२०१६ को चुनावमा झिनो अन्तरले ट्रम्पले जीतेका राज्यमा चुनावी अभियान केन्द्रीत


प्रकाशित मिति : आश्विन ६, २०७७ मंगलबार

अमेरिकी राष्ट्रपतिको चुनाव आउन अब ४२ दिनमात्र बाँकी रहेको छ । चुनाव नजिकिदै गर्दा राष्ट्रपतिका उम्मेवार डोनाल्ड ट्रम्प र जो बाइडेनले २०१६ को चुनावमा झिनो अन्तरले ट्रम्पले जीतेका राज्यमा चुनावी अभियान केन्द्रीत गरेका छन् ।

बाइडेन मिसिगनमा केन्द्रीत भइरहेका छन्, जहाँ ट्रम्पले सन् २०१६ को चुनावमा जम्मा शुन्य दशमलव ३ प्रतिशतले जितेका थिए । उक्त चुनावमा मिसिगनबाट ट्रम्पले ४७ दशमलव ६ र हिलारीले ४७ दशमलव ३ प्रतिशत मत ल्याएकी थिइन् । मतान्तर जम्मा १३ हजार ८० रहेको थियो । मिसिगनमा १६ इलेक्टोरल मत रहेको छ ।

त्यस्तै ट्रम्प पेन्सिलभेनियातिर अगाडि बढेका छन् । त्यहाँ सन् २०१६ को चुनावमा ट्रम्पले १ दशमलव २ प्रतिशतको अन्तरले चुनाव जितेका थिए । ट्रम्पले ४८ दशमलव ८ प्रतिशत र हिलारीले ४७ दशमलव ६ प्रतिशत मत ल्याएका थिए । अर्थात् मतान्तर जम्मा ६८ हजार २ सय ३६ मात्र रहेको थियो । पेन्सिलभेनियामा २० इलेक्टोरल मत रहेको छ ।

सन् २०१६ को चुनावमा न्यु ह्याम्पशायरमा जम्मा शुन्य दशमलव ४ प्रतिशतको अन्तरले हिलारी क्लिन्टनले जितेकी थिइन् । त्यहाँ मतान्तर २७ सय १ भोटको मात्र रहेको थियो । विसकन्सिनमा एकप्रतिशत भोटको अन्तरले ट्रम्पले जितेका थिए । मतान्तर २७ हजार २ सय ५७ रहेको थियो । न्यु ह्याम्पशायरमा ४ इलेक्टोरल मत रहेको छ ।

फ्लोरिडामा १ दशमलव २ प्रतिशत बढी भोटले ट्रम्पले जितेका थिए भने मिनेसोटामा १ दशमलव ५ प्रतिशत भोटको अन्तरले हिलारीले चुनाव जितेकी थिइन् । नेभाडामा २ दशमलव ४ प्रतिशत र मेनमा २ दशमलव ७ प्रतिशतको अन्तरले हिलारीले जितेकी थिइन् । फ्लोरिडामा २९ इलेक्टोरल मत रहेको छ ।

नर्थ क्यारोलिना र एरिजोनामा भने ट्रम्पले क्रमशः ३ दशमलव ८ र ३ दशमलव ९ प्रतिशतको अन्तरले चुनाव जितेका थिए । त्यहाँ १५ र ११ इलेक्टोरल मत रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com