सुनिन छाड्यो सारङ्गीको धुन
प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार
सारङ्गीलाई रेटेर निकालिएको सुमधुर धुनले धेरैलाई लोभ्याउँछ । सारङ्गीको धुनसँगै गन्धर्व जातिले सूचना, मनोरञ्जनका माध्यमबाट नागरिकलाई सुसूचित गर्ने चलन थियो । त्यो सुमधुर सारङ्गी धुन आजभोलि गाउँ तथा शहरी क्षेत्रमा विस्तारै सुनिन छाडेको छ ।
रम्भा गाउँपालिका–५ ताहुँका भीमबहादुर गन्धर्व अपमान र छुवाछूतकै कारण गन्धर्व जातिका युवा यो पेशाबाट विस्थापित भएको बताउन्छन् । गीतसङ्गीतमा सारङ्गीको भूमिका निकै रहे पनि अहिले यो नेपाली लोकबाजा बजाउने मानिसको अभाव देखिएको छ । सारङ्गी बजाउनेहरु अन्य पेशाव्यवसायमा लागेपछि यो पेशा नै धरापमा परेको छ । सामाजिक, सांस्कृतिक, आर्थिक तथा शैक्षिक कारण गन्धर्व जातिका मानिस यो पेशाबाट वर्षेनी विस्थापित हुनुपरेको पीडा छ ।
युवा पुस्ता आफूले अँगालेको पेशामा आम्दानी र सम्मानसमेत चाहन्छ तर त्यसको अभावमा युवा पुस्ता अन्य पेशा व्यवसायमा आकर्षित हुँदै जाँदा सारङ्गी बजाउने पेशा नै सङ्कटमा परेको उनी बताउन् । ताहुँका जगतबहादुर गन्धर्व सारङ्गी बाजा नेपालको राष्ट्रि«यतासँग सम्बन्ध जोडिए पनि यस पेशामा आबद्धलाई सम्मानको खाँचो रहेको बताउन् । नेपालमा सूचना प्रविधिको विकास हुनुअघि सञ्चारको भरपर्दो माध्यम सारङ्गी मानिन्थ्यो । अहिले सूचना प्रविधिको विकास र प्रयोगले यस बाजाको महत्वमा कमी आएको छ ।
नेपाली मौलिक लोकबाजाका रुपमा परिचित सारङ्गी संरक्षणमा युवाको चासो बढाउन आवश्यक रहेको उनले बताए। गन्धर्व जातिको पुख्र्यौली पेशा नै सारङ्गी वादन हो । गन्धर्व जातिको पुख्र्यौली पेशा लोप हुनाका कारण सामाजिक, सांस्कृतिक व्यवस्था नै बाधक बनेको तर्क जगत गन्धर्वको छ । रम्भा गाउँपालिका ताहुँकी शोझा रञ्जन गन्धर्व कला र गलामा धनी भए पनि राष्ट्रियस्तरमा सम्मान पाउन नसकेकामा गुनासो पोखे। सारङ्गी बजाउन नयाँ पुस्तालाई आकर्षित गर्न आवश्यक रहेको उनको जोड छ ।
यसका लागि सरकारले सारङ्गी सम्बन्धी तालीम तथा प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको उनी बताउन्छन्। विसं २०६८ को जनगणनानुसार तानसेनमा ९८ पुरुष र ९५ महिला गरी कुल १९३, रिब्दीकोट गाउँपालिकाको भैरवस्थानमा ११ महिला र ११ पुरुष तथा रम्भाको ताहुँमा आठ पुरुष र १९ महिला गन्धर्व बसोबास गर्दै आएका छन् । रासस