पहिले नै अन्तरवार्ता भइसकेका वा तय भएका २०२० का डिभी विजेतालाई भिसा दिइने


प्रकाशित मिति : भाद्र २४, २०७७ बुधबार

अमेरिकी सरकारको विदेशमन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्स आज एक सुचना जारी गर्दै पहिले नै अन्तरवार्ता भइसकेका वा तय भएका सन् २०२० का डिभी विजेतालाई भिसा दिइने स्पष्ट पारेको छ । अमेरिकाको संघीय अदालतले सन् २०२० को डिभी विजेताहरुलाई भिसा नरोक्न आदेश दिएपछि अमेरिकी सरकारले यो कदम चालेको हो ।

मुद्दाका वादीहरुलाई पहिलो प्राथमिकता दिइने भएको छ भने पहिले नै भिसा अन्तरवार्ता भइसकेका तर भिसा जारी हुन बाँकी रहेकाहरुलाई दोश्रो प्राथमिकता दिइने भएको छ । यस अन्तरगत विगतको भिसा अस्वीकृतिलाई जित्न चाहेका, प्रशासनिक प्रकृयामा रहेका र पुन भिसा जारी हुनका लागि पर्खेकाहरुलाई प्राथमिकता दिइनेभएको छ ।

त्यसपछि मार्च, अप्रिल र मे महिनामा अन्तरवार्ताको मिति तय भएका तर कोरोना महामारीका कारण अन्तरवार्ता दिन नपाएकाहरुलाई तेश्रो प्राथमिकता दिइने भएको छ । यीबाहेकका भिसा प्रकृया अगाडि बढाइसकेपछि अरु आवेदनहरु अगाडि बढाउनका लागि कन्सुलेटमा क्षमता भएको खण्डमा अन्य आवेदनलाई समेत अगाडि बढाइने जनाइएको छ ।

सन् २०२० को डिभी लोटरी जितेकाहरुले यही सेप्टेम्बर ३० भित्र भिसा प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ । तर राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले गत अप्रिलदेखि सन् २०२० का डिभी विजेताहरुलाई भिसा प्राप्त गर्नमा रोक लगाएको थियो । अब झण्डै २० दिनमात्र बाँकी रहेको अवस्थामा अमेरिकी विदेशमन्त्रालयको योजनालाई अमेरिकी दूतावास र कन्सुलेटहरुले कसरी कार्यान्वयन गर्छन् त्यो भने हेर्न बाँकी रहेको छ ।

अमेरिकी विदेश मन्त्रालयबाट प्रकाशित सुचनाको पूर्ण पाठ

विश्वका अधिकांश अमेरिकी दूतावासहरु कोरोना महामारीका कारण सिमित सेवाका साथमामात्र संचालनमा रहेका छन् । अधिकांश दूतावासहरुमा नियमित भिसा सेवा स्थगित गरिएको छ । काठमाडौंमा रहेको अमेरिकी दूतावासमा पनि नियमित भिसा सेवा अबरुद्ध रहेको छ ।

त्यस्तै राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश डिसेम्बर ३१ सम्मका लागि रहेकाले डिभी २०२० का विजेताहरुले भिसा प्राप्त गरेपनि डिसेम्बर ३१ सम्ममा अमेरिका आउनमा भने रोक लाग्नसक्ने विदेश मन्त्रालयले जनाएको छ । डिभी विजेताहरुले ट्रम्पको कार्यकारी आदेशमा दिइएको छुट प्राप्त नगरेसम्म भिसा प्राप्त गरेपनि डिसेम्बर ३१ अगाडि अमेरिका आउन नसक्ने जनाइएको छ ।

आगामी डिसेम्बर ३१ अगाडि नै भिसाको म्याद सकिने डिभी विजेताहरु उक्त भिसामा अमेरिका आउन नसक्ने जनाइएको छ । त्यस्तै सन् २०२० को सेप्टेम्बर ३० पछि २०२० का डिभी विजेताहरुलाई नयाँ भिसा जारी गर्न नसकिने पनि विदेशमन्त्रालयले स्पष्ट पारेको छ ।

अप्रिल २३ भन्दा अगाडि नै भिसा प्राप्त गरेका तर अमेरिका आउन नसकेकाहरुलाई भने राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशले कुनै असर गर्नेछैन । उनीहरुको भिसा समाप्त भएको खण्डमा सेप्टेम्बर ३० भन्दा अगाडि नयाँ भिसा समेत जारी गर्न सकिनेछ । र उनीहरु डिसेम्बर ३१ भन्दा अगाडि नै अमेरिका आउन सक्नेछन् ।

पहिले नै अन्तरवार्ता तय भएका तर कोरोनाको कारण अन्तरवार्ता दिन नसकेकाहरुलाई सिधै दूतावासमा सम्पर्क गर्न सुझाव दिइएको छ । यदि कुनै कन्सुलेटले कोरोनाको महामारीका कारण भिसा प्रकृयामा लैजान नसकेको खण्डमा आवेदकले अर्को कन्सुलेटमा वा पोष्टमा सार्नका लागि समेत अनुरोध गर्नसक्नेछन् । आवेदकले आफूले चाहेको पोष्टमा सिधै सम्पर्क गरेर समेत सार्नसक्ने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com