राष्ट्रपति र उपराष्ट्रपतिद्वारा बाह्रबीसे घटनाप्रति दुःख व्यक्त


प्रकाशित मिति : असार २५, २०७७ बिहीबार

राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकको बाह्रबीसेमा बाढीबाट दुई जनाको मृत्यु र धेरै मानिस बेपत्ता भएकामा आफू मर्माहत भएको बताउनुभएको छ । आज अपराह्न ट्विट गरी राष्ट्रपतिले बाढीले घर र भौतिक संरचनामा क्षति पुर्याएकामा दुःख व्यक्त गर्नाका साथै पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि सम्बन्धित निकायको ध्यान आकृष्ट गर्नुभएको छ ।

उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

उपराष्ट्रपति नन्दबहादुर पुनले भीषण वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसेमा गए राति आएको बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उपराष्ट्रपतिले आज विज्ञप्तिमार्फत बाढीपहिरोमा परेर ज्यान गुमाउनुभएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।

उपराष्ट्रपतिले बाढीपहिरोमा धेरै मानिस बेपत्ता हुनुभएकामा उहाँहरुको अवस्थाका बारेमा गहिरो चिन्ता व्यक्त गर्दै बेपत्ताको खोजी र उद्धारमा राज्य संयन्त्रले आफ्नो कामलाई अझै प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभएको छ । बाढीपहिरोका कारण विस्थापितका लागि उचित राहत र घाइतेको गुणस्तरीय स्वास्थ्योपचारका लागि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

उपराष्ट्रपतिले देशले विश्वव्यापी महामारी कोरोना भाइरसको सामना गरिरहँदा वर्षा शुरु भएकाले सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन उच्च सतर्कता अपनाउन र व्यवस्थित पूर्वतयारी गर्न सबै पक्षलाई आग्रह गर्नुभएको छ । उहाँले विगत केही दिनयता देशका विभिन्न भागमा बाढीपहिरोका कारण ज्यान गुमाउनुभएकाप्रति पनि श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com