आज आउनुपर्ने बेरोजगार विमाको अतिरिक्त साप्ताहिक ६ सय आएन ? यस्तो छ कारण


प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार

न्युयोर्कमा बेरोजगार विमा वा महामारी बेरोजगारी सहायता रकम प्राप्त गरिरहेकाहरुले आज प्राप्त गर्नुपर्ने अतिरिक्त ६ सय डलर प्राप्त गरेका छैनन् । आगामी सातादेखि समाप्त हुने उक्त रकम अहिले नै समाप्त भएको हो कि भने आवेदकहरु चिन्तित बनेका छन् ।

तर त्यसको कारण अर्कै छ । न्युयोर्क राज्यको डिपार्टमेन्ट अफ लेवरको प्रणालीमा आएको समस्याका कारण उक्त रकम प्राप्त हुनमा ढिलाई भएको हो । प्रणालीमा आएको समस्याले अतिरिक्त ६ सय डलर प्राप्त हुनमा ढिलाई हुने तर बेरोजगार विमा वा महामारी बेरोजगारी सहायता रकम प्राप्त गर्नमा भने कुनै समस्या नहुने डिपार्टमेन्ट अफ लेवरले जनाएको छ ।

प्रणालीमा आएको समस्या समाधान भइसकेको र हिजोराती प्राप्त नभएको अतिरिक्त ६ सय डलर आवेदकहरुको खातामा आज राती प्राप्त हुने डिपार्टमेन्ट अफ लेवरले स्पष्ट पारेको छ । यसबारे चिन्ता नगर्न र सबै रकम यसैसाता प्राप्त हुने डिपार्टमेन्ट अफ लेवरको भनाई छ ।

वर्तमान संघीय नियम अनुशार साप्ताहिक ६ सय डलर प्राप्त हुने यो साता अन्तिम साता हो । अर्थात् गत साताको रकम आजभोलिमा प्राप्त भइसकेपछि अब अर्कोसाता अन्तिम किस्ताका रुपमा साप्ताहिक ६ सय डलर प्राप्त हुनेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com