Follow @khasokhasmag

अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीलाई ग्रिनकार्ड पाउन १४ बर्ष, अरुलाई कति?


प्रकाशित मिति : आश्विन १०, २०७७ शनिबार

अमेरिकी सरकारको विदेश मन्त्रालयले ब्यूरो अफ कन्सुलर अफेयर्सले अक्टोबर महिनाका लागि जारी गरेको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीलाई ग्रिनकार्ड पाउन लाग्ने अवधि १४ बर्ष रहेको छ । सन् २००६ को सेप्टेम्बर २२ भन्दा अगाडि आवेदन फाइल गरेका अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुले अक्टोबरमा ग्रिनकार्ड पाउन सक्नेछन् ।

नेपाल लगायतका मुलुकका सन्दर्भमा १४ बर्ष लागेपनि भारतको सन्दर्भमा भने त्यो भन्दा अझ बढी लाग्नेछ । भारतीयहरुका सन्दर्भमा यो श्रेणीमा ग्रिनकार्ड प्राप्त गर्न झण्डै साढे १५ बर्षको अवधि लाग्नेछ । मेक्सिकनहरुका सन्दर्भमा २२ बर्ष र फिलिपिनोहरुका सन्दर्भमा झण्डै १८ बर्षको अवधि लाग्नेछ ।

अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुका सन्दर्भमा ग्रिनकार्ड पाउन लाग्ने अवधि १२ बर्ष ३ महिना रहेको छ । ग्रिनकार्डवाहकका २१ बर्ष नाघेका अविवाहित छोराछोरीहरुका सन्दर्भमा ५ बर्ष २ महिना लाग्नेछ । अमेरिकी नागरिकका २१ बर्ष नाघेका अविवाहित छोराछोरीहरुका सन्दर्भमा झण्डै ६ बर्ष लाग्नेछ ।

रोचक के छ भने ग्रिनकार्डवाहकका २१ बर्ष नाघेका अविवाहित छोराछोरीहरुका तुलनामा अमेरिकी नागरिकका २१ बर्ष नाघेका अविवाहित छोराछोरीहरुका सन्दर्भमा अझ बढी समय लाग्नेछ । तर ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्ष ननाघेका छोराछोरीका सन्दर्भमा भने गतबर्षदेखि नै भिसा करेन्ट रहँदै आएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशका कारण यी कैयन श्रेणीमा दूतावासबाट भिसा प्राप्त गर्न भने तत्काल सम्भव छैन । यद्यपी अमेरिकामा नै हुनेहरुले भने आफ्नो स्टाटस एड्जस्ट गर्न सक्नेछन् । अमेरिकी नागरिकका दम्पत्ति र छोराछोरीहरुका सन्दर्भमा भने ट्रम्पको कार्यकारी आदेशले कुनै असर गर्नेछैन । अरुले भने आगामी जनवरीसम्म कुर्नुपर्नेछ ।

यसरी आफै दिनुहोस् दाजुभाई र दिदीबहिनीको ग्रिनकार्डका लागि अनलाइनबाटै आवेदन (तरिका)

यदि तपाईको उमेर २१ बर्ष पूरा भइसकेको छ र तपाईसँग अमेरिकी नागरिकता छ भने तपाईले आफ्ना दाजुभाई दिदीबहिनीहरुको अमेरिकी ग्रिनकार्डका लागि फाइल गर्न सक्नुहुन्छ ।

१ – सुरुमा आई १३० नामको फर्म भर्नुपर्छ । अहिले यो फर्म अनलाइनबाटै समेत भर्न सकिन्छ । अनलाइनबाट फर्म भर्न तपाईले युएससीआईएसमा अनलाइन एकाउन्ट बनाउनुपर्छ । अनलाइन एकाउन्ट बनाउन यहाँ क्लिक गर्नुहोला । 

२ – माथिको लिंकमा गएर तपाईले एकाउन्ट बनाइसकेपछि तपाईले माइ युएससीआईएसमा क्लिक गरेर आफूले फाइल गर्ने आवेदनको छनौट गर्नुपर्छ ।  फर्म भर्ने तरिका र लाग्ने शुल्कबारे  यहाँ  सिकाइएको छ । फर्म भर्ने तरिका हेर्न यहाँ क्लिक गर्नुहोला

३ – तपाईले आफ्नोबारेमा, आफ्नो परिवारको बारेमा, जसको लागि फर्म भर्न लागिएको हो उक्त व्यक्तिको बारेमा, उक्त व्यक्तिको परिवारको बारेमा विभिन्न विवरणहरु भरिसकेपछि उक्त फर्म अनलाइनबाट नै पठाउन सक्नुहुनेछ । शुल्क पनि तपाईले अनलाइनबाटै तिर्न सक्नुहुन्छ ।

४- उचित शुल्क सहित फर्म अनलाइनबाटै पठाइसकेपछि तपाईले युएससीआईएसबाट आई ७९७ नामको पत्र प्राप्त गर्नुहुनेछ । त्यो पत्रमा प्राथमिकता मिति उल्लेख गरिएको हुन्छ ।

दाजुभाई तथा दिदीबहिनीहरुका लागि ग्रिनकार्ड फाइल गर्दा निम्न कागजातहरु सब्मिट गर्नुपर्ने हुन्छ :

-आई १३० फर्म । यो फर्म अनलाइनमा भरेर अनलाइनमा नै सब्मिट गर्न सकिन्छ । तपाईले दिदीबहिनी वा दाजुभाईका दम्पत्ति वा २१ बर्षमुनीका छोराछोरीका लागि छुट्टै फर्म भर्नु आवश्यक छैन ।

-तपाईको जन्मदर्ता प्रमाणपत्र र तपाईका दाजुभाई तथा दिदीबहिनीको जन्मदर्ताको प्रमाणपत्र । यो प्रमाणपत्रमा बाबु वा आमामध्ये एउटा दुबैको एउटै देखिनुपर्छ । यो कागजातको फोटो खिचेर वा स्क्यान अनलाइनबाट सब्मिट गर्न सक्नुहुन्छ ।

-तपाई अमेरिकी नागरिक हुनुको प्रमाण । जस्तै, अमेरिकी पासपोर्टको फोटोकपी वा नागरिकताको प्रमाणपत्र । यो कागजातको फोटो खिचेर वा स्क्यान अनलाइनबाट सब्मिट गर्न सक्नुहुन्छ ।

-यदि तपाईको बुबा एउटै हो र आमा फरक फरक छन् भने बुबाको हरेक आमासँग विवाहको प्रमाणपत्र र पहिले गरिएको सम्बन्धविच्छेदको कागजात पेश गर्नु आवश्यक हुन्छ । यो कागजातको फोटो खिचेर वा स्क्यान अनलाइनबाट सब्मिट गर्न सक्नुहुन्छ ।

अनलाइनबाट एप्लीकेशन बुझाइसकेपछि तपाईले सबै रेस्पोन्स अनलाइनबाटै पाउनुहुनेछ । यद्यपी पत्र तपाईको ठेगानामा पनि प्राप्त हुन्छ । तर यो पत्र अनलाइनबाटै डाउनलोड गर्न सक्नुहुन्छ । थप कागजात मागेको खण्डमा पनि अनलाइनबाटै अपलोड गर्न सक्नुहुन्छ । अनलाइनमा स्थीति हेर्न, युएससीआईएसमा सम्पर्क गर्न पनि सक्नुहुनेछ ।

तपाईका दाजुभाई वा दिदीबहिनी अमेरिकाबहिर रहेको खण्डमा दूतावासको कन्सुलर अफिसमार्फत आप्रवासी भिसा प्रदान गरिन्छ ।

याद गर्नुहोस् फर्म भर्दा नाता, तपाईको नाम, जन्ममिति, ठेगाना, बैबाहिक स्थीति तथा जसको लागि आवेदन दिइएको हो उसको पूरा नाम, जन्ममिति, भौतिक ठेगाना र बैबाहिक स्थीति स्पष्ट खुलाएर मिति लेख्न नभुल्नुहोला ।

 

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com