अझै पुगेन २७ जिल्लामा अद्यावधिक नक्सा


प्रकाशित मिति : श्रावण २४, २०७७ शनिबार

सरकारले गत जेठ ५ गते अद्यावधिक नक्सा जारी गरेपछि नापी विभागले ४० हजार नयाँ नक्सा वितरण गरे पनि दुुर्गम जिल्लामा नक्सा पुुग्न सकेका छैनन् । विभागले ६० हजार नयाँ नक्सा छपाइ गरेको र त्यसमध्ये ४० हजार नयाँ नक्सा वितरण गरिसकेको हो । हालसम्म विभागले ५० वटा जिल्लामा नयाँ नक्सा पुर्याइसकेको छ भने बाँकी २७ जिल्लामा अझै नक्सा पुुग्न सकेका छैनन् । दुर्गम जिल्लामा भने कोरोना भाइरस (कोभिड–१९) र यातायातको असुविधाका कारण पुर्याउने क्रममा रहेको जनाइएको छ ।

विभागले हालसम्म सङ्घीय सरकारका सबै मन्त्रालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सातवटै प्रदेश सरकारका मन्त्रालय, विभाग, ७५३ वटै स्थानीय तहको कार्यालयमा नयाँ नक्सा पुर्याइएको जनाएको छ । त्यसैगरी सबै संवैधानिक निकाय, न्यायालय, त्रिभुवन विश्वविद्यालय, बैङ्क, सुरक्षा निकायमा नयाँ नक्सा पुर्याइएको छ ।

विभागले कतिपय कार्यालयमा विभागका आफ्नै कर्मचारी पुगेर नक्सा वितरण गरेका छन् भने अधिकांश कार्यालयमा भने जिल्लास्थित नापी कार्यालय मार्फत र स्थानीय तह र तिनका वडामा सम्बन्धित प्रदेश सरकार मार्फत नयाँ नक्सा पुर्याइएको जनाएको छ । जिल्लास्थित नापी कार्यालय र स्थानीय तह मार्फत वडा कार्यालयमा नयाँ नक्सा पुर्याउन आग्रह गरिएकाले कतैकतै कार्यालयमा भने नयाँ नक्सा पुग्न बाँकी रहेको हुन सक्ने विभागका सूचना अधिकारी एवं निर्देशक दामोदर ढकालले जानकारी दिनुभयो ।

सरकारले गत जेठ ५ गते लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित समेटिएको नयाँ नक्सा स्वीकृत गरेको हो । त्यसको दुुई दिनपछि जेठ ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नयाँ नक्सा सार्वजनिक गर्नुभएको थियो । भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरी बनाएको सडक उद्घाटन गरेपछि नेपालले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com