स्याङ्जामा दुर्लभ प्रजातिको अजिङ्गर फेला


प्रकाशित मिति : श्रावण ९, २०७७ शुक्रबार

स्याङ्जाको चापाकोट नगरपालिका-१० मा आज दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको छ । किसान भन्ने ठाउँमा फलेदाका रुखमा उक्त अजिङ्गर देखेपछि खेतमा पानी लगाउन गएका स्थानीयवासीले देखेर डिभिजन वन कार्यालय स्याङ्जा तथा चापाकोट प्रहरीचौकीमा खबर गरेका थिए ।

डिभिजन वन कार्यालय स्याङ्जाका डिभिजनन वन अधिकृत कोमलराज काफ्लेले सूचना पाएसँगै नजीकैको इलाका वन कार्यालय दामाचौरबाट कर्मचारी पठाइएको बताए । सो अजिङ्गर झण्डै १० फुट लम्बाइ र २५/३० केजी तौलको रहेको जनाइएको छ । “कालीगण्डकी नदी नजीकै रहेकाले पनि अजिङ्गर त्यतैबाट आएको हुन सक्छ, यो प्रजातिको अजिङ्गर पानीमा पौडिन र रुखमा सजिलैसँग चढ्न सक्ने खालको हुन्छ”, काफ्लेले भने, “यो संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत भएकाले पनि यसलाई सुरक्षित गर्नेतर्फ लागिरहेका छौंँ ।”

अजिङ्गर रहेको ठाउँमा नजान, नजिस्क्याउन र अनावश्यक भीडभाड नगर्न स्थानीयवासीलाई अनुरोध गरिएको वडा नं १० का वडाध्यक्ष रामु कोइरालाले बताए । रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com