काठमाडौंको अमेरिकी दूतावासमा भिसा अप्वाइन्टमेन्ट फेरी ‘असामान्य’


प्रकाशित मिति : बैशाख ९, २०७४ शनिबार

काठमाडौंमा रहेको अमेरिकी दुतावासमा भिसा अप्वाइन्टमेन्ट फेरी असामान्य अवस्थामा पुगेको छ । झण्डै १५ महिनाको अवधिपछि केहीमहिना अगाडि भिसा अन्तरवार्ताको अप्वाइन्टमेन्टका लागि कुर्नुपर्ने अवधि सामान्य अवस्थामा आएको थियो । तर अब फेरी भिसा अन्तरवार्ताको अप्वाइन्टमेन्टका लागि कुर्नुपर्ने अवधि अत्याधिक र असामान्य भएको छ ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार काठमाडौंमा रहेको अमेरिकी दूतावासमा विद्यार्थी , भिजिटर लगायतका अन्य गैर आप्रवासी भिसाको अन्तरवार्ताका लागि अप्वाइन्टमेन्ट पाउन झण्डै २८ दिनको अवधि लाग्ने भएको छ । भिसाको अन्तरवार्ता भइसकेपछि भने भिसा दिने भएमा त्यसको अवधि एकदिनमात्र रहेको छ । तर कुनै व्यक्तिलाई भिसा जारी गर्नकालागि थप बुझ्नुपर्ने भएमा भने प्रशासनिक प्रकृयामा ६० दिनसम्म लाग्ने गरेको छ ।

झण्डै दुईबर्ष अगाडि अमेरिकी सरकारको भिसा प्रणालीमा गढबढी आएपछि अमेरिकाको भिसा लिन झण्डै एकमहिना कुर्नुपर्ने अवस्था सृजना भएको थियो । केही महिना अगाडि स्थीति सामान्य बनेर दुईदिनभित्रै भिसा अन्तरवार्ताका लागि अप्वाइन्टमेन्ट लिनसकिने अवस्था आएको थियो । तर अब भने भिसा अन्तरवार्ताका लागि अप्वाइन्टमेन्ट लिन झण्डै एकमहिना कुर्नुपर्ने अवस्था आएको छ ।

आवेदकले भिसाका लागि आवेदन दिइसकेपछि काठमाडौंमा रहेको अमेरिकी दूतावासमा भिसा अन्तरवार्ताका लागि अप्वाइन्टमेन्ट पाउनका लागि तीनसातादेखि एकमहिनासम्म कुर्नुपर्दा आवेदकहरु मारमा परेका छन् । कतिपय आवेदकले भिसा प्राप्त गर्दा अमेरिकामा जाने कार्यक्रमको उपादेयता समाप्त भइसक्ने अवस्था आएको छ भने कतिपयले अमेरिकामा तय गरिएको कार्यक्रमपछिमात्र भिसा अन्तरवार्ताको अप्वाइन्टमेन्ट पाउँदा भिसा नै नपाउने अवस्था सृजना भएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com