उच्च स्तरका प्रभावशाली अमेरिकन राजनीतिज्ञहरुले आइतबार नेपाली अमेरिकनलाई सम्बोधन गर्ने


प्रकाशित मिति : आश्विन १, २०७७ बिहीबार

नेपाली अमेरिकनहरुको सहभागितामा पहिलो उच्चस्तरको राष्ट्रिय बहस आइतबार हुने भएको छ । सेप्टेम्बर २० आइतबार दिउसो ३ बजेदेखि (न्युयोर्क समय) हुने उक्त कार्यक्रममा अमेरिकी राजनीतिका प्रभावशाली व्यक्तित्वहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सिनेटर क्रिस भ्यान होलेन

भर्चुअल तरिकाले हुने उक्त कार्यक्रममा अमेरिकाका चर्चित सिनेटर क्रिस भ्यान होलेनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । होलेन टीपीएसवाहकलाई ग्रिनकार्डको बाटोमा लैजानुपर्ने विधेयक सेक्युअर एक्टका स्पोन्सरकर्ता हुन् । उनले सन् २०१९ मा पनि उक्त विधेयक पेश गरेका थिए भने त्यसयता लगातार त्यसका पक्षमा बोल्दै आएका छन् ।

सन् २००३ देखि सन् २०१७ सम्म अमेरिकाको प्रतिनिधिसभाको सदस्य रहेका उनी त्यसपछि मेरिल्याण्डराज्यबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्दै आएका छन् । अमेरिकी उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिसका निकटमित्र समेत रहेका उनले सन् २००८ को चुनावमा डेमोक्रेटिक कँग्रेसनल क्याम्पेन कमिटीको चेयर भएर चुनावमा राम्रो परिणाम ल्याउन भूमिका खेलेका थिए ।

सांसद लिण्डा सेन्चेज

त्यस्तै कार्यक्रममा क्यालिफोर्नियाबाट अमेरिकी प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद लिण्डा सेन्चेजले पनि सम्बोधन गर्ने जनाइएको छ । उनी सन् २०१७ देखि २०१९ सम्म हाउस डेमोक्रेटिक ककसकी भाइस चेयर समेत रहेकी थिइन् । उनी क्यालिफोर्नियाबाट प्रतिनिधिसभामा सन् २००३ देखि नै प्रतिनिधित्व गर्दै आएकी छिन् ।

बेल होङ

त्यस्तै एसियन अमेरिकन प्यासेफिक आइल्याण्डरकी चेयर तथा डेमोक्रेटिक नेशनल कमिटी सदस्य बेल होङ र डेमोक्रेटिक नेशनल कमिटी सदस्य रोबी लिओनार्डले समेत कार्यक्रममा सम्बोधन गर्ने भएका छन् । कार्यक्रमको संचालन मेरिल्याण्ड राज्यको संसदमा प्रतिनिधित्व गर्ने नेपाली अमेरिकन सांसद ह्यारी भण्डारीले गर्नेछन् ।

रोबी लिओनार्ड

अमेरिकाको राष्ट्रिय राजनीतिका प्रभावशाली व्यक्तिहरु सहभागी हुने यो कार्यक्रममा उपस्थीत हुन नेपाली अमेरिकनहरुलाई सांसद भण्डारीले आव्हान गरेका छन् । अमेरिकी राजनीतिज्ञहरुले नेपाली अमेरिकनलाई सम्बोधन गर्ने यो स्तरको सम्भवत पहिलो कार्यक्रम हो । यो राष्ट्रिय रुपमा उपस्थीति र शक्ति देखाउने प्लेटफर्म समेत भएकाले कार्यक्रम अर्थपूर्ण हुने विश्वास गरिएको छ ।

ह्यारी भण्डारी

यो कार्यक्रममा अमेरिकाका कुनै पनि राज्यमा बस्ने नेपालीहरु निशुल्क सहभागी हुन सक्नेछन् । कार्यक्रम नेपालिज अमेरिकन फर बाइडेन अभियानले आयोजना गरेको हो, जुन अभियानमा अमेरिकाका झण्डै २ दर्जन राज्यका नेपाली अमेरिकनहरु सहभागी छन् ।

कार्यक्रममा जुममार्फत सहभागी हुन सकिनेछ ।

सहभागिता जनाउन चाहनेहरुले यो लिंकमार्फत रजिस्टर समेत गर्न सक्नेछन् ।

सिट सिमित भएकाले पहिले नै रजिस्टर गरिएकाहरुलाई प्राथमिकता दिइनेछ । त्यो बाहेक सिधै जुममार्फत सहभागी हुनका लागि आईडी 2783 4245 865668049 पासवर्डको प्रयोग गर्न सकिनेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com