेबाटै मिंकमा सरेको देखिएको छ । मिंकबाट मान्छेमा सरेको कुनै पनि मामला आएको छैन ।

अमेरिकामा मिंकमा महामारी फैलिएको यो पहिलो पटक हो । यद्यपी नेदरल्याण्ड, स्पेन, डेनमार्क लगायतका देशमा भने मिंकमा कोरोना संक्रमण देखिएको थियो ।

मिंकलाई पनि कोरोना संक्रमण भएपछि मान्छेकै जस्तो लक्षण देखिने गरेको जनाइएको छ । स्वास फेर्न गाह्रो हुने लगायतका लक्षण बढ्दै गएपछि संक्रमण भएको भोलिपल्टै मिंकको मृत्यु हुने गरेको पाइएको छ । तर अन्य कैयन जनाबरहरु कोरोनाबाट प्रभावित नहुँदा मिंक के कारणले प्रभावित भयो भन्नेबारे केही स्पष्ट छैन ।

अमेरिकामा बिराला, कुकुर, बाघ र सिंहमा भने कोरोना संक्रमण देखिइसकेको छ । युटाहमा ९ वटा फार्ममा महामारी फैलिएको जनाइएको छ । हरेक फार्महरु अत्यावश्यक कामदारलाईमात्र अनुमति दिएर क्वारेन्टीन गरिएको छ । किसानहरुलाई सुरक्षाका मापदण्ड अपनाउन भनिएको छ ।

मृत्यु भएका मिंकहरुलाई या त जलाइएको छ, या त दफनाइएको छ ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com