नेपाली टिनएजर जादूगर सिद्धान्तको सिद्धान्त: ‘धैर्यता र लगन नै सफलतातिरको बाटो’


प्रकाशित मिति : आश्विन १९, २०७७ सोमबार

कोरोना महामारीपछिको लकडाउन कतिले तासै खेलेर बिताए होलान् । तर सिद्धान्त तास खेलेनन् बरु तासका नयाँ नयाँ जादूमय ट्रिकहरु सिकेर दुनियालाई चकित पार्दैछन्, मनोरञ्जन दिलाउँदैछन् ।

सिद्धान्त दाहाल तासका जादूमय ट्रिकहरु देखाउने १६ बर्षका नेपाली टिनएजर जादूगर हुन् । १४ वर्षकै उमेरबाट उनको जादू चल्न थालेको थियो ।

टिभि र भिडियोमा तासबाट देखाउने खेल हेर्दा पहिला उनी अचम्मित हुने गर्दथे भने अहिले अरुलाई त्यही खेलबाट अचम्मित पार्दै आएका छन् । यसको लागि उनले रातदिन मिहिनेत गरे ।

उनको खेलमा, खेल खेल्नेहरु धेरै छन् । कोही उनलाई अगाडि बढ्न हौसला दिन्छन् त, कोही उनको कलालाई अपमान पनि गर्दछन् । तर, सिद्धान्तले देखाउने जादूमय खेलको सबैभन्दा ठूलो दर्शक उनकी आमा हुन् । आमा र बुबाको बलियो साथ पाएका सिद्धान्त, यहीँ खेलमा अगाडि बढ्ने योजनामा छन् ।

सिद्धान्तका पहिलो दर्शक आमाबुबा र भाई थिए भने अहिले हजारौँ छन् । अहिले उनले देखाउने जादू हेर्नका लागि हजारौँ मानिसहरु उत्सुक हुन्छन् । तर, कोरोनाको कारण विभिन्न ठाउँमा तय भएका उनका कार्यक्रम रोकिएका छन् ।

सिद्धान्तले भने “सुरुमा आमाबुबा, भाई र शिक्षकहरुको साथ, सपोर्ट र माया पाएको थिएँ, अहिले धेरैले माया गर्नुहुन्छ । कोरोनाका कारण मेरा धेरै स्टेज कार्यक्रमहरु रोकिएका छन् । तर, मैले यो बीचमा झन् धेरै कार्ड ट्रिक्सहरु सिक्ने मौका पाएँ । लकडाउन मेरा लागि लक्ष्यमा पुग्ने एउटा सुनौलो अवसर बन्यो ।”

धेरै युवाहरु लकडाउनको समयमा अनलाइन खेम खेलेरै बिताए तर उनले आफ्नो लक्ष्य पछ्याउँदै यूटुवमा तासबाट देखाईने विभिन्न जादूमय भिडियोबाट नयाँ-नयाँ ट्रिक्सहरु सिक्न उपयोग गरे ।

यहीँ बर्ष विनायक स्कुलबाट एसईई उत्तिर्ण गरेका सिद्धान्त अहिले कम्प्यूटर साइन्स अध्ययन गर्दैछन् । अध्यायनसँगै आफ्नो लक्ष्यमा अगाडि लम्किएका सिद्धान्त लकडाउनको समयमा कार्डस्का ट्रिक्सहरु मात्र सिकेनन्,आफूलाई माया गर्नेहरुका लागि सामाजिक सञ्जालबाट आश्चर्य चकित पार्ने भिडियो बनाएर पोष्ट गरिरहेका छन् ।

विराटनगर स्थायी घर भएका सिद्धान्तको परिवार काठमाडौँमा बस्दै आएको छ । बुबा मेडिकललाइनमा काम गर्नु हुन्छ भने आमा गृहिणी ।

स्कुलमा हुने अतिरिक्त क्रियाकलाबाट जादूको यात्रा सुरु गरेका सिद्धान्त भन्छन् “कार्यक्रममा तासको आधारभूत खेल देखाउँथें । मेरो खेलबाट प्रभावित भएर सरहरुले स्कुलमा दुईवटा शोे गर्ने अवसर मिलाई दिनुभयो । त्यसबाट धेरै हौसला मिल्यो । अहिले ठूला—ठूला स्टेजमा जादू देखाउन सक्ने भएको छु । यसमा आमाबुबा, शिक्षक र साथीहरुको ठूलो साथ र हात रहेको छ ।”

तासको जादूबाट कमाएको पहिलो कमाईले उनी आमालाई कानको रिङ र ब्याग उपहार दिएका थिए । उनको जादू हेरेर जसरी आमा चकित पर्थिन्, त्यत्तिनै छोराले दिएको उपहारबाट परिन । छोराको सफलताबाट आमाको खुशीेको सिमानै थिएन । हुन, पनि स्वभाविक हो, एउटी आमालाई छोराछोरीको सफलताभन्दा ठूलो खुशी अरु कुनै हुन सक्दैन ।

एसईईपछि उनले धेरै सिक्ने मौका पाएँ । भन्छन् “जति चलाउँदै गयो त्यत्तिनै खेल राम्रो हुन्छ, र मानिसहरुलाई चकित पार्न सकिन्छ ।”

लकडाउनको बेला उनीले पढाईका साथै तासको खेललाई अझ तिखार्दै ल्याएका छन् । उनको बुझाईमा मोबाइलमा गेम खेलेर यत्तिकै समय खेर फाल्नुभन्दा जीवनमा काम लाग्ने दुई चार कुरा सिक्दा आफूले चाहेको लक्ष्य हासिल गर्न सहयोग पुर्याउँछ ।

आमाबुबाले सिद्धान्तलाई लक्ष्यमा पुर्याउन हरेक पाइला पाइलामा साथ दिँदै आउनुभएको छ । यहाँसम्मकी आमाले त छोराका नयाँ ट्रिक्स अरु काम छोडेर उनले चाहेको समयमा हेरेर प्रतिक्रिया दिनुहुन्छ । आफूले सिकेको जादूको नयाँ ट्रिक्स दर्शकलाई देखाउनुभन्दा पहिला आमालाई देखाउँछन् सिद्धान्त । उनको खेलको पहिलो दर्शक आमा हुन् ।

भन्छन्, “जादूको नयाँ-नयाँ ट्रिक्स ऐना हेरेर सिक्छु र आमालाई देखाउँछु अनि अरुलाई ।”

“नेपालमा जादू देखाएर पेट पाल्न अलि गाह्रै छ भन्छन्,म त्यसलाई परिवर्तन गर्न चाहन्छु । भविश्य यसमै उज्जवल देखेको छु । त्यसैले यसैमा समर्पित छु ।”

उनले देखाउने तासको जादू हेरेर प्रोत्साहन गर्ने धेरै छन् तर केही मान्छेहरु यस्ता पनि छन्, जसले आफूलाई सधै सक्षम सम्झन्छन् तर जीवनमा केही गरेका हुँदैन ।

सिद्धान्तले आफूले भोगेका कुरा सुनाउँदै भने “जाबो तासको जादू म पनि देखाउन सक्छु, के ठूलो कुरा हो र ? भन्दै निरुत्साहित गर्ने केही मानिस छन्, तर धेरैले हौसला दिनुहुन्छ ।”

उनले यो खेल सिक्नका लागि धेरै तासको प्याकेट किनिसकेका छन् । सुरु सुरुमा बुबाआमासँग पैसा मागेर किन्ने गर्दथे भने अहिले आफ्नै कमाईबाट किन्न सक्ने भएका छन् । हरेक स्टेज कार्यक्रमका लागि उनले नयाँ नयाँ कार्ड प्रयोग गर्दछन् ।

कोरोना महामारीपछिको लकडाउनमा उनले सामाजिक सञ्जालमा आफैले भिडियो तयार गरेर राख्ने गरेका छन् । “म आमाबुबासँग कत्तै गएँ भने उहाँहरुले मेरो जादूको बारेमा सबैलाई भन्नुहुन्छ,जसले मलाई हौसला मिल्छ ।”

उनलाई सामाजिक सञ्जालमा फलो गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । उनले देखाउने जादूबाट आश्चर्य चकित हुनेहरुले फोन गरेरै हौसला दिन्छन् । उनको जादूबाट मोहित धेरै दर्शकहरु फोनबाटै आफू भेट्न आतुर भएको भन्छन् । यस्तो भन्नेहरुको लिस्ट लामो छ ।

नेपालमा जादूगरहरुको कुनै भविश्य छैन् भन्नेहरुको पछि नलाग्न अनुरोध गर्दै सिद्धान्त भन्छन् “यदि कसैले तासको जादू सिक्नु भएको छ वा सिक्ने इच्छा राख्नु भएको छ भने त्यसमै समय दिनुहोस् । मानिसलाई खेलबाट चकित पार्नु सामान्य कुरा होइन, यसमा भविश्य राम्रो छ । म अनुभवको आधारमा भन्दैछु, यो खेललाई माया गर्ने धेरै हुनुहुन्छ ।”

सिद्धान्तले भने झै, मानिसहरुलाई यस खेलबाट आश्चर्यचकित पार्नु सजिलो छैन । तासको जादू हेर्दा जति सजिलो र रमाईलो लाग्छ, मिहिनेत त्यो भन्दा कैयन गुणा बढी लाग्छ । यसमा धैर्यता र लगन दुबै हुनुपर्ने बताउँछन् सिद्धान्त ।

सिद्धान्तलाई इन्स्टाग्राममा फ्लो गर्न यहाँ क्लीक गर्नुहोला ।

प्रस्तुती: अस्मीता खड्का

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com