नतिजा अनिश्चित हुने मुख्य ६ ‘ब्याटलग्राउण्ड’ राज्यमा बाइडेनको अग्रता


प्रकाशित मिति : भाद्र २४, २०७७ बुधबार

अमेरिकी राष्ट्रपति चुनावमा कैयन राज्यको नतिजा लगभग निश्चित जस्तै हुनेगर्छ । किनभने ती राज्यहरुमा बर्षौदेखि एउटै राजनीतिक दलका उम्मेदवारहरुले जित्दै आएका छन् ।

तर केही यस्ता राज्यहरु पनि छन्, जहाँ नतिजा अनुमान गर्न गाह्रो हुन्छ । त्यहाँ कहिले रिपब्लिकनले जितेका हुन्छन् तर कहिले डेमोक्र्याट्सले । यस्तै नतिजा अनिश्चित हुने मुख्य ६ वटा राज्यमा गरिएको एउटा सर्वेक्षणमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनको अग्रता देखिएको छ ।

चेन्ज रिसर्च र सीएनबीसीले गरेको सर्वेक्षणमा एरिजोना, फ्लोरिडा, मिसिगन, नर्थ क्यारोलिना, पेन्सिलभेनिया र विसकन्सिनमा बाइडेनको अग्रता देखिएको हो । यी राज्यहरुलाई ब्याटलग्राउण्ड राज्यहरुका रुपमा समेत चिनिन्छ ।

एरिजोना, फ्लोरिडा, मिसिगन, नर्थ क्यारोलिनामा बाइडेनका पक्षमा ४९ प्रतिशतसम्म मतदाताहरु देखिएका छन् भने रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पका पक्षमा ४३ देखि ४६ प्रतिशतसम्म मतदाताहरु देखिएका छन् । पेन्सिलभेनिया र विसकन्सिनमा बाइडेनका पक्षमा ५० प्रतिशतसम्म र ट्रम्पका पक्षमा ४६ र ४४ प्रतिशत मतदाताहरु देखिएका छन् ।

शुक्रबारदेखि आइतबारसम्म गरिएको सर्वेक्षणमा ४१ सय ४३ जना सम्भावित मतदाताहरु सहभागी भएका थिए । ब्याटलग्राउण्ड राज्यहरुका मतदाताहरुको मनस्थीति गत दुईसातामा खासै परिवर्तन भएको देखिन्न ।

सर्वेक्षणमा सहभागीहरुलाई मुलुकले सामना गरिरहेका मुख्य तीनवटा समस्याहरु छनौट गर्न भनिएको थियो । ४३ प्रतिशतले अर्थतन्त्र, जागिर र जीवनयापनको खर्च छनौट गरेका छन् । ३८ प्रतिशतले राजनीतिक भ्रष्टाचार र ३५ प्रतिशतले कोभिड १९ छनौट गरेका छन् । त्यस्तै २९ प्रतिशतले नीति नियम र २७ प्रतिशतले विभेदलाई समस्याका रुपमा छनौट गरेका छन् ।

अमेरिकी राष्ट्रपति चुनाव आउन अब ५४ दिनमात्र बाँकी रहेको छ । यो अवस्थामा अमेरिकामा चुनावी सरगर्मी पनि बढेको छ । कोरोनाको महामारीका कारण विगतका चुनावमा जस्तो चहलपहल नभएपनि विश्वभरबाट नै अमेरिकाको चुनावलाई महत्वका साथ हेरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com