उपराष्ट्रपति उम्मेदवारहरुको पहिलो र एकमात्र बहस आजराती, ट्रम्पका रेकर्डबारे चर्चा हुने


प्रकाशित मिति : आश्विन २१, २०७७ बुधबार

अमेरिकाको राष्ट्रपति चुनाव आउन २७ दिन बाँकी रहँदा आजराती उपराष्ट्रपतिका उम्मेदवारहरु माइक पेन्स र कमला ह्यारिसबीचको पहिलो र एकमात्र बहस हुने भएको छ । बहसमा कमला ह्यारिसले ट्रम्पका रेकर्डहरुलाई फोकस गर्ने जनाइएको छ । साथै पेन्सले कोरोना महामारीबारे कैयन प्रश्नहरुको सामना गर्ने अपेक्षा गरिएको छ ।

स्वास्थ्यको विषयलाई ध्यानमा राखेर बहसमा पेन्स र ह्यारिसबीच काँचको पर्दा राखिने भएको छ । स्वास्थयविदहरुले बहस रद्द गर्न वा भर्चुअल रुपमा राख्न आव्हान गरेपनि बीचमा काँचको पर्दा राखेर बहस संचालन गरिने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका निकटस्थ गरी दर्जन बढीलाई कोरोना संक्रमण पुष्टी भइसकेको अवस्थामा कोरोनाको महामारीका कारण संक्रमण फैलिन नदिन बहसमा काँचको पर्दा राख्न लागिएको हो । बहस आजराती युटाहको साल्टलेक सिटीमा हुन गइरहेको छ ।

बहस आयोगले यसअगाडि नै पेन्स र ह्यारिसबीचको दुरी १३ फिट हुने स्पष्ट पारिसकेको छ । सुरुमा ७ फिटको दुरीमात्र कायम गरिने योजना बनाइएपनि त्यसलाई बढाएर १३ फिट बनाइने भएको छ ।

कमला ह्यारिस र माइक पेन्सबीचको यो बहस नोभेम्बर ३ अगाडिको पहिलो र एउटामात्रै हुनेछ । युएसए टुडेकी वासिंटन ब्यूरो प्रमुख सुजन पेजले बहसको संचालन गर्नेछिन् भने अमेरिकामा मुख्य सबै संचारमाध्यमले बहस प्रशारण गर्नेछन् । बहस न्युयोर्क समय अनुशार राती ९ बजेदेखि साढे १० बजेसम्म संचालन हुनेछ ।

त्यसपछि अक्टोबर १५ र २२ मा राष्ट्रपतिका उम्मेदवारहरु डोनाल्ड ट्रम्प र जो बाइडेनबीच दुईवटा बहसहरु हुनेछन् । बाइडेन र ट्रम्पबीच एउटा बहस भने सम्पन्न भइसकेको छ ।

मतदानका लागि योग्य नेपाली अमेरिकन झण्डै ५० हजार

यसपटकको चुनावमा झण्डै ५० हजार नेपाली अमेरिकनहरु मतदानका लागि योग्य रहेका छन् । त्यो बाहेक नेपाली अमेरिकन बाबुआमाबाट अमेरिकामा जन्मिएर मतदानका लागि योग्य भएकाहरुको संख्या पनि बढ्दो छ ।

अहिलेसम्म अमेरिकी नागरिकता लिने नेपालीको संख्या झण्डै ५० हजार पुगेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयका अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउन सफल नेपालीहरुको संख्या जम्मा २६१६ मात्र रहेको थियो । त्यतीबेला सन् १९९० कै वर्षमा जम्मा ३७ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यो भन्दा अगाडि सन् १९८९ मा ३५ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यसैगरी सन् १९८८ मा जम्मा ३१ जनाले र सन् १९८७ मा २२ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

सन् १९९१ मा अमेरिकन पाउने नेपालीको संख्या थोरै बढेर ५६ पुगेको थियो । सन् १९९२ मा ४४ जना नेपालीहरुले अमेरिकन नागरिकता पाए । सन् १९९३ मा ४६ जनाले , सन् १९९४ मा ७० जनाले, सन् १९९५ मा ६० जनाले , सन् १९९६ मा ११९ जनाले, सन् १९९७ मा ७८ जनाले र सन् १९९८ मा ८२ जना नेपालीले अमेरिकन नागरिकता पाए । सन् १९९९ मा १४३ जनाले, सन् २००१ मा २०५ जनाले, सन् २००२ मा २४७ जनाले,सन् २००३ मा ३१८ जनाले , सन् २००४ मा ४०८ जनाले अमेरिकन नागरिकता पाए ।

त्यस्तै सन् २००५ मा ४१७ जनाले, २००६ मा ५७५ जनाले, सन् २००७ मा ६३८ जनाले, सन् २००८ मा ९५३ जनाले, सन् २००९ मा १६३२ जनाले, सन् २०१० मा २१८५ जनाले र सन् २०११ मा २२३५ जनाले अमेरिकन नागरिकता लिएका थिए । त्यस्तै सन् २०१२ मा २४४८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएका थिए । सन् २०१३ मा अमेरिकन नागरिकता लिने नेपालीहरुको संख्या २७११ रहेको थियो । सन् २०१४ मा २८८८ नेपालीले अमेरिकी नागरिकता लिए भने सन् २०१५ मा ४२२५ जना नेपालीले अमेरिकन नागरिकता लिए ।

सन् २०१६ मा ५ हजार ४ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए । सन् २०१७ मा भने अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ४५ सय ९ रहेको थियो । सन् २०१८ मा अमेरिकाभर ५२५२ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिएका छन् । सन् २०१९ र त्यसपछि अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या झण्डै ७ हजारको हाराहारीमा रहेको छ ।

सन् २०२४ मा हुने चुनावसम्म यो संख्या तीनगुणा बढ्ने अनुमान गरिएको छ । किनभने हाल अमेरिकामा रहेका झण्डै एकलाख ग्रिनकार्डवाहक नेपालीहरु त्यतीबेलासम्म अमेरिकी नागरिकता प्राप्त गर्नका लागि योग्य हुनसक्नेछन् ।

बढी मत ल्याउनेले पनि हार्नसक्छ

अमेरिकी राष्ट्रपति चुनावको अनौठो पक्ष के छ भने चुनावमा बढी मत ल्याउनेले समेत चुनाव हार्नसक्छ । अमेरिकी इतिहासमा यस्तो कैयन पटक भएको छ ।

सन् २००० मा भएको राष्ट्रपति चुनावमा एल गोरले ५ करोड ९ लाख ९९ हजार ८ सय ९७ भोट ल्याए भने जर्ज बुसले ५ करोड ४ लाख ५६ हजार २ भोट ल्याए । बुसले भन्दा शुन्य दशमलव ५ प्रतिशत बढी भोट एल गोरले ल्याएका थिए । तर चुनाव जीते बुसले ।

त्यस्तै सन् २०१६ को राष्ट्रपति चुनावमा हिलारी क्लिन्टनले ६ करोड ५८ लाख ५३ हजार ५ सय १४ भोट ल्याइन् । तर ट्रम्पले त्यो भन्दा कम ६ करोड २९ लाख ८४ हजार ८ सय २८ भोट ल्याए । अर्थात् ट्रम्पले भन्दा हिलारीले झण्डै साढे २८ लाख बढी भोट ल्याइन् । तरपनि चुनाव भने ट्रम्पले नै जीते ।

यस्तो सन् १८८८ र १८७६ को चुनावमा पनि भएको छ । यस्तो घटना १८२४ मा पनि भएको थियो, तर त्यतीबेला ६ वटा राज्यहरुमा इलेक्टरहरु नियुक्त गरिएका कारण प्रकृया अलिकति फरक थियो ।

अमेरिकी राष्ट्रपति चुनाव पूर्णरुपमा प्रत्यक्ष चुनाव होइन । अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् ।

त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।

५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ ।

सन् २०१२ को राष्ट्रपतीय चुनावमा बराक ओबामाले ३३२ इलेक्टोरल मत प्राप्त गरेका थिए भने मिट रोम्नीले २०६ इलेक्टोरल मत प्राप्त गरेका थिए ।

सन् २००८ को राष्ट्रपतीय चुनावमा भने ओबामाले ३६५ इलेक्टोरल मत प्राप्त गरेका थिए । त्यतीबेला उनका प्रतिस्पर्धी जोन म्याकनले १७३ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २०१२ को चुनावसम्म आइपुग्दा ओबामाको लोकप्रियता कम भएको थियो ।

त्यस्तै सन् २०१६ को चुनावमा ट्रम्पले ३०४ इलेक्टोरल भोट पाएका थिए भने हिलारीले २२७ इलेक्टोरल भोट पाएकी थिइन् । डेमोक्रेटिक समर्थकहरुको बाहुल्य रहेका राज्यहरुमा हिलारीले भारी मतान्तरले ट्रम्पलाई पराजित गर्दा र रिपब्लिकिनका पकड भएका क्षेत्रहरुमा ट्रम्पले हिलारीलाई झिनो मतान्तरले पराजित गर्दा कुल मत बढी प्राप्त गर्दा पनि हिलारीले चुनाव भने जित्न सकिनन् ।

अझ रोचक त के छ भने इतिहासमा पपुलर भोट कम ल्याएर पनि अमेरिकी राष्ट्रपति हुनेहरु चारैजना रिपब्लिकन रहेका छन् ।

उसो त अमेरिकाको चुनाव प्रणाली परिवर्तन गर्नुपर्ने आवाज पनि नउठेको होइन । राष्टपति पपुलर भोटबाट निर्वाचित हुनुपर्ने व्यवस्थाको माग पनि हुने गरेको छ । तर अहिलेसम्म भने त्यसो हुन सकेको छैन ।

यसरी गर्नुहोस् अमेरिकी चुनावमा मतदान

चुनावको दिनमा मतदानस्थलमा उपस्थीत हुन नसक्ने अवस्था भएकाहरुले अगाडि नै हुलाकमार्फत मतपत्र मगाएर मतदान गर्नसक्ने प्रावधान रहेको छ ।

मतदाताले सबैभन्दा पहिले मतदाता नामावलीमा आफ्नो नाम सुचीकृत गर्न आवश्यक छ । यदि तपाई अमेरिकी नागरिक हुनुहुन्छ र अहिलेसम्म मतदाता नामावलीमा आफ्नो नाम सुचीकृत गरिसक्नुभएको छैन भने यथाशक्य आफ्नो नाम सुचीकृत गर्नुहोला ।

मतदाता नामावलीमा आफ्नो नाम सुचीकृत गर्न यहाँ क्लीक गर्नुहोला ।

यदि तपाई आफ्नो नाम मतदाता नामावलीम सुचीकृत भए नभएको निश्चित हुनुहुन्न भने तपाईले आफ्नो नाम चेक गर्न समेत सक्नुहुनेछ । आफ्नो नाम मतदाता नामावलीमा भए नभएको तपाईले आफ्नो नाम र जीपकोडमार्फत चेक गर्न सक्नुहुनेछ ।

मतदाता नामावलीमा आफ्नो नाम भए नभएको चेक गर्न यहाँ क्लीक गर्नुहोला ।

यदि तपाई हुलाकबाट मतपत्र मगाएर मतदान गर्न चाहनुहुन्छ भने धेरै ढिलो नगर्नुहोला । हुलाकमार्फत मतदान गर्नका लागि तपाईले आफू अनुपस्थीत हुने व्होराको आवेदन भरेर स्थानीय निर्वाचन काउन्टी बोर्डमा पठाउनुपर्छ । यो आवेदन हुलाकबाट पठाउन सकिन्छ, आफै निर्वाचनको काउन्टी बोर्डमा गएर पनि दिन सकिन्छ ।

त्यसपछि तपाईलाई हुलाकबाट मतपत्र प्राप्त हुनेछ । तपाईले मतपत्र आफै काउन्टीबोर्डमा गएर पिकअप पनि गर्न सक्नुहुनेछ । आफै पिकअप गर्न नसक्ने अवस्था भएमा त्यसका लागि तपाईलाई अरु कसैलाई अधिकार पनि दिनसक्नुहुनेछ ।

सधैका लागि बिरामी र अशक्त व्यक्तिले मतपत्र हुलाकबाट प्राप्त गर्नका लागि बारम्बार आवेदन दिइरहनुपर्दैन । उनीहरुले सुरुमा काउन्टी बोर्डमा आफू अशक्त भएको एउटा आवेदन दिएपछि सधै मतपत्र प्राप्त गर्नेछन् ।

मतपत्र प्राप्त गर्नका लागि आवेदन फर्म भर्न यहाँ क्लीक गर्नुहोला ।तपाईले आफ्नो राज्य छनौट गरेपछि सबै प्रकृया हेर्न सक्नुहुनेछ ।

यदि तपाई अमेरिकी सेनामा कार्यरत हुनुहुन्छ वा अमेरिकाबाहिर हुनुहुन्छ भने पनि तपाईले त्यहीबाट मतदान गर्न सक्नुहुन्छ । तर त्यसका लागि पनि तपाईले आफू भौतिक रुपमा मतदानका लागि अमेरिकामा उपस्थीत हुन नसक्ने व्होराको आवेदन दिनुपर्छ । विश्वका जुनसुकै स्थानमा रहेका अमेरिकनहरुले अमेरिकी चुनावमा मतदान गर्न सक्ने व्यवस्था गरिएको छ ।

यदि तपाई अमेरिकाबाहिर हुनुहुन्छ भने मतदान प्रकृयाबारे जान्न यहाँ क्लिक गर्नुहोला । 

यदि तपाई मतदान स्थलमा नै गएर मतदान गर्न चाहनुहुन्छ भने आगामी नोभेम्बर ३ मा तपाई सुरक्षित तरिकाले मास्क लगाएर मतदान स्थलमा जान सक्नुहुनेछ ।

आफ्नो मतदानस्थल कुन हो भन्नेबारे अन्यौलमा हुनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

याद गनुहोस्, यति तपाई अमेरिकी नागरिक हुनुहुन्छ भने मतदान गर्नु तपाईको अधिकारमात्र होइन, कर्तब्य पनि हो ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com