नेपालको नयाँ नक्साप्रति भारतको असहमति, पठायो कूटनीतिक नोट


प्रकाशित मिति : असार २५, २०७७ बिहीबार

 नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको विरोधमा भारतले कूटनीतिक नोट पठाएको खुलासा भएको छ । बिहीबार बसेको राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा सभापति रामनारायण विडारीले भारतको कूटनीतिक नोट आएको जानकारी गराएका हुन् ।

नेपालले नयाँ नक्सा सार्वजनिक गरि त्यस अनुसार निशान छाप परिमार्जन गर्नका लागि संविधान संशोधन गरेको थियो । नेता विडारीका अनुसार भारत सरकारले असार १० गते नै कुटनीतिक नोट पठाएको थियो । तर परराष्ट्र मन्त्रालयले यसबारे सूचना सार्वजनिक गरेको छैन । यद्यपि नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले सार्वजनिक रुपमा नेपालको दाबीलाई अस्वीकार गर्ने बताउँदै आएका छन् ।

पछिल्लो पटक भारतले नेपाली भूभाग लिपुलेक क्षेत्रमा अतिक्रमण गरेर मानसरोबर जाने सडक उद्घाटन गरेपछि नेपालले विरोध गरेको थियो । नेपालले पटकपटक वार्ताको लागि आह्वान गर्दा पनि भारतले चासो नदेखाएपछि नेपालले नयाँ नक्सा जारी गरेको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com