स्टेरोइड औषधी कोरोनाबिरुद्धको उपचारका सफल, प्रयोग गर्न विश्व स्वास्थ्य संगठनको सिफारिस
प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार
कोरोनाबिरुद्धको उपचारका लागि स्टेरोइड औषधीप्रति विश्व स्वास्थ्य संगठनले सशक्त समर्थन गरेको छ । अत्यन्तै सस्तो र सर्वसुलभ यो औषधीको प्रयोगले कोरोना संक्रमणबाट सिकिस्त बिरामीको मृत्युदर २० प्रतिशतसम्म कम गर्ने लगायतका अन्य फाइदा पुष्टी भएको अध्ययनको पुनरावलोकन पछि विश्व स्वास्थ्य संगठनले यो औषधीको प्रयोगको सशक्त समर्थन गरेको हो ।
कोरोना संक्रमितको उपचारमा सिकिस्त बिरामीहरुमाथि प्रभावकारी परिणाम देखाउन सफल पहिलो स्टेरोइड औषधी डेक्सामेथासोन रहेको थियो । विश्व स्वास्थ्य संगठनले सिकिस्त बिरामीका सन्दर्भमा डाक्टरहरुलाई स्टेरोइड औषधीको प्रयोग गर्न सिफारिस गरेको छ ।
अमेरिकाको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले समरको सुरुतिर कोरोना संक्रमणबाट सिकिस्त भई भेन्टिलेटरमा पुगेका वा अक्सिजन दिनुपर्ने अवस्थामा पुगेका बिरामीलाई सिन्थेटिक स्टेरोइड औषधी डेक्सामेथासोनको प्रयोग गर्न सिफारिस गरेको थियो । विश्व स्वास्थ्य संगठनले पनि अहिले यस्तै सिफारिस गरेर यही लाइनमा उभिएको छ ।
तीनवटा क्लीनिकल ट्रायल र विश्व स्वास्थ्य संगठनको सुक्ष्म विश्लेषणपछि सिकिस्त बिरामीलाई यो औषधी दिने निष्कर्ष निकालिएको हो । अर्को स्टोरोइड हाइड्रोकोर्टीसोनपनि कोराना संक्रमित बिरामीको उपचार र जीवन रक्षाका लागि उपयोगी ठानिएको छ ।

बिरामीलाई यो औषधी दिन नहुने बलियो कारण नहुँदासम्म सिकिस्त बिरामीहरुलाई कोर्टिकोस्टेरोइड औषधी दिन सिफारिस गरिएको छ । यदि यो औषधी दिइएको खण्डमा हरेक १ हजार बिरामीहरुमा ८७ जनाको कम मृत्यु हुने विश्व स्वास्थ्य संगठनले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
बुधबार प्रकाशित तीनवटा परीक्षण नतिजामा आईसीयुमा राखिएका बिरामीबारेको तथ्यांक उल्लेख गरिएको छ । एउटा परीक्षणमा ब्राजिलमा २९९ बिरामीहरुमा डेक्सामेथासोनको प्रयोग गरिएको थियो । अर्कोमा फ्रान्समा ७६ बिरामीमा हाइड्रोकोर्टीसोन प्रयोग गरिएको थियो । तेश्रोमा हाइड्रोकोर्टीसोन नै अमेरिका र अन्य ७ देशमा ३७९ बिरामीमा परीक्षण गरिएको थियो ।
यी औषकीको प्रयोगले मँहगो एन्टीभाइरल औषधी रेम्डिसिभियरको अभाव हुन नदिन मद्दत पुग्ने अपेक्षा गरिएको छ । तत्कालका लागि डेक्सामेथासोन उपलब्ध नभएमा मिथाइलप्रेड्नीसोलोनको प्रयोग गर्न सिफारिस गरिएको छ ।
