कोरोना महामारीका कारण छुटेको कुकुरको मालिकलाई भेट्न १० हजार माइलको यात्रा


प्रकाशित मिति : भाद्र १७, २०७७ बुधबार

सानो कुकुर पिप्सक्वेक महामारीको बीचमा साउथ क्यारोलिनमा छुट्यो । पिपका मालिकहरु कोरोनाको महामारीका बीचमा आफ्नो घर अष्ट्रेलिया जानुपर्ने बाध्यता आएपछि पिप अमेरिकामा नै छुटेको हो ।

महामारीले छिट्टै अष्ट्रेलियाको सिमा बन्द हुन लागेको थियो । त्यसैले कुकुरका मालिक जो र गाइ एल्बेक आफ्ना छोराहरु क्याम र म्याक्ससँगै ४८ घण्टाभित्र अष्ट्रेलिया फर्कनुपर्ने भयो । अष्ट्रेलियामा घरपालुवा जनावरहरु ल्याउँदा अपनाउनुपर्ने कडा नियमका कारण उनीहरुले सानो कुकुर पिपलाई साथमा लैजान सकेनन् ।

अन्तिममा उनीहरुले कुकुरलाई एकजना साथीको जिम्मा लगाएर अमेरिका छाड्नुपर्यो ।

एल्बेक परिवारको भेट उक्त कुकुरसँग सन् २०१८ मा सिसिलीको मसिनामा भएको थियो । त्यसपछि एल्बेक परिवारले कुकुरलाई पालेको थियो ।

गत मार्च २७ मा एउटा गाडी भाडामा लिएर एल्बेक परिवारले ८ घण्टाको यात्रा गरेर कुकुरलाई साथीको जिम्मा लगाउन गएकी थिइन् । विगतमा पानीजहाजमा परिवारसँग शयर गर्दै आएको कुकुर साथीको भैंसीगोठमा बस्नुपर्ने अवस्था आएको थियो ।

अष्ट्रेलिया फर्केपछि पनि एल्बेक परिवारले कुकुरलाई बिर्सन सकेन । उनीहरुले साउथ प्यासेफिक आइल्याण्ड हुँदै आउने उडानमा कुकुरलाई अष्ट्रेलिया ल्याउने योजना बनाएका थिए ।

यता अमेरिकामा एल्बेकका साथी विलियम्ससँग पहिले नै दुईवटा कुकुर भएकाले पिपलाई धेरैलामोसमय राख्न सम्भव थिएन ।

विलियम्सले पिपलाई पाल्ने व्यक्तिको खोजी गर्दै विज्ञापन गरिन् । नर्थ क्यारोलिनाको हिल्सबोरोमा बस्ने एलेन स्टेनबर्गले विज्ञापन देखेपछि कुकुर आफूले पाल्ने इच्छा व्यक्त गर्दै विलियम्सलाई सम्पर्क गरिन् । त्यसपछि पिपलाई स्टेनबर्गले घरमा ल्याइन् ।

डुंगामा बसिरहेको एउटा परिवारले सानो कुकुर पिपलाई त्यागेर अष्ट्रेलिया फर्केको सुन्दा सुरुमा दुख लागेपनि उनीहरुले कुन अवस्थाका कारण कुकुरलाई लैजान सकेका थिएनन् भन्ने थाहा पाउँदा आफूले उनीहरुलाई नराम्रो ठानेकोमा स्टेनबर्गलाई पछुतो लागेको बताइन् ।

स्टेनबर्गले कुकुरलाई पालिरहँदा अष्ट्रेलियामा रहेका कुकुर मालिक एल्बेक परिवारले कुकुर ल्याउन कागजी प्रकृया सुरु गरे । अमेरिकाबाट अष्ट्रेलिया कुकुर लैजानका लागि धेरै र झन्झटिलो कागजी प्रकृया भएकाले यसका लागि कैयन दिन लाग्यो । यो अवधिमा उनले सानो कुकुर पिपका कैयन तस्वीरहरु सामाजिक सञ्जालमा समेत पोष्ट गरिन् ।

तर पछि अमेरिकामा लगाइएको यात्रा प्रतिबन्धका कारण एल्बेक परिवारलाई कुकुर लिनका लागि अमेरिका फर्कन सम्भव भएन । सानो कुकुर पिपले अष्ट्रेलियासम्मको लामो यात्रा एक्लै तय गर्नुपर्ने भयो ।

अमेरिकाबाट अष्ट्रेलिया कुकुर लैजानका लागि कुकुरको स्वास्थ्य राम्रो भएको अमेरिकी प्रमाणपत्रको आवश्यकता थियो । रेबिज नभएको लगायतका प्रमाणका लागि रगतको परीक्षण समेत आवश्यक थियो ।

सबै काम न्युयोर्कमा गर्न सुरु गरिएको भएतापनि कोरोनाको महामारीले सबै बन्द भएकाले निकै मुस्किल भयो । अमेरिकामा कुकुरलाई पालिरहेकी स्टेनबर्गले पनि सानो कुकुर पिपलाई पशुअस्पताल लैजाने, भ्याक्सिन लगाउने र रगत परीक्षण गर्ने लगायतका कामहरु गरिरहेकी थिइन् ।

जब उनीहरुले कुकुर ल्याउनका लागि अष्ट्रेलियाबाट अनुमति प्राप्त गरे । तब अष्ट्रेलियामा अमेरिकाबाट उडान भर्ने क्वान्टास एयरलाइन्सले अष्ट्रेलियामा कुकुरलाई आफ्नो उडानमार्फत ल्याउन नसक्ने घोषणा गर्यो ।

त्यसपछि एल्बेक परिवारले आफ्नो कुकुरलाई न्युजील्याण्डको बाटोहुँदै ल्याउने प्रयास थाले । त्यसपछि घरपालुवा जनावरको आयातनिर्यात गर्ने कम्पनी जेटपेटमार्फत लस एन्जलसबाट न्युजील्याण्डमा कुकुर ल्याउने बन्दोबस्त गरे ।

तर कुकुरलाई नर्थ क्यारोलिनबाट लस एन्जलससम्म लैजान अर्को समस्या थियो । उडानहरु चलिरहेपनि लगातार रद्द समेत भइरहेका थिए । कैयन एयरलायन्सले मे महिनादेखि सेप्टेम्बरसम्म कुकुर नबोक्ने बताएपछि अर्को समस्या खडा भएको थियो ।

एल्बेक परिवारले अमेरिकाको पूर्वी क्षेत्रबाट पश्चिमी क्षेत्रमा यात्रा गर्ने कोही व्यक्ति छ कि भनेर सामाजिक सञ्जालमा पोष्ट गरे । त्यो कुरा कुकुरको उद्दार गर्ने एउटा फाउण्डेशनमा काम गर्ने मेलिसा योंगले देखेपछि सानो कुकुर पिपलाई नर्थ क्यारोलिनाबाट क्यालिफोर्निसम्म लैजाने बन्दोबस्त भयो ।

क्यालिफोर्नियामा कुकुरलाई आयातनिर्यात कम्पनी जेटपेटलाई जिम्मा लगाइयो । कागजीप्रकृयाका लागि रातभर खर्च गरेपछि अन्तत कुकुरलाई न्युजील्याण्डको उडानमा राख्ने सहमति भयो ।

गत जुलाई २३ मा सानो कुकुर पिप न्युजील्याण्डमा अवतरण गर्यो । त्यसपछि १० दिनसम्म क्वारेन्टीनमा राखियो । विदेशबाट आएका सबै कुकुरलाई अष्ट्रेलियामा १० दिन क्वारेन्टीनमा राख्नुपर्ने नियम रहेको छ ।

कुकुरलाई अगस्त ३ मा सिड्नीको उडान तय भएको थियो । तर त्यहाँ कोरोनाको संक्रमण पुन फैलिएको भन्दै कडा लकडाउन सुरु गरियो । एल्बेक परिवारका एकजना आफन्तले कुकुरलाई मेलबर्नका केहीसमय पालिदिने सहमति जनाए । त्यसपछि मेलबर्न ल्याउनका लागि उडान बुक गर्न थालियो । कम्तीमा ४ वटा उडानबाट ल्याउन खोजिएकोमा ४ वटै उडानहरु रद्द भए ।

स्थानीय संचारमाध्यममा कुकुरको समाचारहरु आउन थाले । त्यसपछि भर्जिन अष्ट्रेलियाले उक्त कुकुरलाई आफ्नो उडानमार्फत सिड्नी ल्याइदिन सहमति जनायो ।

अगस्त ११ मा अन्तत सानो कुकुर पिप सिड्नी एयरपोर्टमा अवतरण गर्यो । अमेरिकामा छुटेको झण्डै ५ महिनापछि पिप घर फर्कन सफल भएको थियो । एल्बेक परिवार कुकुरलाई स्वागत गर्न विमानस्थलमा पुगेको थियो । त्यहाँ फिल्म टोली र पत्रकारहरु पनि पुगेका थिए ।

यो एउटा अत्यन्तै भावनात्मक पुनर्मिलन रहेको थियो ।

एल्बेक परिवारलाई कतै ५ महिनाको अवधिमा कुकुरले आफूहरुलाई बिर्सेको पो छ कि भन्ने लागेको थियो । तर जब कुकुरले एल्बेक परिवारको आवाज सुन्यो, दौडदै आएर उनीहरुको अंगालोमा लुटपुटियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com