गोल्डेन एप्पल खेती विस्तार हुँदै


प्रकाशित मिति : भाद्र २४, २०७७ बुधबार

गोल्डेन एप्पलको नामले चर्चा पाए पनि रोगले सखाप पारेपछि पहिचान गुमाएको सिन्धुपाल्चोकको हेलम्बुमा पुनः स्याउखेती विस्तार गरिने भएको छ । हेलम्बुलाई स्याउ क्षेत्र बनाउने लक्ष्यका साथ खेतीको विस्तार गरिने कार्यक्रम राखिएको छ ।

गत वर्ष हेलम्बु गाउँपालिकाले रु चार लाख लगानी गरी किसानलाई ५० प्रतिशत अनुदानमा इटालीबाट झिकाई दुई सय स्याउका बोट रोपिएको चार महिनामै असोजमा फल्न शुरु गरेको थियो । गोल्डेन बोलिसेस, फुजी र गाला प्रजातिका स्याउका बोट कलमी भएकाले औसतमा होचो हुन्छ । फलेका स्याउ बजारमा पाइनेभन्दा निकै स्वादिलो रहेको कृषि प्राविधिकको जिकिर छ । यस वर्ष करीब चार सय किलोग्राम स्याउ फल्ने पालिकाका पशु तथा कृषि शाखा प्रमुख टोपबहादुर बरुवालले बताए ।

विदेशबाट झिकाइएका बिरुवा वडा नं १ को हेलम्बु, वडा नं २को किउल र वडा नं ५ को महाङ्कालमा लगाइएको छ । त्यसबाट राम्रो प्रतिफल दिन थालेपछि यस वर्ष पनि रु एक लाख ७५ हजार लगानी गरी ७५ प्रतिशत अनुदानमा थप दुई सय बिरुवा झिकाई रोपिएका छन् । करीब २६ रोपनी क्षेत्र स्याउको बिरुवाले ढाकेको छ । प्रत्येक वर्ष विस्तार गरिँदै लाने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । त्यहाँ उत्पादित स्याउ हाल स्थानीयस्तरमा खपत हुने बताइएको छ ।

नेपालमा स्याउको उत्पादन नभएका समयमा विसं २०३० सालमा हेलम्बुमा गोल्डेन स्याउले निकै चर्चा कमाएको थियो । त्यहाँका अधिकांश व्यक्ति रोजगारीका लागि भारत जाने र घर फर्कने समयमा काश्मिरबाट स्याउका बिरुवा ल्याएर रोप्ने गरेका थिए । परीक्षणका रुपमा रोपिएका बिरुवाले राम्रो उत्पादन दिन थालेपछि कृषकले उत्साहित हुँदै ऋृण गरेर थप बिरुवा लगाएका थिए ।

तत्कालीन समयमा यातायातको सुविधा नहुँदा पनि ज्यामीद्वारा ढुवानी गरी उत्पादित स्याउ राजधानीसम्म पुग्ने गरेको स्थानीयवासी अझै सम्झने गर्छन् । यसरी राम्रो उत्पादन दिँदादिँदै केही वर्षपछि झ्याउ जस्तो लहराले क्रमशः बोट सुक्न थालेपछि नियन्त्रण हुनै नसकी २०४० सालमा आइपुग्दा स्याउका बोटको नामोनिशान हराएको स्थानीय किसान दुःखेसो सुनाउँछन् ।

लामो समयको अन्तरालपछि २०६९ सालमा केही स्थानीयवासीले आफ्नै पहलमा भारतका हिमाञ्चल प्रदेश र त्यसअन्तर्गत सिमलाबाट स्याउका बिरुवा पुनः ल्याएर रोपेका थिए । हेलम्बुको मेलम्चीघ्याङ आसपासका गाउँमा रोपिएका ती बोटले उत्पादन दिन थालिसकेका छन् । यस वर्षदेखि स्याउ किसानको समूह बनाई गोडमेल, मलखाद, औषधोपचार तथा अनावश्यक हाँगा काँटछाँट जस्ता सामान्य प्राविधिक ज्ञानका बारेमा तालीम दिने कार्यक्रम रहेको कृषि शाखा प्रमुख बरुवालले जानकारी दिए । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com