फ्लोरिडामा ट्रम्पबिरुद्ध बाइडेनलाई जीताउन ब्लुमबर्गले १ सय मिलियन खर्चिने


प्रकाशित मिति : भाद्र २८, २०७७ आईतबार

राष्ट्रपति चुनावमा फ्लोरिडामा डोनाल्ड ट्रम्पबिरुद्ध जो बाइडेनलाई जीताउन धनाढ्य ब्यापारी माइकल ब्लुमबर्गले १ सय मिलियन डलर खर्चिने भएका छन् । ब्याटलग्राउण्ड राज्यका रुपमा चिनिने फ्लोरिडाको चुनावी अभियानमा ब्लुमबर्गले उक्त रकम खर्चिने घोषणा गरेका हुन् ।

ब्लुमबर्गले बाइडेनलाई प्राइमरीमा पराजित गर्न झण्डै १ बिलियन डलर खर्चेका थिए । तर पछि ब्लुमबर्ग चुनावी मैदानबाट पछाडि हटेका थिए । ट्रम्पले भने फ्लोरिडामा पैसा खर्च गर्नुपर्ने भएमा आफ्नै पैसा खर्च गर्ने बताउँदै आएका छन् ।

अमेरिकाको राष्ट्रपति चुनाव जित्नका लागि आवश्यक पर्ने २७० इलेक्टोरल कलेज भोटर्समध्ये फ्लोरिडाबाट २९ भोट प्राप्त हुन्छ । डेमोक्रेटिक भूभाग क्यालिफोर्निया र रिपब्लिकन भूभाग टेक्सासमा क्रमश ५५ र ३८ भोट प्राप्त हुन्छ । फ्लोरिडामा कसले चुनाव जित्छ भन्ने आकलन गर्न गाह्रो छ । सन् २०१२ मा डेमोक्रेटिक उम्मेदवार बराक ओबामाले जितेका थिए भने २०१६ मा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले चुनाव जितेका थिए ।

अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।

५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ । धेरैजसो अमेरिकी राज्यले प्राय एउटै दलका उम्मेदवारहरुलाई जिताउने गरेपनि फ्लोरिडा, पेन्सिलभेनिया र ओहायोको महत्व भिन्न रहेको छ । यी राज्यहरुले राष्ट्रपतीय चुनावमा आफ्नो अभिमत बदल्दै आएका छन् । तीनको निर्णयले सबै चुनावी परिणाम बदल्न सक्ने भएकाले यी तीन राज्यलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।

सन् २०१२ को राष्ट्रपतीय चुनावमा बराक ओबामाले ३३२ इलेक्टोरल मत प्राप्त गरेका थिए भने मिट रोम्नीले २०६ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २००८ को राष्ट्रपतीय चुनावमा भने ओबामाले ३६५ इलेक्टोरल मत प्राप्त गरेका थिए । त्यतीबेला उनका प्रतिस्पर्धी जोन म्याकनले १७३ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २०१२ को चुनावसम्म आइपुग्दा ओबामाको लोकप्रियता कम भएको थियो ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com