कोरोना प्रभावः विश्वव्यापी आर्थिक संकट, आर्थिक वृद्धिदर ४.९ प्रतिशतले संकुचन


प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार

अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले यस वर्ष देखापरेको कोभिड–१९ ले हाँकेको विश्वव्यापी आर्थिक संकट यसभन्दा अघि महसुस नै गरेको भन्दै यसबाट पुनर्बहाली पनि अनिश्चत भएको जनाएको छ ।

मुद्रा कोषले वल्र्ड इकोनोमिक आउटलूक (डब्ल्यूईओ)को अद्यावधिक संस्करण जारी गर्दै यस वर्ष विश्वव्यापी वृद्धिदर ४.९ प्रतिशतले संकुचित हुने जनाएको छ । यो गत अप्रिलमा जारी गरिएको डब्ल्यूईओको पूर्वानुमानभन्दा १.९ प्रतिशत विन्दुले कम हो ।

कोभिड महामारीको विस्तार अनुमानभन्दा तीव्र भएको र यसको विस्तार रोक्नका लागि अबलम्बन गरिएका लकडाउनजस्ता उपायका कारण विश्वव्यापी आर्थिक गतिविधिमा यसभन्दा अघिको अनुमानभन्दा बढी संकुचन आएको कोषको भनाइ छ ।

कोभिड–१९ महामारीले सन् २०२०को पहिलो अर्धवार्षिक अवधिमा अनुमानभन्दा अत्याधिक ठूलो नकारात्मक प्रभाव पारेको भन्दै मुद्रा कोषले सन् २०२१ को पहिलो त्रैमासिकपछि क्रमिक रुपमा विश्व अर्थतन्त्र पुनर्बहालीको चरणमा जाने अपेक्षा गरेको छ ।

मुद्रा कोषकी प्रमुख अर्थशास्त्री गीता गोपीनाथले कोभिड–१९ संकटका कारण विश्वव्यापी अर्थतन्त्रमा १२.५ ट्रिलियन अमेरिकी डलरको नोक्सानी हुने भन्दै ९० प्रतिशत मुलुकहरूको प्रतिव्यक्ति आयमा गिरावट आउने बताइन ।

कोषका अनुसार विश्व अर्थतन्त्रले ‘भी सेप’को पुनर्बहाली हासिल गर्नेछ, यसको अर्थ यस वर्ष निकै ठूलो अंकले ऋणात्मक हुने विश्व अर्थतन्त्र आगामी वर्ष पुनः सकारात्मक वृद्धिको लय समात्नेछ । मुद्रा कोषले सन् २०२१ मा विश्व अर्थतन्त्र ५.४ प्रतिशतले वृद्धि हुने जनाएको छ ।

यो संकटका कारण विश्वभरिकै सरकारहरूको ऋणभार बढेर जाने भन्दै अर्थशास्त्री गोपीनाथले यसका लागि सरकारहरूले सबल वित्तीय आधार बनाउनु पर्ने बताइन ।

एलडीसीको वृद्धिदर १ प्रतिशतले संकुचित हुने

डब्ल्यूईओको अद्यावधिक संस्करणमा नेपालबारे छुट्टै प्रक्षेपण नभए पनि मुद्रा कोषले अतिकम विकसित मुलुक (एलडीसी)को वृद्धिदर १ प्रतिशतले संकुचित हुने जनाएको छ, यो अप्रिलको अनुमानभन्दा १.४ प्रतिशत विन्दुले कम भएको मुद्रा कोषले जानकारी दिएको छ । यो समूहमा रहेका केही ठूला अर्थतन्त्रबाहेक अतिकम विकसित मुलुकहरूको आर्थिक वृद्धिदर २.२ प्रतिशतले संकुचित हुने कोषको प्रतिवेदनमा उल्लेख छ ।

कोषले गत मे महिनामा प्रकासित गरेको एक स्थितिपत्रमा यस वर्ष नेपालको आर्थिक वृद्धिदर १ प्रतिशतमात्र रहने र आगामी वर्ष सन् २०२१मा यसमा सुधार भइ ३.५ प्रतिशत रहने जनाएको थियो ।

वर्तमान विश्वव्यापी संकटले न्यून आय भएका घरपरिवारमा पर्ने ठूलो प्रतिकूल परेको र यसले विश्वव्यापी रूपमा गरिबी न्यूनीकरणको क्षेत्रमा हासिल भएको प्रगतिमा असर पार्ने कोषको भनाइ छ ।

अनौपचारिक रोजगारीको ठूलो हिस्सा भएका देशहरूमा लामो अवधिको लकडाउनका कारण बेरोजगारीसँगै घरबाट टाढा बसेर काम गर्ने आप्रवासी कामदारहरूको आयमा कमी आउँदा त्यसले गरिबी र असमानता बढाएको प्रतिवेदनमा उल्लेख छ ।

यसका साथै मे महिनाको अन्त्यसम्म विश्वका कम्तिमा १५० देशहरूमा व्यापक अनुपातमा विद्यालय बन्द भएपछि विश्वव्यापी रूपमा प्रभावित १२ अर्ब विद्यार्थीहरू शिक्षाबाट बञ्चित भएको भन्दै न्यून आय भएका देशका बालबालिकाहरूको सिकाइका अवसर गुम्दा तिनको आय सम्भावनाहरूमा नकारात्मक प्रभाव परेको कोषले जनाएको छ ।

मुद्रा कोषले छिमेकी मुलुक भारतको वृद्धिदर ४.५सप्रतिशतले संकुचित हुने जनाएको छ । लामो अवधिको लकडाउन र र ढिलो पुनर्बहालीका कारण भारतीय अर्थतन्त्र यसअघि प्रक्षेपण गरिएको भन्दा बढी दरले संकुचित हुने कोषको भनाइ छ ।

मुद्रा कोषका अनुसार उन्नत अर्थतन्त्रहरूको वृद्धिदर यस वर्ष ८ प्रतिशतले ऋणात्मक रहनेछ, यो यसअघिको पूर्वानुमानभन्दा १.९ प्रतिशत विन्दुले कम हो । यी विकसित अर्थतन्त्रमध्ये अमेरिकाको ८ प्रतिशतले, जापानको ५.८ प्रतिशतले बेलायतको १०.२ प्रतिशतले, जर्मनीको ७.८ प्रतिशतले, फ्रान्सको १२.५ प्रतिशतले तथा इटाली र स्पेनको वृद्धिदर १२.८ प्रतिशतले ऋणात्मक रहने छ ।

यस्तै, उदाउँदा बजार र विकसित अर्थतन्त्रहरूको वृद्धिदर ३ प्रतिशतले ऋणात्मक रहने मुद्रा कोषले जनाएको छ, यो अप्रिलको पूर्वानुमानभन्दा २ प्रतिशत कम हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com