न्युयोर्कमा ४ महिनाको भाडाको हिस्सा राज्य सरकारले तिर्ने कार्यक्रमबारे १६ प्रश्नोत्तर


प्रकाशित मिति : श्रावण २, २०७७ शुक्रबार

कम आम्दानी हुने न्युयोर्कबासीहरुको ४ महिनाको भाडाको हिस्सा न्युयोर्क राज्य सरकारले तिरिदिने भएको छ । न्युयोर्क राज्यको भाडा सहायता कार्यक्रम अन्तरगत कोरोनाको महामारीबाट प्रभावितहरुका लागि यो कार्यक्रम ल्याइएको हो । कोरोनाको महामारीपछि आम्दानी गुमाएका भाडावालहरु यो कार्यक्रमका लागि योग्य हुनेछन् भने यो कार्यक्रम अन्तरगत योग्य भाडावाललाई एकपटकको रेन्टल सब्सीडी प्रदान गरिनेछ । उक्त रकम सिधै घरवेटीलाई पठाइने छ भने उक्त रकम आवेदकले राज्य सरकारलाई पुन तिर्नु नपर्ने जनाइएको छ । यो कार्यक्रमबारे थप स्पष्ट पार्न १६ प्रश्नोत्तर खसोखासका पाठकका लागि ।

के भाडा सहायता कार्यक्रम अन्तरगत पहिले जस्ले आवेदन दिन्छ, उसैले सुरुमा पाउने हो ?

कोभिड भाडा सहायता कार्यक्रम पहिलो आवेदकलाई पहिलो प्राथमिकताको आधारमा छैन । आवेदनहरु जुलाई १६ पछिको दुईसाताको अवधिभर प्राप्त गरिनेछ । होम एण्ड कम्युनिटी रिन्युवलले सबैभन्दा ठूलो आर्थिक र सामुदायिक सहायता आवश्यक भएको आधारमा योग्य आवेदकलाई प्राथमिकता दिनेछ । आय, भाडाको भार, गुमाएको आम्दानी र घरवारविहिन हुने खतरा लगायतका आधारमा आवेदनले प्राथमिकता पाउनेछन् ।

अनलाइनबाट आवेदन कसरी दिन सकिन्छ ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनलाइन आवेदन दिनका लागि हरेक आवेदकले अनलाइन एकाउन्ट बनाउन जरुरी हुन्छ । आवेदन दिने बेलामा तपाईलाई अनलाइन एकाउन्ट बनाउनका लागि तरिकाहरु सिकाइन्छ ।

कोभिड भाडा सहायता कार्यक्रम कस्तो कार्यक्रम हो ?

यो कार्यक्रम न्युयोर्क राज्यको व्यवस्थापिकाले स्थापना गरेको कार्यक्रम हो । कोरोनाको महामारीका कारण आम्दानी गुमाएका र भाडा तिर्ने भार परेकाहरुलाई सहायताका लागि यो कार्यक्रम ल्याइएको हो ।

बेरोजगारी बिमा, महामारी बेरोजगारी सहायता वा महामारी बेरोजगारी क्षतिपूर्तिलाई आम्दानीका रुपमा गणना गरिनेछ ?

हो । बेरोजगारी बिमा, महामारी बेरोजगारी सहायता वा महामारी बेरोजगारी क्षतिपूर्तिलाई आम्दानीका रुपमा गणना गरिनेछ ।

कोभिड भाडा सहायता कार्यक्रमका लागि को योग्य हुनेछ ?

यो सहायताका लागि योग्य हुनका लागि आवेदन न्युयोर्कबासी हुनुपर्छ । त्यस्तै मार्च १, २०२० भन्दा अगाडि र आवेदन दिने बेलामा आवेदकको आम्दानी उक्त क्षेत्रको औषत परिवारको आम्दानी भन्दा ८० प्रतिशत कम हुनुपर्छ । अर्थात् तपाई क्वीन्समा बस्नुहुन्छ र तपाईको परिवारको एकजनाको छ भने तपाईको बार्षिक आम्दानी ६३ हजार ७ सय भन्दा कम भएको खण्डमा तपाई यो कार्यक्रमका लागि योग्य हुनुहुनेछ । आफ्नो क्षेत्रको औषत आम्दानी र परिवारको साइज हेर्न यहाँ क्लिक गर्नुहोला ।

त्यस्तै आम्दानीको ३० प्रतिशभन्दा धेरै भाडामा प्रयोग भएको हुनुपर्छ । यदि तपाईको आम्दानी मासिक ४ हजार डलर छ भने र तपाईले भाडावापत १२ सय डलरभन्दा धेरै रकम तिर्नुभएको छ भने तपाई यो कार्यक्रमका लागि योग्य हुनुहुनेछ ।

त्यस्तै तपाईले कोरोनको महामारीका बेलामा अप्रिल १ देखि जुलाई ३१ भित्र काम गुमाउनुभएको छ, काम गर्ने अवधि घटेको छ भने पनि तपाई यो कार्यक्रमका लागि योग्य हुनुहुनेछ । तपाईले काम गुमाएका कारण बेरोजगारी विमारकम पाउनु भएको छ भने त्यसलाई आम्दानीका रुपमा उल्लेख गर्नुपर्छ ।

म यो कार्यक्रमका लागि योग्य भएमा कस्तो सहायता पाउनेछु ?

योग्यहरुले भाडाको भारको फरक रकम प्राप्त गर्नेछन् । आवेदकले एकमहिनादेखि ४ महिनासम्मको भाडाको हिस्सा प्राप्त गर्न सक्नेछन् । यो सब्सीडी रकम सिधै घरधनीको खातामा पठाइनेछ । उदाहरणका लागि कोरोना महामारी सुरु हुनुभन्दा अगाडि तपाईको मासिक आम्दानी २ हजार डलर थियो र तपाईले ७ सय डलर भाडा तिरिरहनुभएको थियो भने तपाईको आम्दानीको ३५ प्रतिशत भाडामा खर्च भएको थियो । कोरोनाको महामारीपछि तपाईको आम्दानी घटेर १४ सय पुगेको छ भने तपाईले अब आम्दानीको ५० प्रतिशत रकम भाडामा खर्च गर्नुभएको छ । तपाईले यो कार्यक्रम अन्तरगत अब १५ प्रतिशत फरक रकम प्राप्त गर्नुहुनेछ । अर्थात् तपाईले मासिक २१० डलर अर्थात् ४ महिनाको ८४० डलरसम्म प्राप्त गर्न सक्नुहुनेछ ।

यो कार्यक्रम अन्तरगत अधिकतम कति रकम प्राप्त गर्न सकिनेछ ?

कुनै पनि क्षेत्रका लागि स्वच्छ बजार भाडादर तोकिएको छ । तपाईले प्राप्त गर्ने अधिकतम रकम उक्त भाडादरभन्दा १२५ प्रतिशतभन्दा माथि हुँदैन । उदाहरणका लागि क्वीन्समा भाडामा बस्नेले स्टुडियोमा बस्नेले मासिक अधिकतम २०८१ डलरसम्म, एउटा बेडरुम अपार्टमेन्टमा बस्नेले २१४३ डलरसम्म , २ वटा बेडरुम अपार्टमेन्टमा बस्नेले २४३९ डलर, ३ बेडरुम अपार्टमेन्टमा बस्नेले ३ हजार ९० डलर र ४ बेडरुम अपार्टमेन्टमा बस्नेले ३३०४ डलरसम्म पाउनसक्नेछ । आफ्नो क्षेत्रको हेर्न यहाँ क्लिक गर्नुहोला ।

आवेदनको प्रकृया कस्तो हुन्छ ?

आवेदन दिंदा आवेदकलाई योग्यताबारेका विभिन्न प्रश्नहरु सोधिनेछ । आवेदकले योग्यता प्रमाणित गर्ने कागजातसमेत बुझाउनुपर्छ । परिवारको संख्या, मार्च १ भन्दा अगाडिको आम्दानी, अहिलेको आम्दानी लगायतका विवरण बुझाउनुपर्छ । आवेदक योग्य ठहरिएमा कागजात पेश गर्न र योग्यता प्रमाणित गर्न भनिनेछ । सबै सुचनाहरु भेरिफाइ गरिसकेपछि रकम घरवेटीको खातामा पठाइनेछ । उक्त रकम समरको अन्त्यसम्म पठाउने लक्ष्य लिइएको छ ।

योग्यता प्रमाणित गर्न कस्ता कागजात पेश गर्नुपर्छ ?

आवेदकले लिजको प्रतिलिपी पठाउन सक्छन् । यदि लिजको प्रतिलिपी नभएको खण्डमा मासिक भाडा तिरेको अन्य प्रमाण पठाउन सकिनेछ । त्यस्तै मार्च १ भन्दा अगाडिको आम्दानी र अहिलेको आम्दानीको प्रमाण बुझाउनुपर्नेछ । पेस्टब, रोजगारदाताको पत्र, ट्याक्स रिटर्न लगायतका कागजातलाई प्रमाणका रुपमा स्वीकार गरिनेछ ।

यो कार्यक्रमका लागि योग्य भएमा मैले घरवेटीलाई भाडा तिनुपर्छ ?

यो कार्यक्रम अन्तरगत तपाईको भाडाको भारको फरक रकममात्र होम एण्ड कम्युनिटी रिन्युवलले तिरिदिन्छ । उक्त रकम सिधै घरवेटीको खातामा पठाइन्छ । त्यो बाहेकको बाँकी भाडारकम भने तपाई आफैले तिर्नुपर्छ ।

मैले पहिले नै भाडा तिरिसकेको छु । के म यो सहायताका लागि योग्य हुनेछु ?

तपाईले पहिले नै भाडा तिरिसक्नुभएको छ भने पनि यो सहायता रकमका लागि योग्य हुनसक्नुहुनेछ । पहिले नै भाडा तिरेको भएमा प्राप्त रकम आगामी महिनाको भाडाका रुपमा प्रयोग गर्न सकिनेछ । वा उक्त रकम सेक्युरिटी डिपोजिटका रुपमा घरवेटी प्रयोग गर्न अनुमति दिन सकिनेछ । सहायता रकम कसरी प्रयोग गर्ने भन्ने सन्दर्भमा आवेदन दिने बेलामा विवरणहरु बुझाउनुपर्छ ।

मेरो कुनै लिजको कागजात छैन, म महिनामहिनामा भाडा तिर्छु ? म यो सहायताका लागि योग्य हुन्छु ?

सहायता प्राप्त गर्नका लागि आवेदकसँग अद्यावधिक लिज कागजात हुन जरुरी छैन । तर आवेदकले आफू भाडा तिर्नका लागि जिम्मेबार रहेको प्रमाणित भने गर्न सक्नुपर्छ ।

कुन कुन आम्दानीलाई घरको आम्दानीका रुपमा लिइनेछ ?

सबै प्रकारका आम्दानीहरुलाई आम्दानीका रुपमा लिइन्छ । बेरोजगारी बिमा, महामारी बेरोजगारी सहायता वा महामारी बेरोजगारी क्षतिपूर्ति, तलब, ज्याला, टिप्स, उपहार लगायतका आम्दानीलाई पनि आम्दानीका रुपमा लिइनेछ । १८ बर्षभन्दा कम उमेरका बच्चाहरुका सन्दर्भमा आम्दानीलाई समावेश गर्न आवश्यक पर्दैन । १८ बर्ष नाघेका पूर्णकालिन विद्यार्थीको आम्दानीपनि समावेश गर्न पर्दैन । फोस्टर केयर पेमेन्ट, स्न्याप लगायतका आम्दानी पनि उल्लेख गर्न पर्दैन । संघीय सरकारबाट प्राप्त कोरोनाको १२ सय डलर (कसैको कम वा बढी) को चेकलाई आम्दानीका रुपमा लिइदैन ।

यो सहायता प्राप्त गर्नका लागि कुनै आप्रवासी स्टाटस हुन जरुरी हुन्छ ?

व्यक्तिगत उत्तरदायीत्व तर कामको अवशर मेलमिलाप ऐन १९९६ अन्तरगत सहायता प्राप्त गर्न योग्य व्यक्तिले यो सहायता पाउन सक्छ । उदाहरणका लागि परिवारमा कोही व्यक्ति अमेरिकन नागरिक छ वा बच्चा अमेरिकी नागरिक छ भने उक्त परिवारले सहायता पाउनेछ । आवेदक १८ बर्ष नाघेको हुनुपर्छ । सहायताका लागि योग्य हुन अमेरिकी नागरिक बच्चाका बाबुआमाले आवेदन दिन आवश्यक पर्दैन । ऐन अन्तरगत योग्य भए नभएको जाँच्न यहाँ क्लिक गर्नुहोला ।

छानिएको जानकारी कसरी प्राप्त हुन्छ ?

आवेदन छनौट भएको खण्डमा त्यसको जानकारी आवेदक र घरवेटी दुबैलाई पत्रमार्फत दिइनेछ । पत्रमा प्राप्त रकमको विवरण, प्राप्त गर्ने टाइमलाइन लगायत उल्लेख हुनेछ । भविश्यमा घरवेटीले रकम नपाएको बताएमा प्रमाणका लागि आवेदकले उक्त पत्र आफूसँग राख्नुपर्छ ।

कस्तो खालको भाडामा बस्नेलाई सहायता प्राप्त हुन्छ ? रुममेटका रुपमा बस्नेलाई हुन्छ कि हुँदैन ?

अपार्टमेन्ट रेन्टल, सिंगल परिवारको घर, भाडामा लगाउनका लागि बनाइएको घर लगायतमा बस्नेले यो सहायता प्राप्त गर्न सक्छन् । रुममेटसँग बस्नेहरु पनि सहायताका लागि योग्य हुनेछन् । रुममेटलेमात्र आवेदन दिंदा उसको हिस्साको भाडादर उल्लेख गर्नुपर्छ । तर रुममेट र भाडामा बस्ने मुख्य व्यक्तिले आवेदन दिंदा हाउसहोल्डका रुपमा संयुक्त रुपमा दिनुपर्छ । हाउसहोल्डको एउटा व्यक्ति अमेरिकी नागरिक भएमा यो सहायताका लागि योग्य भइन्छ ।

आवेदन दिनका लागि यहाँ क्लिक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com