महामारीपछिका तीनमहिनामा ८५ नेपालीले पाए डाइभर्सिटी भिसा, सेप्टेम्बरको विवरण आउन बाँकी


प्रकाशित मिति : आश्विन १७, २०७७ शनिबार

मार्चको तेश्रो सातादेखि कोरोना महामारीका कारण काठमाडौंमा रहेको अमेरिकी दूतावासको नियमित भिसासेवा अवरुद्ध भयो भने अप्रिल २२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका कारण डाइभर्सिटी भिसा जारी गर्न रोक लाग्यो । तर पनि अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले अप्रिल, जुलाई र अगस्त महिनामा ८५ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेको जनाएको छ ।

अप्रिल २२ मा ट्रम्पको कार्यकारी आदेश जारी भएपनि उक्त महिनामा १४ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका छन् । उनीहरुमध्ये ८ जना प्राथमिकत आवेदक र ६ जना उनीहरुका दम्पत्ति र छोराछोरी छन् । कुल १४ जना नेपालीमध्ये १२ जनाले काठमाडौंकै दूतावासबाट भिसा प्राप्त गरेका छन् ।

अप्रिलको कार्यकारी आदेशपछि मे र जुन महिनामा भने कुनै पनि नेपालीले डाइभर्सिटी भिसा प्राप्त गरेका छैनन् । तर जुलाईमा भने ३३ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । जसमध्ये १९ जना प्राथमिक डिभी विजेताहरु थिए भने १४ जना उनीहरुका दम्पत्ति र छोराछोरी रहेका थिए । सबैजनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट भिसा प्राप्त गरेका थिए ।

त्यस्तै अगस्त महिनामा ३८ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । जसमध्ये २१ जना प्राथमिक डिभी विजेताहरु थिए भने १७ जना उनीहरुका दम्पत्ति र छोराछोरी रहेका थिए । उनीहरु सबैजनाले काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट भिसा प्राप्त गरेका थिए ।

सेप्टेम्बर ४ मा अमेरिकाको अदालतले सन् २०२० का डिभी विजेतालाई भिसा नरोक्न आदेश जारी गरेपछि अमेरिकी विदेशमन्त्रालयले दूतावासहरुलाई डिभी विजेताहरुको भिसा जारी गर्न निर्देशन दिएको थियो । अमेरिकी दूतावास काठमाडौंले आफूहरुले सकेजति भिसा जारी गरेको बताएको छ । तर सेप्टेम्बरमा कतिजनालाई भिसा जारी गरियो भन्नेबारे केही बताइएको छैन ।

सन् २०२० का डिभी विजेताहरुले सेप्टेम्बर ३० सम्ममात्र भिसा पाउने प्रावधान रहेको छ । अक्टाबर १ पछि सन् २०२१ का डिभी विजेताले भिसा पाउने प्रावधान रहेपनि ट्रम्पको कार्यकारी आदेशका कारण जनवरीभन्दा अगाडि २०२१ का डिभी विजेताले भिसा नपाउने देखिएको छ । तर उनीहरुले बाँकी प्रकृया भने अगाडि बढाउन सक्नेछन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com