राष्ट्रकवि घिमिरेको निधनमा प्रधानमन्त्रीलगायत विश्वभरका नेपालीहरुबाट शोक र श्रद्धाञ्जली


प्रकाशित मिति : भाद्र २, २०७७ मंगलबार

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएकोमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत विश्वभरका नेपालीहरुले शोक व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन् । लम्जुङको पुस्तुन गाउमा १९७६ साल असोज ७ गते जन्मिनुभएका घिमिरेको १ सय १ वर्षको उमेरमा  मंगलबार साँझ ५ : ५५ बजे आफ्नै निवासमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको बतानुभएको छ।

उहाँले ट्वीटरमार्फत भन्नुभएको छ – ‘साहित्य मार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन्।शोकको यस क्षणमा म उहाँप्रति उच्च सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्दछु ।साथै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुनुहुन्थ्यो । उहाँले बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आउनुभएको थियो ।

प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उहाँका लेखाइहरु दीर्घसाधनाले भरिएका छन्। उहाँले वि.सं. १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाउनुभएको थियो । उहाँका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नर-किन्नरी (वि.सं. २०३३) जस्ता कवितासङ्ग्रह सङ्कलित छन्। उहाँलाई ‘राष्टकवि’ को उपाधिले सम्मान गरिएको छ।

उहाँ जन्मिएको तीन वर्षमा आमा गुमाउनुपरेको थियो । ६ वर्ष हुँदा अक्षर चिन्नुभएका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गर्नुभयो । ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा (लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उहाँले प्रथमा उत्तीर्ण गर्नुभयो । त्यसपछिको अध्ययनका लागि उहाँ बनारस जानुभयो । उहाँले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गर्नुभयो ।

१४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकमा वि.सं. १९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गर्नुभएका घिमिरे वि.सं. २००५ सालमा गोरखापत्रमै सह(सम्पादकको जागिरे पनि हुनुहुन्थ्यो ।  बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि।सं। १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा र वि.सं. २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गर्नुभयो । त्यसपछि २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य हुनुभयो ।

वि.सं. २००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न हुनुभयो ।

चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरे का अन्य चर्चित गीतहरूमा ‘फूलको थुङ्गा बगेर गयो’ तारादेवी तथा ‘आजै र राति के देखेँ सपना’ नारायण गोपालले गाएका छन्। उहाँ वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय हुनुभयो ।

वि.सं. २००४ सालमा  जीवनसंगिनी गौरीको निधन भयो।गौरी राष्ट्रकवि माधव घिमिरेद्वारा लेखिएको शोककाव्य हो। साझा प्रकाशनले वि.सं. २०१५ सालमा प्रकाशित गरेको यस काव्यमा १२ उपशीर्षकमा लेखिएका कविताहरू संग्रहित छन्।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com