देशभर रोपाइँ अन्तिम चरणमा


प्रकाशित मिति : श्रावण ८, २०७७ बिहीबार

केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले धान रोपाइँमा असर पारेको छ । असार ३१ गतेसम्म ८१ प्रतिशत रोपाइँ भएकोमा साउन ६ गतेसम्म ९१ प्रतिशत रोपाइँ भएको छ अर्थात् एक हप्तामा १० प्रतिशत मात्र रोपाइँ भएको छ तर गत वर्षको यसै अबधिभन्दा यो वर्षको रोपाइँ धेरै भएको छ । गत वर्ष यति बेलासम्म ६३.७९ प्रतिशत मात्र रोपाइँ भएको थियो ।

बाढीले खेतीयोग्य जमिन डुबानमा परेका कारण यो हप्ता धान रोपाइँ अलि कम भएको बताइएको छ । साउनको पहिलो तथा दोस्रो हप्ताभित्र धान रोपाइँ सम्पन्न हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लक्ष्य थियो तर यो बाढीले गर्दा केही असर पारेको छ ।

कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीका अनुसार धेरै ठाउँमा रोपाइँ भइसकेको र थोरै मात्र बाँकी थियो । बाढी नआएको भए सम्भवतः यो हप्ता रोपाइँ सकिन्थ्यो तर त्यसले अलिअलि असर गरेको छ । ’ तराईका अधिकांश समथल भूभाग डुबानमा परेका छन्, त्यसमध्ये धेरै ठाउँमा रोपाइँ भइसकेको थियो, रोपिसकेको ठाउँमा बाढीले क्षति पुर्याएको छ । क्षति पुर्याएको ठाउँमा पुनः रोपाइँ गर्नुपर्ने अवस्था रहेको छ ।

बाढीका कारण प्रदेश २ मा मात्र ८६ हजार हेक्टरमा लगाइएको धान लगायतका बाली नष्ट भएको छ । अन्य जिल्लाको अवस्था पनि त्यस्तै छ । प्रदेश २ का कृषि मन्त्रालयका सचिव विमल निर्मलले रोपाइँ भइसकेको ठाउँमा १० देखि २० प्रतिशत पुनः रोपाइँ गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाढीले कृषि क्षेत्रमा पुयाएको क्षतिको विवरण सङ्घको कृषि मन्त्रालयलाई पठाएको बताउँदै उहाँले क्षतिबारे सङ्घीय सरकारले केही नगरे प्रदेशबाट नै पीडित किसानका लागि केही सहयोग गर्ने बताउनुभयो । यद्यपि प्रदेश २ मा साउन ६ गतेसम्म ९४.१७ प्रतिशत रोपाइँ भइसकेको छ जब कि असार ३१ गतेसम्म ८३.४१ प्रतिशत रोपाइँ मात्र भएको थियो । डुबान नभएको ठाउँमा अझै रोपाइँ भइरहेको कृषि मन्त्रालयले जनाएको छ । प्रदेश १ मा असार ३१ गतेसम्म ६९.९१ प्रतिशत रोपाइँ मात्र भएको थियो भने साउन ६ गतेसम्म ८२.४१ प्रतिशत रोपाइँ भएको छ ।

त्यस्तै, बाग्मती प्रदेशमा असार ३१ गतेसम्म ७२.१० प्रतिशत रोपाइँ भएकोमा साउन ६ गतेसम्म ८२.२२ प्रतिशत रोपाइँ भएको छ । गण्डकी प्रदेशमा ९१.११ प्रतिशत, प्रदेश ५ मा ९५.१४ प्रतिशत रोपाइँ भइसकेको छ । कर्णाली प्रदेश ९६.२३ प्रतिशत र सुदूूरपश्चिम प्रदेशमा ९५.४९ प्रतिशत रोपाइँ भइसकेको छ । बाढीका कारण देशैभर बालीनालीमा पुगेको क्षतिको विवरण कृषि मन्त्रालयले सङ्कलन गरिरहेको छ । देशैभरको तथ्याङ्क आइसकेपछि क्षतिको बारेमा के गर्न सकिन्छ भन्ने निर्णय गरिने प्रवक्ता केसीले बताउनुभयो ।

बाढीका कारण गण्डकी प्रदेशमा एक हजार ८२ हेक्टरमा लगाइएको धान, मकै, कोदो नष्ट भएको छ भने तीन सय कुखुरा साथै ९२ वटा पशु नष्ट भएको सङ्घका कृषि मन्त्रालयले जनाएको छ । प्रदेश ५ मा १५७ हेक्टरमा पहिरो गएको छ भने तीन सय कुखुरा र ९९ वटा पशु नष्ट भएको बताइएको छ ।

कर्णाली प्रदेशमा १० हेक्टर जमिनमा लगाइएको धान, मकै, कोदोमा क्षति पुगेको छ भने पाँचवटा गाई पनि मरेको बताइएको छ । सुदुरपश्चिम प्रदेशमा तीन सयवटा ब्रोइलर कुखुरा नष्ट भएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com