२० हजार डलरको कोष घोषणा गर्दै तामाङ समाज अमेरिकाको दोश्रो वार्षिकोत्सव सम्पन्न


प्रकाशित मिति : असार १६, २०७७ मंगलबार

तामाङ समाज अमेरिकाले आफ्नो दोश्रो वार्षिकोत्सव मनाएको छ । न्युयोर्कको लंग आइलेन्ड स्थित भ्याली स्ट्रिम पार्कमा संस्थाका कार्य समितिका पदाधिकारी एवं सदस्यका परिवारहरु बीच दोश्रो वार्षिकोत्सव सम्पन्न भएको थियो।

संस्थाका महासचिव विनिता तामाङका अनुसार विश्वव्यापी कोरोना महामारीको कारण समुदायको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै दोश्रो वार्षिकोत्सव कार्यक्रम सिमित घेराभित्र रहेर सम्पन्न गरिएको थियो।  पारिवारिक जमघटमा बारबिक्यु सहित सम्पन्न दोश्रो वार्षिकोत्सवको अवसर परेर संस्थाका अध्यक्ष सानुमाया तामाङले शिघ्र भविष्यबाट कार्यान्वयन हुने गरेर २० हजार अमेरिकी डलर बराबरको “लोकसेवा परीक्ष उत्प्रेरणा कोष” तामाङ समाज अमेरिकाले नेपालमा संचालन गर्ने घोषणा गरेका छन् ।

अध्यक्ष सानुमाया तामाङको अनुसार नेपालको निजामती क्षेत्रमा तामाङ जातिको अत्यन्तै नगन्य मात्रामा उपस्थिति रहेको सन्दर्भमा लोकसेवा परीक्षा मार्फत निजामती सेवामा प्रवेश गर्न चाहने तामाङ विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले यो कोष स्थापना गरिएको बताएका छन् । यो परियोजना नेपालको स्थानीय संस्थासँग सहकार्य गरेर संचालन गरिने बताइएको छ ।

कोषको लागि दोश्रो वार्षिकोत्सवकै दिन उपस्थित सहभागीहरुबाट १२,५०० अमेरिकी डलर संकलन भएको र बाँकी अपुग रकम संस्थाका शुभचिन्तकहरुबाट संकलन गरिने कोषाध्यक्ष तुलबहादुर तामाङले जनाएका छन् । कार्य समितिको आगामी बैठकबाट कोष संचालनको लागि एउटा विशेष समिति गठन हुने र कोष संचालनको विधि र प्रक्रिया सो समितिले तयारी गरेर कार्य समितिले अनुमोदन गरेपछि “लोकसेवा परीक्षा उत्प्रेरणा कोष” को बिस्तृत जानकारी समुदायलाई सम्प्रेषण गर्ने योजना रहेको संस्थाका सचिब रोज बहादुर घिसिङले बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com