चौबीस घण्टापछि एक जनाको जीवितै उद्धार


प्रकाशित मिति : असार २७, २०७७ शनिबार

असार २५ गते बाह्रबिसे नगरपालिकाको जम्बु र भोटेकोशी गाउँपालिकाको बुलकुटे बाढीमा परी बेपत्ता भएकाहरू मध्ये एक जना जीवित र एक जना मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव काफ्लेले असार २६ गते लार्चा बाढीमा परी बेपत्ता भएका ५७ वर्षीय नाप्चे मगर जीवित अवस्थामा भेटिएको जानकारी दिनुभयो । शनिबार बिहान मगर भोटेकोशी नदीमा जीवित अवस्थामा भेटिनुभएकाे हाे ।

उहाँको टाउको र खुट्टामा सामान्य चोटपटक लागेको र स्थानीय स्वास्थ संस्थामा उपचार भइरहेको डिएसपी काफ्लेले बताउनभयो । मगर २४ घण्टापछि जीवितै भेटिनुभएकाे हाे . त्यस्तै भोटेकोशी गाउँपालिका-५, बुलकुटेमा बाढी र पहिरोमा परेर बेपत्ता भएका भोटेकोशी गाउँपालिकाका छ वर्षीय साहिल तामाङ मृत अवस्थामा भेटिएका छन् । शुक्रबार बेलुकी साहिलको शव चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहेका डीएसपी काफ्लेले बताउनुभयो । शव परिवारजनलाई बुझाइएको छ ।

जम्बु बाढी र पहिरोमा बेपत्ता भएकाहरूमध्ये २० वर्षीय निकेश बस्नेत र उहाँको डेढ वर्षीया छोरीको लास सोही दिन भेटिएको थियो । डीएसपी काफ्लेले दिनुभएको जानकारी अनुसार सो बाढी र पहिरोमा परेर बेपत्ता १७ जना अझ फेला पर्न सकेका छैनन् । भोटेकोशी गाउँपालिकाको बुलकुटे बाढी पहिरोमा बेपत्ता भएका तीन जना अझै भेटिएका छैनन् ।

बेपत्ताहरूको खोजी कार्य जारी रहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार खोजी कार्यमा विपद् व्यवस्थापन महाशाखाका २७ जना विशेष तालिमप्राप्त उद्धारकर्मी, नेपाली सेना, प्रहरी, स्थानीय, बेपत्ताका परिवारजन लगायत खोजी कार्यमा जुटिरहेका छन् । काभेपलाञ्चोक, सिन्धुली, रामेछाप नदीमा खोजी गर्न पनि प्रहरीले त्यहाँका प्रहरीलाई खबर गरेको डीएसपी काफ्लेले जानकारी दिनुभयो ।

भोटेकोशी, सुनकोशी लगायत नदीका आसपास क्षेत्रमा बसोबास गर्दैआएकालाई जिल्ला प्रहरी कार्यालय सतर्कता अपनाउन र केही समस्या परेमा जिल्ला विपद् व्यवस्थापन समितिमा तुरुन्त खबर गर्न आग्रह पनि गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com