डिजिटल वानकी कञ्चन : नेपालमा सिकेको सिप र दक्षता काम लाग्छ अमेरिकामा


प्रकाशित मिति : भाद्र १, २०७३ बुधबार

खसोखास साप्ताहिक / न्युयोर्क

कञ्चन केसी अमेरिकामा बस्न थालेको झण्डै तीनमहिना भयो । तर तीनमहिनामा नै उनले अमेरिकामा आफ्नो पेशागत परिचय बनाएकी छिन्, ‘डिजिटल वानकी कञ्चन’ । उसो त ट्राभल व्यवसायीका रुपमा उनको परिचय नौलो होइन । विगत १५ बर्षदेखि उनी यही व्यवसायमा छिन् । नेपालमा अहिले पनि उनको ट्राभल व्यवसाय संचालनमा छ । तर अमेरिकामा आएर तीन महिनाको अवधिमा ट्राभल बिजनेशमा नै आफ्नो पेशागत परिचय बनाउनु सजिलो विषय थिएन ।

धेरैले युएसएलाई ‘यु स्टार्ट अगेन’का रुपमा व्याख्या गर्छन् । अर्थात् नेपालमा जुनसुकै सिप भएपनि अमेरिकामा आइसकेपछि सबै विर्सिएर पुन करिअरको थालनी गर्नुपर्ने धेरैजसोको बुझाई छ । तर नेपालका सिकेको व्यवसायिक सिप अमेरिकामा पनि उत्तिकै काम लाग्छ भन्ने कुराको उदाहरण बनेकी छिन् कञ्चन । ज्याक्सनहाइटको ७२ र ७३ स्ट्रीटको बीचमा रुजभेल्ट एभिन्युमा रहेको डिजिटल वान ट्राभलमा भेटिन्छिन् उनी । यो ट्राभल एजेन्सी उनको आफ्नै होइन, यसमा काम गर्छिन् उनी । तर न्युयोर्कका नेपालीहरुमाझ उनी ‘डिजिटल वानकी कञ्चन’ को परिचय बनाएकी छिन् ।

अमेरिका आउनु अगाडि राम्रो र उपयुक्त सिप सिकेमा अमेरिका आइसकेपछि त्यती धेरै दुख झेल्नु नपर्ने कुराको प्रमाण बनेकी छिन् उनी । निकै स्मार्ट उनले यो कुरा नबुझेकी होइनन् । सन् २००७ देखि नै अमेरिका आउनजान थालेकी उनले अमेरिकामा रहेको समाजलाई अमेरिकामा स्थायीरुपमा बसोबास गर्ने सोंच बनाउनु अगाडि नै बुझेकी थिइन् । आफैले ट्राभल व्यवसाय संचालन गरेर ८ बर्ष आफै बसेर चलाएकी कञ्चनले अमेरिका आएपछि कामको खोजीमा धेरै भौतारिनु परेन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कञ्चन सम्झिन्छिन् –‘अमेरिकामा पनि ट्राभल एजेन्सीमा नै काम गर्ने सोंचले आएकी थिइन । तर आफू दक्ष भएकै करिअरमा आइपुगें । अमेरिका आउनासाथ काम खोज्न जाँदा सामान्य अन्तरवार्तापछि नै मलाई कुनै परिक्षण नगरी राखियो । आफ्नो क्षमता भएको काममा नै अगाडि बढ्ने हो भने जीवनमा खासै दुख नहुँदो रहेछ । अब त मेरो करिअर र प्रोफेसन नै यही भयो । नेपालमा ट्राभल व्यवसाय गर्दागर्दै मलाई यसैमा रुची भयो । पब्लिक रिलेशनमा सानैदेखि रुची भएकाले मन यसैमा बस्यो । मिडियामा रुची थियो तर समयले यता धकेल्यो । अहिले पनि नेपालमा मेरो आफ्नै ट्राभल एजेन्सीमा बीस जना जति स्टाफ छन् ।

कुनै विषयमा व्यवसायिक दक्षता हासिल गरेमा नेपाल र अमेरिकामा काम गर्ने तौरतारिका धेरै भिन्न नभएको अनुभव छ उनको । ट्राभल एजेन्सीमा पनि काम गर्दा प्राय सिस्टम एउटै खालको रहेको उनको भनाई छ । उनको कन्फिडेन्ट र ग्राहकसँग घुलमिल भएर सेवा प्रदान गर्न सक्ने शैली नै उनको करिअरमा सबैभन्दा सहयोगी पक्ष हो । त्यसैले उनले तीनमहिनाको अवधिमा झण्डै चारसय जना त नेपालीको मात्रै टिकट काटिसकेकी छिन् । त्यो बाहेक उनी बंगालादेशी र अन्य मूलका ग्राहकसँग पनि डिल गर्न माहिर छिन् ।

बंगालादेशी मूलका ग्राहकसँग डिल गर्दा भाषाको समस्या हुँदैन ? प्रश्न भूईमा खस्न नपाउँदै कञ्चनले जवाफ दिइन् –‘हुँदैन । किनभने मैले उनीहरुको भाषा पनि सिकिसकेकी छु । मान्छेले हेरेर पनि धेरै सिक्न सक्छ । मलाई नेपाली भषा त आउँछ तर बंगाली पनि सिकौं भन्ने लाग्यो । पहिले सुरुमा बंगालीमा अभिवादन सिकें । अनि बिस्तारै अरु शब्दहरु सिक्दै गएँ । प्रत्येक दिन एउटा एउटा शब्द सिक्दै गएँ । मैले ट्राभल एजेन्सी र टिकटसँग सम्बन्धित शब्दहरु सिक्दै गएँ । अहिले उनीहरुसँग कम्युनिकेट गर्न कुनै समस्या छैन ।’

अमेरिकामा केही नेपाली ट्राभल एजेन्सीहरुबाट नेपालीहरु ठगिदै आएका छन् । त्यसैले ट्राभल एजेन्सीप्रति कैयन नेपालीहरुको विश्वास गुम्दो थियो । तर गुमेको विश्वास फर्काउन आफू केही हदसम्म सफल भएको दावी छ कञ्चनको । उनी भन्छिन् –‘सुरुका दिनमा सोंचेजस्तो सजिलो थिएन । ठगीका केसहरु भएका कारण अमेरिकाको नेपाली मार्केट बिग्रिसकेको रहेछ । नेपालीले नेपालीलाई ठगेको र डूबाएको अवस्था भएकाले नेपालीहरुमा अनलाइनमा टिकट किन्ने बानी बस्दै गएको रहेछ । अनलाइनबाट सस्तो पाइने भएकाले एजेन्सीमा किन धाउने भन्ने धारणा बसिसकेको रहेछ । तर मैले केहीहदसम्म गुमेको विश्वास फर्काउन सफल भएकी छु । एकबर्षमा राम्रो फ्रेमवर्क गरेर ज्याक्सनहाइटमा व्यवसायी बन्नेछु भन्ने आत्मबल छ । ’

IMG_5953

अनलाइनमा टिकट नकिनेर किन तपाईहरुसँग किन्ने त ? प्रश्नको जवाफमा कञ्चन भन्छिन् –‘अनलाइनमा टिकट काट्दा टिकट चेन्ज गर्नुपरेमा वा रिफण्ड गर्नुपरेमा धेरै समस्या हुन्छ । अर्कोतर्फ हामी अनलाइन भन्दा सस्तो मूल्यको टिकटको ग्यारेन्टी गछौं । हामीले एयरलाइन्ससँग टार्गेट बेसिसमा काम गछौं । हजारवटा टिकट यति महिनामा बेच्छौं भनेर टार्गेटमा काम गछौं । त्यसको फल एकबर्षमा लिन्छौं । त्यो कुनै पनि अनलाइनले दिन सक्दैन । टिकट परिवर्तन गर्नुपरेमा वा कुनै समस्या परेमा अनलाइनसँग कुरा गरेर समस्या समाधान गर्न निकै झमेला हुन्छ, हामीसँग त्यस्तो झमेला हुँदैन । हामीले फोनबाट सहजै सेवा दिन्छौं ।’

अहिलेका ग्राहकहरु त्यती सोझा छैनन् । उनीहरु अनलाइनमा चेक गरेर त्यो भन्दा सस्तोमा पाएमात्र ट्राभल एजेन्सीमा टिकट किन्न जान्छन् । त्यसबारे कञ्चनको अनुभव पनि त्यस्तै छ । उनी भन्छिन् –‘अहिलेका ग्राहकहरु हातमा अनलाइन टिकट बेच्ने एप्स बोकेर आउनुहुन्छ । अनलाइनमा देखाएको भन्दा सस्तोमा पाएमात्र टिकट किन्नुहुन्छ । अनलाइनमा टिकट काट्ने नेपालीहरुले हामीसँग टिकट काट्दा त्यो भन्दा सस्तोमा पाउनुभएको छ । उहाँहरु खुशी पनि हुनुहुन्छ । एकजनाले १० जनासम्म लिएर आउनुभएको छ । हामीले थोरै रकममा राम्रो टिकट उपलब्ध गराउदा ग्राहकले बचेको रकमले नेपालमा राम्रो तरिकाले घुमफिर गर्न पाउनुभएको छ ।’

न्युयोर्कको ज्याक्सनहाइट आसपासमा कैयन ट्राभल एजेन्सीहरु छन् । नेपालीका ट्राभल एजेन्सीहरु पनि उल्लेख्यमात्रामा छन् । तर सबैको भन्दा आफ्नो सेवा राम्रो भएको दावी छ कञ्चनको । उनी भन्छिन् –‘कैयन ट्राभल एजेन्सीले टिकटको टार्गेट फेयर मिट गर्न सक्दैनन् । एकैपटकमा धनी हुने सपना हुन्छ । डेटचेन्जमा धेरै पैसा कमाउदा ग्राहक भड्किन्छ । तर हामी त्यसो गर्दैनौं । डेटचेन्ज गर्दा दुईसय डलर लाग्नेमा दुईसय डलर नै लिन्छौं ।’

कहिलेकाँही उडानसमय रातीमा हुने भएकाले राती राती ग्राहकको फोन आउँदा परिवारबाट कुनै समस्या हुँदैन ? कञ्चन भन्छिन् –‘राती १२ बजे फोन आउँदा किन फोन आयो भनेर परिवारबाट प्रश्न उठ्छ भने यो व्यवसाय कठिन हुन्छ । किनभने एयरपोर्टको टाइमनै बेलुका हुन्छ प्राय । १२ बजे एयरपोर्टमा चेकिंग गर्दा समस्या हुनसक्छ । सुरुमम मलाई पनि परिवारलाई बुझाउन गाह्रो भयो । तर कामको लगनशिलताले गर्दा मेरो परिवार कन्भिन्स छ । परिवारबाट पूरै सपोर्ट पनि छ । खुशी छु ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com