कोराना महामारीपछि नेपाल छाड्ने विदेशीमा सबैभन्दा धेरै अमेरिकन, १२१४ जना फर्किए अमेरिका


प्रकाशित मिति : श्रावण ४, २०७७ आईतबार

कोरोना महामारीपछि मार्च २७ देखि जुलाई १५ बीचमा १२१४ जना अमेरिकनहरु नेपालबाट अमेरिका आएका छन् । उनीहरुमध्ये कैयन अमेरिकन नागरिकता लिएका नेपाली मुलकाहरु समेत रहेका छन् ।

सुरुमा अमेरिकाले दुईवटा विमान चार्टड गरेर नै नेपालमा रहेका आफ्ना झण्डै ७ सय नागरिकहरु अमेरिका ल्याएको थियो । तर पछि चार्टड विमानबाट टर्की वा दोहा आएर त्यहाँबाट नियमित उडानमार्फत अमेरिका आउने अमेरिकनहरुको संख्या झण्डै ५ सय रहेको छ ।

मार्च २७ देखि जुलाई १५ को बीचमा ७ हजार ६ सय ८४ नेपालीहरुले नेपाल छाडेका छन् । उनीहरुमध्ये एकसयभन्दा धेरै डिभी विजेता नेपालीहरु एकैपटक दोहासम्म चार्टड र त्यसपछि नियमित उडानमार्फत अमेरिका आएका थिए । कोरोना महामारीपछि नेपाल छाड्ने नेपालीहरुमध्ये अधिकांश विदेशको पीआर, ग्रिनकार्ड वा आप्रवासी भिसा लिएकाहरु हुन् ।

यही अवधिमा ८९७ जना बेलायती, ५६८ जना अष्ट्रेलियन, २९२ जना क्यानेडियन, ३८१ जना चाइनिज र ३६६ जना जापानिजले नेपाल छाडेका छन् । कोरोनाको महामारी सुरु भएयताको लकडाउनको अवधिमा मार्च २७ पछि नेपाल छाड्ने विदेशीहरुमा सबैभन्दा धेरै अमेरिकनहरु रहेका छन् ।

यही अवधिमा २७ हजार ६ सय ५४ जना नेपालीहरु विदेशबाट विमानमार्फत नेपाल फर्केका छन् । उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल फर्केकाहरु हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com