कम्युनिष्ट वा निरंकुश पार्टीका कस्ता सदस्यलाई ग्रिनकार्ड रोक्ने र कस्तालाई दिनेबारे नयाँ निर्देशिका


प्रकाशित मिति : आश्विन १६, २०७७ शुक्रबार

अमेरिकी सरकारको युएससीआईएसले कम्युनिष्ट वा निरंकुश पार्टीका सदस्यलाई ग्रिनकार्डको विषयलाई सम्बोधन गर्ने नयाँ निर्देशिका जारी गरेको छ । अमेरिकाको शान्ति सुरक्षामा जोखिमलाई सम्बोधन गर्न अमेरिकी संसदले सन् १९५२ मा कम्युनिष्ट वा निरंकुश पार्टीका सदस्यलाई ग्रिनकार्ड नदिने कानुन पारित गरेको थियो ।

उक्त कानुन अनुशार सामान्यतया घरेलु वा विदेशी कम्युनिष्ट वा निरंकुश पार्टीमा आवद्ध रहेको वा सदस्य रहेको आप्रवासी अमेरिकामा ग्रिनकार्ड प्राप्त गर्न अयोग्य हुने नियम रहेको छ । नयाँ निर्देशिकाले कस्तो अवस्थामा अयोग्य हुने र कस्तो अवस्थामा कम्युनिष्ट वा निरंकुश पार्टीका सदस्यले समेत ग्रिनकार्ड पाउन सक्ने भन्ने सन्दर्भमा चरणबद्ध पुनरावलोकनको व्यवस्था गरेको छ ।

पहिलो चरणमा अधिकारीले आवेदक संलग्न भएको पार्टी कम्युनिष्ट वा निरंकुश पार्टी हो वा होइन भन्ने निर्धारण गर्नेछन् । यदि आवेदक संलग्न भएको पार्टी कम्युनिष्ट वा निरंकुश पार्टी होइन भने उक्त आधारमा आवेदक ग्रिनकार्ड प्राप्त गर्न अयोग्य हुनेछैन । अर्थात् उसले ग्रिनकार्ड प्राप्त गर्न सक्नेछ ।

तर यदि आवेदक संलग्न भएको पार्टी कम्युनिष्ट वा निरंकुश पार्टी भएको ठहर भएमा दोश्रो चरणको कसी लगाइनेछ । कम्युनिष्ट वा निरंकुश पार्टीमा आवेदकको संलग्नता सदस्यता स्तरको हो वा होइन भन्ने निर्धारण गरिन्छ । यदि सदस्यता स्तरको नभएको खण्डमा आवेदक ग्रिनकार्डका लागि योग्य हुनसक्नेछ । अर्थात् उक्त आधारमा आवेदक ग्रिनकार्ड पाउने अयोग्य हुनेछैन ।

तर आवेदकको संलग्नता सदस्यता स्तरको हो भने उक्त सदस्यता अर्थपूर्ण हो वा होइन निर्धारण हुन्छ । अर्थपूर्ण हो वा होइन भन्ने निर्धारण गर्न अधिकारीहरुले केही मापदण्डहरुको प्रयोग गर्नेछन् । यदि अर्थपूर्ण सदस्यता नभएको ठहर भएमा उक्त आवेदक ग्रिनकार्ड पाउन योग्य हुनसक्नेछ । अर्थात् उक्त आधारमा आवेदक ग्रिनकार्ड पाउने अयोग्य हुनेछैन ।

तर सदस्यता अर्थपूर्ण हो भने त्यसपछि पनि अन्य अपवादहरुको प्रयोग गरिनेछ । अपवादको पहिलो चरणमा यदि आवेदक अनिच्छुक हुँदाहुँदै कम्युनिष्ट वा निरंकुश पार्टीको सदस्य थियो भने उसले ग्रिनकार्ड पाउनसक्छ । त्यस्तै सदस्यता लिंदा १६ बर्षभन्दा कम उमेरको थियो वा उक्त देशमा कानुनले तोकेका कारण सदस्यता लिएको थियो भने पनि उसले ग्रिनकार्ड पाउनसक्छ ।

यदि कम्युनिष्ट वा निरंकुश पार्टी सदस्य रहेको व्यक्तिले त्यस्तो सदस्यता खाना, रोजगारी वा जिविकोपार्जनको अन्य वाध्यताका कारण लिएको थियो भने पनि उसले ग्रिनकार्ड पाउन सक्छ । अर्थात् त्यस्तो आवेदक यो कानुनको आधारमा अयोग्य हुनेछैन ।

त्यस्तै सरकारलाई नियन्त्रण नगरेको कम्युनिष्ट वा निरंकुश पार्टीको सदस्यता रहेको व्यक्तिको सदस्यता २ बर्ष अगाडि नै खारेज भइसकेको थियो भने भने पनि त्यस्तो व्यक्ति ग्रिनकार्डका लागि योग्य हुनसक्छ । सरकारलाई नियन्त्रण गरेको कम्युनिष्ट वा निरंकुश पार्टीको सदस्यता रहेको व्यक्तिको सदस्यता ५ बर्ष अगाडि नै खारेज भएको थियो भने पनि त्यस्तो व्यक्ति ग्रिनकार्डका लागि योग्य हुनसक्छ ।

त्यस्तै विगतमा कम्युनिष्ट वा निरंकुश पार्टीको सदस्यता रहेको व्यक्तिबाट अहिले अमेरिकाका लागि राष्ट्रिय सुरक्षामा कुनै जोखिम छैन भने पनि त्यस्तो व्यक्ति ग्रिनकार्डका लागि योग्य हुनसक्छ ।

यदि आवेदक अमेरिकी नागरिकको बुबाआमा, दम्पत्ति, छोरा, छोरी, भाई, बहिनी हो भने पनि विगतमा कम्युनिष्ट वा निरंकुश पार्टीको सदस्य रहेपनि अमेरिकी ग्रिनकार्डका लागि छुट पाउनसक्ने प्रावधान रहेको छ । त्यस्तै अमेरिकी ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीले पनि छुट पाउनसक्छन् । तर उनीहरु अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा भने हुनुहुँदैन ।

राष्ट्रिय सुरक्षामा खतरा भए नभएको निर्धारण गर्न उक्त व्यक्ति जासुस, आतंकवादी, सुचना सुरक्षामा जोखिमपूर्ण, जनस्वास्थ्यमा जोखिमपूर्ण, चुनाव सुरक्षामा जोखिमपूर्ण भए नभएको निर्धारण गरिन्छ ।

शुक्रबार अपडेट गरिएको यो निर्देशिका तत्काल लागु हुने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com