बेवारिसे अवस्थामा यार्सागुम्बा बरामद


प्रकाशित मिति : श्रावण १७, २०७७ शनिबार

जिल्ला प्रहरी कार्यालय दार्चुलाले सदरमुकाम खलङ्गाबाट बेवारिसे अवस्थामा यार्सागुम्बा बरामद गरेको छ । सदरमुकाम खलङ्गामा अवैध मदिरा नष्ट गर्ने अभियान चलाएकै बेला यार्सागुम्बा बरामद गरिएको हो ।

बरामद गरेको यार्सागुम्बालाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयलाई बुझाइएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए । प्रहरीले कूल ५३० वटा यार्सागुम्बा बरामद गरेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । यार्सागुम्बा बरामद गरेपछि सङ्कलनकर्तासँग सङ्कलन इजाजत नभएको हुँदा नियन्त्रणमा लिइएको उनको भनाइ छ । “दुई दिनसम्म सङ्कलन इजाजत ल्याउन नसक्दा बरामद गरिएको यार्सागुम्बा थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयलाई बुझाएका छौँ”, उनले भने ।

डिभिजन वन कार्यालयले पनि यार्सागुम्बाको अनुसन्धान भइरहेको जनाएको छ । निमित्त डिभिजन वन अधिकृत अमरसिंह धामीका अनुसार सदरमुकाम खलङ्गामै यार्सागुम्बा भेटिएका कारण वनले यार्सागुम्बाको अनुसन्धान गर्छ । “यार्सागुम्बा बेवारिसे भेटिए पुनः लिलाम प्रक्रियामा जान्छ”, उनले भने । रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com