फ्रान्समा राष्ट्रपतिका लागि कडा प्रतिस्पर्धा विजयनजिक म्याक्रों


प्रकाशित मिति : बैशाख १४, २०७४ बिहीबार

सीएनएन
फ्रान्समा राष्ट्रपतिका लागि भएको पहिलो चरणको निर्वाचनमा मध्यमार्गी धारका इम्यानुअल म्याक्रोंले सबैभन्दा बढी मत प्राप्त गरेका छन् । गणना गरिएको ९७ प्रतिशत मतमध्ये म्याक्रोंले २३।९ प्रतिशत प्राप्त गरेका हुन् । २१।४ प्रतिशत मत प्राप्त गरेकी कट्टर दक्षिणपन्थी मारिन ल पेनले दोस्रो स्थान बनाएकी छन् । पहिलो चरणमा सबैभन्दा बढी मत प्राप्त गरेका यी दुईबीच आगामी ७ मेमा अन्तिम प्रतिस्पर्धा हुनेछ ।

यो निर्वाचनले फ्रान्सको परम्परावादी राजनीति अस्वीकृत भएको देखाएको छ । ६ दशकयता दुई मुख्य राजनीतिक पार्टीका उम्मेदवार दोस्रो चरणमा पुग्न असफल भएको यो पहिलो पटक हो । निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व प्रधानमन्त्री फ्रास्वाँ फिलोँले १९।९४ प्रतिशत र ला फ्रान्स इन्सोमाइस पार्टीका जाँ–लक मेलान्चोँले १९।६२ मत प्राप्त गरेका छन् ।

वर्तमान राष्ट्रपति फ्रास्वाँ होल्यान्डको पार्टी समाजवादीले भने लज्जाजनक हार बेहोर्नुपरेको छ । उक्त पार्टीका उम्मेदवार बेनोट हयामोँले ६।३५ प्रतिशत मत मात्र पाएका छन् । उक्त पार्टी सन् २०१२ मा भएको निर्वाचनमा विजयी भएको थियो ।

निर्वाचनको परिणाम सार्वजनिक भएसँगै सोमबार बिहान फ्रान्सको स्टक मार्केटमा वृद्धि भएको छ भने युरो नोभेम्बरयता डलरको तुलनामा उच्च तहमा पुगेको छ । मत परिणामले युरोपलाई राहत पुगेको मानिएको छ । युरोपेली युनियनका प्रमुख बेक्जिट वार्ताकार मिसेल बार्नियरले म्याक्रोंलाई ‘देशभक्त’ भनेका छन् । जर्मन चान्सलर एन्जेला मर्केलका चिफ अफ स्टाफले मत परिणामले फ्रान्स र युरोपले एकसाथ जित हासिल गर्ने उल्लेख गर्दै भनेका छन्, ‘लोकप्रिय विचारभन्दा मध्यपन्थी धार मजबुत छ ।’
फ्रान्सका मूलधारका दलहरूले राष्ट्रपति निर्वाचनको दौडमा अग्रपंक्तिमा रहेका म्याक्रोंलाई समर्थन गरेका छन् । राष्ट्रपति फ्रास्वाँ होल्यान्डले आफूले म्याक्रोंलाई मत दिने बताएका छन् । प्रधानमन्त्री बर्नार्ड काजेनेभुले पनि टीटमा आफ्नो समर्थन म्याक्रोंलाई रहेको उल्लेख गर्दै दोस्रो चरणको निर्वाचनमा उनलाई समर्थन गर्न आहान गरेका छन् । फ्रान्सलाई पछिल्लो युगमा फर्काउने र फ्रान्सेली नागरिकलाई विभाजित गराउने खतरनाक योजनाविरुद्ध लड्न पनि म्याक्रोंलाई समर्थन आवश्यक रहेको उनले बताएका छन् । यस्तै, दोस्रो चरणमा पुग्न नसकेका रिपब्लिकन फ्रास्वाँ फिलोँ र समाजवादी बेनोट हामोनले पनि ७ मेमा हुने निर्वाचनमा म्याक्रोंलाई मत दिन समर्थकलाई आग्रह गरेका छन् ।

फिलोँले म्याक्रोंलाई समर्थन गर्दै भनेका छन्, ‘उग्रवादले बेखुसी मात्रै ल्याउँछ र फ्रान्सलाई विभाजित गर्छ ।’ उनले मारिन ल पेनको पार्टीलाई हिंसावादी र असहिष्णु भनी आलोचना पनि गरेका छन् । उनले ला पेनको आर्थिक र सामाजिक कार्यक्रमले देशलाई ‘दिवालिया’ बनाउने पनि बताएका छन् । ला पेनले आफू विजयी भएमा फ्रान्सको सीमा नियन्त्रण गर्ने र देशबाट युरो मुद्रा हटाउने या युरोपेली संघबाट आफ्नो मुलुकलाई बाहिर निकाल्न जनमत संग्रह गराउने बताएकी छन् । त्यसको आलोचना भएको थियो ।
फ्रान्सको राष्ट्रपतिको दौडमा विजयनजिक रहेका म्याक्रों परम्परागत राजनीतिमा ‘बाहिरका मानिस’ मानिन्छन् । उनी दशकौंदेखि फ्रान्सेली राजनीतिमा छाइरहेका पार्टीका सदस्य होइनन् । उनले गत सेप्टेम्बरमा मात्र ‘एन मार्चे’ नामक पार्टी गठन गरेका थिए, जसको अहिलेसम्म २ लाख सदस्य भइसकेका छन् । चुनावी सभाहरूमा पनि उनले मानिसलाई आकर्षित गर्न सफल भएका थिए । ३९ वर्षीय म्याक्रोँले राष्ट्रवादीलाई चुनौती दिँदै मध्यमार्गी अडानका कारण पुरातन पार्टीका समर्थकलाई आकर्षण गर्न सफल भएका छन् । उनले देशको अर्थतन्त्रलाई उकास्ने र सुरक्षा सुदृढ गर्ने प्रतिबद्धता जनाएका छन् । विजयी भएपछि समर्थकलाई सम्बोधन गर्दै उनले आफू सबै फ्रान्सेलीको राष्ट्रपति बन्न चाहेको बताएका छन् ।

म्याक्रों पूर्व बैंकर हुन् । उनी अगस्ट २०१४ देखि अगस्ट २०१६ सम्म फ्रान्सको अर्थमन्त्री भएका थिए । अप्रिल २०१६ मा उनले आफ्नो राजनीतिक अभियान ‘इन मार्स’ सुरु गरे ।

यसको चार महिनापछि सरकारबाट राजीनामा दिएर राष्ट्रपति चुनाव लड्ने घोषणा गरेका थिए । उनलाई राजनीतिमा फ्रास्वाँ होल्यान्डले नै ल्याएका थिए । उनलाई होल्यान्डको राजनीतिक उत्तराधिकारीका रूपमा समेत हेरिएको थियो । तर, कसैलाई पनि उनले यति चाँडो राष्ट्रपतिको दौडमा सबैभन्दा अग्रस्थानमा रहलान् अनुमान गरेका थिएनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com