ब्याजदर ५० बर्षमै कम भएकाले अमेरिकामा घर किन्ने उपयुक्त समय : सुरेन सापकोटा, रियल्टर


प्रकाशित मिति : श्रावण १०, २०७७ शनिबार

सुरेन सापकोटा अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस निवासी अनुभवी रियल्टर हुन् । झण्डै ६ बर्षदेखि यो पेशामा आवद्ध उनले सयौं परिवारलाई घर किनबेचमा सहजिकरण गरिसकेका छन् । यो पेशामा लाग्नु अगाडि सापकोटाको होटल म्यानेजमेन्टमा समेत अनुभव छ । अमेरिकन सपना पूरा गर्न, घर किनबेच गर्न र सुरक्षित लगानीका लागि मद्दत गर्दै आएका सापकोटासँग अमेरिकामा घर किनबेचका सन्दर्भमा खसोखासले गरेको संक्षिप्त कुराकानी ।

अमेरिकामा कोरोनाको महामारीका बेला घर किनबेच कत्तिको उपयुक्त होला ?

कोरोनाको महामारीका कारण धेरै जागिरहरु गुमेकाले बेरोजगारी दर बढेको छ भने अनिश्चितता पनि बढेको छ । अहिले वास्तवमा अमेरिकाका मुख्य शहरहरुमा इन्भेन्टरीको अभाव रहेको छ । त्यसैले किन्ने व्यक्तिको संख्या पनि प्रसस्तै छ । अर्कोतर्फ ब्याजदर ५० बर्षमा सबैभन्दा कम लगभग ३ प्रतिशत भएको छ । त्यसैले ३० बर्षसम्म तिर्नेगरी मोर्गेज लिंदा क्रेतालाई उल्लेख्य बचत हुन्छ । कम ब्याजदरको फाइदा लिनका लागि भौतिक, आर्थिक र मानसिक रुपमा तयार हुनुहुन्छ भने अगाडि बढ्दा हुन्छ ।

यो समय बेच्ने भन्दापनि किन्ने उपयुक्त समय भयो ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

किनबेच दुबै भइरहेको छ । तर बेच्नेदर अहिले अलिकति कम भएको छ । अर्थात् पहिले बजारमा बिक्रिका लागि १ सय वटा घर आउँथे भने अहिले २५ वटामात्र बिक्रिमा राखिएका छन् । तर किन्नेमान्छे धेरै भएकाले अहिले बिक्रिका लागि राख्न पनि उपयुक्त समय नै हो । कम ब्याजरदर भएका कारण क्रेताहरु बजारमा आइरहेका छन् ।

अमेरिकामा घर किन्न चाहनेले के के आर्थिक तयारी गर्नुपर्ला ?

मुख्यतया तीनवटा कुरामा ध्यान दिनुपर्छ । पहिलो कुरा आम्दानी हुनुपर्छ । अर्को, ट्याक्स फाइल गरेको आम्दानी हुनुपर्छ । अर्कोतर्फ मोर्गेज बाहेकको बाँकी एकमुष्ठ रकमको तयारी गर्नुपर्छ । आम्दानीले सर्पोट गरेमा कुल मूल्यको साढे ३ प्रतिशतदेखि माथि जति पनि एकमुष्ठ बुझाउन सकिन्छ ।

घरकिन्दा हुने मुख्य गल्तीहरु के के हुन् ?

घर अमेरिकन सपना नै हो । अमेरिकन र आप्रवासी दुबैको सपना हो । एकदमै हतार गरेर किन्ने गरेको पनि देखिन्छ । क्रेताहरु भावनामा डूबेर घर किन्न हतारो गर्छन् । प्रयाप्तमात्रामा घर नहेर्ने, आफू आर्थिक हिसाबले सक्नेभन्दा धेरै मूल्यको घर किन्ने, अध्ययन र मिहिनेत नगरिकन नै निर्णय गर्ने प्रबृत्तिले समस्या भएको देखिएको छ । आफूले तिर्नसक्ने मूल्यको मात्र किन्ने, चाहेको क्षेत्रमा किन्ने र अध्ययन गरेर किन्ने गरेमा पछि पछुताउनुपर्दैन । कम्तीमा दश पन्ध्र घरहरु हेरेर भावनामा भन्दा पनि तार्किक ढंगले सोंचेर अगाडि बढ्नुपर्छ । त्यसो भएमा गल्ती कम हुन्छ ।

ग्रिनकार्ड वा नागरिकता नबन्दै घर किन्दा पछि छाड्ने बेलामा समस्या भएको देखिन्छ । के सुझाव दिनुहुन्छ ?

अमेरिकामा घर किन्न ग्रिनकार्ड नागरिकता चाँहिदैन । अमेरिकामा विदेशीहरुले समेत घर किन्न सक्छन् । स्टाटस चाहिने कारण ऋण लिनका लागि हो । किनभने बैंकले ऋण दिने बेलामा आयको प्रमाणिकरण गर्छ । त्यसका लागि स्थायी आम्दानी, कर तिरेको हुनुपर्छ । कर तिर्नका लागि सोसल सेक्युरिटी नम्बर चाहियो । वर्क परमिट हुने, एचवान भिसामा हुनेले पनि घर किन्नुभएको छ । ६ महिनासम्मको वर्क परमिट भएकाहरुलाई पनि बैंकले ऋण दिएको पाइन्छ । तर ग्रिनकार्ड वा नागरिकता नहुनेले घर किन्दा पछि अमेरिका छाड्नुपरेमा केही क्षेत्रमा तत्काल बेच्न गाह्रो भएमा झमेला हुनसक्छ । नत्र भाडामा पनि लगाउन सकिन्छ । फर्कन परेमा तत्कालै बेचेर नफर्के घर गुम्ने भन्ने हुँदैन । तर घर बेचेर फर्कन खोज्दा घर नबिकेर वा समय छोटो भएर कतिपयलाई प्राविधिक समस्या भएको हुनसक्छ । कसैलाई तुरुन्तै बेचेर देशै छाड्नुपर्ने अवस्था आएमा बैकल्पिक क्रेता, कोही नजिकको मान्छे, चिनेजानेको मान्छे वा नगद क्रेता खोज्नु उपयुक्त हुन्छ ।

घर किनेपछि आर्थिक उतार चढावको कारण मोर्गेज तिर्न नसक्ने अवस्था आएमा कस्ता उपाय अपनाउने ?

त्यस्तो अवस्था आउँदा बैंकसँग सम्पर्क गरेर ऋणहरु परिमार्जन गर्न मिल्छ । अहिलेको अवस्थामा कोरोनाको महामारीले एकबर्षसम्मको सुविधा प्राप्त गर्नसकिन्छ । बैंकहरुले ऋण तिर्ने म्यादलाई पछाडि सार्नसक्ने लगायतका सुविधाहरु प्राप्त हुन्छन् । दुईचार महिना नै तिर्न नसक्ने अवस्था आएमा बजारमा राखेर बेच्न सकिन्छ । त्यसो गर्दा अहिलेसम्म तिरेको रकम र बढेको मूल्यलाई समेत संरक्षण गर्न सकिन्छ । भाडामा पनि लगाउन सकिन्छ । मोर्गेज र अरु खर्चहरु भाडाले कभर भएमा घर गुम्नबाट बचाउन सकिन्छ । यसमा धेरै बाटाहरु भएकाले अनुभवी रियल्टर वा आर्थिक विशेषज्ञसँग पनि सुझाव लिन सकिन्छ ।

आर्थिक क्षमता अनुशारको घर किनिदिनका लागि के कस्तो सहयोग गर्न सक्नुहुन्छ ?

हामीले क्रेताका लागि उपयुक्त घरका लागि मोलमोलाइ गरिदिन सक्छौं । मोलमोलाई मुख्य कुरा हो । किनभने कुनै घर किन्दा बीस, तीस हजार डलर बचेपनि त्यो राम्रो कुरा हो । क्यालिफोर्निया, न्युयोर्कमा त्यती रकम बच्दा ठूलो कुरा नहुन सक्छ तर अधिकांश सिटीमा त्यती रकम बचत हुनुपनि निकै ठूलो कुरा हो । मुल्य घटाउनका लागि हामी सहयोग गर्न सक्छौं । हाम्रो अनुभवका आधारमा कम ब्याजरदर भएको बैंक रिफर गर्न सक्छौं । कस्तो खालको घर किन्ने भन्ने सन्दर्भमा यसबारेको शिक्षा अनिवार्य छ । घर किन्ने भनेर एकैपटक हतारो गर्नुभन्दा अनुभवी रियल्टरसँग बुझेर काम गर्नुपर्छ । राम्रो सीपीए भएमा करमा बचत वा करका योजनाहरु बनाउन सकिन्छ । राम्रो डाक्टर भएमा स्वास्थ्य राम्रो हुन्छ । त्यस्तै अनुभवी रियल्टर छानेमा क्रेताबिक्रेता दुबैलाई फाइदा हुन्छ । हजारौं डलर बचत हुन्छ ।

घर किन्ने भनेको अमेरिकन सपना हो । यो सम्भव छ । हामीले दीर्घकालिन तथ्यांक हेर्दा तीनवटा फाइदा छ । अहिले अधिकांश सिटीमा मूल्य बढिरहेको छ । ब्याजदर बराबरको ट्याक्समा डिडक्सन पाउन सकिन्छ । आफूलाई बस्नका लागि सन्तुष्टी पनि भयो । केही सहयोग गर्न सक्छु भने मेरा सबै च्यानलहरु खुला छन् । तर तयारी र होसियार भएर तथा मानसिक, आर्थिक र भावनात्मक रुपमा तयार भएर किन्नुहोला ।

(यदि तपाई रियल्टर सुरेन सापकोटालाई सम्पर्क गर्न चाहनुहुन्छ भने ७१४ ७०९ १५८६ मा सम्पर्क गर्न सक्नुहुनेछ । थप जानकारीका लागि आधिकारिक वेवसाइट sapkotarealty.com पनि लगइन गर्न सक्नुहुनेछ ।)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com