आफन्तले मृत्यु भैसकेको भनिएका बिरामी निको भएर फर्किए


प्रकाशित मिति : असार २३, २०७७ मंगलबार

उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए ।

भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मङ्गलबार अस्पतालबाट घर फर्किएका छन् । एपेन्डिसाइटिसको शल्यक्रिया गरेका विकलाई समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सोही समयमा निजको मृत्यु भयो भन्ने हल्ला भएसँगै उनका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए । तोडफोडबाट अस्पतालको सघन उपचारकक्षको झ्यालका सिसा फुटेका थिए । तोडफोड गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उपचारपछि डिस्चार्ज हुने क्रममा विकले आफूले नयाँ जीवन पाएको बताए । “मेरो मृत्यु भयो भन्ने हल्ला चलाइएछ तर अहिले डिस्चार्ज भएर घर फर्कँदै छु”, उनले भने ।

अस्पतालको अथक प्रयासपछि आफ्नो छोरोले नयाँ जीवन पाएको भन्दै उाका बुबा केदारले अस्पतालप्रति धन्यवाद ज्ञापन गरे। अस्पताल तोडफोडका विषयमा परिवार संलग्न नभएको उनले बताए । उनले भने, “तोडफोडमा मेरो संलग्नता थिएन ।” आफूले नबोलाए पनि मृत्यु भएको भनिएपछि इस्टमित्र र गाउँलेले अस्पताल तोडफोड गरेको उनले बताए । एपेन्डिसाइटिसको उपचारका लागि जेठ २७ गते चितवन मेडिकल कलेज उपचारका लागि ल्याइएको थियो । उनको जेठ २९ गते मृत्यु भएको भनी अस्पतालमा तोडफोड गरिएको थियो ।

बिरामीलाई घर पठाउँदै अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले एपेन्डिसाइटिस बिग्रिएर आन्द्राले काम गर्न छोडेकामा उपचारपछि निको भएर घर जान लागेको बताए । रगत नरोकिने (डिआइसी) भन्ने रोगको उपचार गरिएको थियो । रगतमा सङ्क्रमणसमेत भएकाले बचाउन निकै कठिन भएको उनले बताए । यो रोगको सङ्क्रमण भएका बिरामी विश्वमा नै २० प्रतिशत मात्र बच्ने सम्भावना हुने गरेको उनले जानकारी दिए ।

अस्पतालले उपचारमा कहिल्यै लापरवाही नगर्ने भन्दै उनले अनावश्यक मानिसहरु भीड भएर तोडफोड र गालीगलौजमा उत्रँदा काम गर्नेहरुको मनोबल उच्च बनाउन कठिन हुने बताए । रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com