Follow @khasokhasmag

अमेरिकामा आन्तरिक उडान र संघीय भवनमा छिर्न रियल आईडीको डेडलाइन ठ्याक्कै एकबर्ष


प्रकाशित मिति : आश्विन १५, २०७७ बिहीबार

अमेरिकी सरकारले सन् २०२१ को अक्टोबर १ बाट अमेरिकाभित्र जहाजमा यात्रा गर्नका लागि रियल आईडी अर्थात् स्टारसहितको आईडी अनिवार्य गर्ने डेडलाइन तय गरेकोमा अब उक्त डेडलाइन आउन ठ्याक्कै एकबर्ष बाँकी रहेको छ । कोरोनाको महामारी सुरु नभएको भए रियल आईडीको प्रावधान आजदेखि अनिवार्य हुने थियो । तर महामारीका कारण १ बर्ष पछाडि सारिएपछि अब रियल आईडी सन् २०२१ को अक्टाबर १ देखि लागु हुनेछ ।

अमेरिकामा  सन् २०२१ को अक्टोबर १ देखि आन्तरिक उडान र संघीय भवनमा छिर्नका लागि रियल आईडी अनिवार्य बनाउने डेडलाइन तोकिएको छ । अहिले अमेरिकाका सबै ५० वटा राज्यहरुका साथमा वासिंटन डिसी, पोर्तोरिको, युएस भर्जिन आइल्याण्ड र गुआमले रियल आईडी जारी गरिरहेका छन् ।

के तपाईको ड्राइभर लाइसेन्स वा स्टेट आईडीमा स्टार चिन्ह छैन ? के तपाईको आईडी वा ड्राइभर लाइसेन्समा नट फर फेडेरल आईडी वा नट फर फेडेरल प्रपोज लेखेको छ ? यदि त्यस्तो हो भने तपाईले उक्त आईडीमात्र देखाएर  सन् २०२१ को अक्टोबर १ देखि अमेरिकाभित्र जहाजमा यात्रा गर्न पाउनुहुनेछैन । पासपोर्ट समेत बोक्नुपर्नेछ ।

सन् २०२१ को अक्टोबर १ देखि जहाजमा यात्रा गर्नका लागि तपाईसँग माथिल्लो दायाँ कुनामा स्टार भएको ड्राइभर लाइसेन्स वा आईडी हुनुपर्छ । अन्यथा तपाईले अमेरिकाभित्रै यात्रा गर्नका लागि समेत पासपोर्ट बोक्नुपर्ने हुनेछ । कतिपय राज्यमा यस्तो आईडीमा सुनौलो त कतिपय राज्यमा कालो स्टार अंकित गरिएको छ । हवाई, ओहायो, टेनिसी र युटाहको आइडीमा भने तारा अंकित छैन ।

अमेरिकामा सन् २००५ मा पारित रियल आईडी एक्ट सन् २०२१ को अक्टोबर १ देखि पूर्णरुपमा कार्यान्वयनमा आउन लागेको हो ।

तारासहितको वास्तविक आईडी लिनका लागि तपाई जन्मदर्ता प्रमाण वा पासपोर्ट जस्ता कागजातसहित भौतिक रुपमा नै डीएमभी अफिस जानुपर्ने हुन्छ । त्यसका लागि तपाईले अनलाइनमार्फत अप्वाइन्टमेन्ट लिनुहोला । अप्वाइन्टमेन्ट लिइसकेपछि उक्तदिन जाँदा अमेरिकी जन्मदर्ता वा अमेरिकी पासपोर्ट वा वर्क परमिट वा ग्रिनकार्ड वा आई ९४ स्वीकृति सहितको विदेशी पासपोर्ट लैजानुपर्छ ।

त्यस्तै सोसल सेक्युरिटी कार्ड वा डब्लु टु वा सोसल सेक्युरिटी नम्बर उल्लेख भएको पे स्टब पनि साथमा लैजानुहोला । आफ्नो निवासको ठेगानाको प्रमाण पुग्ने बिल वा अन्य त्यस्तै कागजात पनि तपाईसँग हुन आवश्यक छ ।

सबै कागजातसहित डीएमभी कार्यालयमा पुगेपछि तपाईले उपयुक्त शुल्क तिरेर वास्तविक आईडीका लागि आवेदन दिनुपर्ने हुन्छ । त्यसपछि तपाईले स्टार अंकित वास्तविक आईडी प्राप्त गर्नुहुनेछ । जुन संघीय भवनहरुमा प्रवेश गर्न वा जहाजमा यात्रा गर्नका लागि स्वीकार गरिनेछ ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com