‘सयौं डाँडा काट्दै आएँ’ : परदेशीको व्यथा समेटिएको पासाङ शेर्पाको नयाँ गीत


प्रकाशित मिति : भाद्र १५, २०७७ सोमबार

अमेरिकाको न्युयोर्क निवासी गीतकार पासाङ शेर्पाको नयाँ गीत ‘सयौं डाँडा काट्दै आएँ’ सार्वजनिक भएको छ । परदेशीको व्यथा समेटिएको यो गीतमा ९ महिना हिडेर अमेरिकाजस्ता मुलुकहरुमा आउनेहरुको पीडालाई देखाउने प्रयास गरिएको छ ।

यो गीतमा स्वर बिक्रम बरालले दिएका छन् । बराल नेपाल आइडल २ का उपविजेता हुन् । उनले नेपाल आइडलमा भर्सटायल गायकको उपाधी पाएका थिए । हरि लम्सालको संगीत रहेको यो गीतको एरेन्ज रिकेश गुरुङले गरेका छन् । रेकर्डिस्ट राजबाबु चौधरी र अजय कार्की हुन् । गीतमा मिक्सिङ र मास्टरिङ चन्द्र चौधरीले गरेका छिन् ।

परदेशीको पीडा

गीतको भिडियोमा गौरव पहाडी र वर्षा राउतलाई देख्न सकिन्छ । परदेशीकै पीडा समेटिएको गौरव पहाडीले अभिनय गरेको गीत ‘सुन साईंली’ निकै चर्चित भएको थियो । उक्त गीतमा खाडी मुलुकमा जानेहरुको व्यथालाई समेट्न खोजीएको थियो भने यो गीतमा युरोप अमेरिकाजस्ता देशमा आउनेको व्यथा समेटिएको छ ।

गीतको निर्देशन निकेश खड्काले गरेका छन् भने गीतको अवधारणा र कथा गीतकार शेर्पाकै हो । भिडयो बुद्ध थापा र इश्वर थापाले खिचेका छन् । भिडियोमा ९ महिना हिडेर विदेश आएको, कागजपत्रका लागि दौडधुप गरेको लगायतका दृश्यहरु देखाइएको छ । भिडियो नेपाल र क्यानडामा छायांकन गरिएको छ ।

‘हामी खुशीका लागि विदेश भौतारिन्छौं । तर विदेशमा सुख मिल्ला तर खुशी आफ्नै देशमा मिल्छ । ढिंडो नै खाएपनि आफ्नै देशमा जस्तो खुशी विदेशमा हुँदैन । गीतमार्फत यो कुरा देखाउन खोजेको छु ।’ –  गीतकार पासाङ शेर्पाले भने ।

गीतकार पासाङ शेर्पा

रिलिज भइसकेको छैठौं गीत

यो गीत शेर्पाको रिलिज भइसकेको छैठौं गीत हो । तर उनका झण्डै आधादर्जन गीतहरु या त रेकर्ड भएर रिलिज गर्न बाँकी छन् या त रेकर्डका क्रममा छन् । उपयुक्त समय आएपछि रिलिज गर्दै जाने शेर्पाको योजना छ ।

‘सुरुमा त परम्परागत एल्बम निकाल्ने योजना थियो । तर अहिले डिजिटलको जमाना आइसकेकाले एल्बम पनि डिजिटलै हुन्छ होला । एउटा एउटा गर्दै रिलिज भएपनि राम्रा गीतहरु समेटेको एउटा कलेक्सन चाँही निकाल्छु होला ।’ –  गीतकार शेर्पाले भने ।

पहिलो गीत झण्डै २१ बर्ष अगाडि

गीतकार शेर्पाको पहिलो गीत झण्डै २१ बर्ष अगाडि रेकर्ड भएको थियो । ‘तल पर्यो सल्लेरी माथि नाम्चे गाउँ’ बोलेका उक्त गीत लाक्पा शेर्पाले गाएका थिए । उक्त गीत निकै चर्चित गीत समेत हो ।

‘त्यतीबेला त म कलेजमा पढ्थें । लहडमै गीत लेखियो तर गीत चर्चित भएपनि निकै उत्साहित भएको थिएँ ।’ –  शेर्पाले सुनाए ।

त्यसपछि लामो समय उनले गीत निकाल्न सकेनन् । सन् २००४ को डिसेम्बरमा अमेरिका आएपछि उनी आफैले पनि एउटा परदेशीले भोग्ने समस्याहरु भोगे । विभिन्न खाले संघर्षहरु गरे । अमेरिकामा आएर कपाल काट्ने काम सुरु गरे ।

सन् २०१२ मा उनले न्युयोर्कको ज्याक्सन हाइटमा पासाङ स्ट्राइकिङ स्टाइल खोले । अहिले उनी न्युयोर्कका चर्चित नेपाली हेयर स्टाइलिस्ट हुन् । उनको पासाङ स्ट्राइकिङ अहिले ब्राण्डको रुपमा स्थापित भएको छ ।

विगतका गीत पनि चर्चित

पासाङ शेर्पाले लेखेका ‘साँझ ढलेको थाहा पाइन’ र ‘नरोउ तिमी’ लगायतका गीतहरु निकै चर्चित छन् । नरोउ तिमी बोलको गीत युट्युबमामात्र ७ मिलियन भन्दा धेरैपटक हेरिएको थियो ।

नयाँ गीतबाट पनि आफू निकै आशावादी र उत्साहित भएको शेर्पा बताउँछन् । उनी भन्छन् – ‘आशा छ यो गीतलाई पनि दर्शकले रुचाउनुहुनेछ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com